
म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका–३ राहुघाटका भरत मल्लले पोर्चुगलको (पिआर) स्थायी बसोबासको सुविधा त्यागेर जन्मथलोमा बाख्रापालन गरेका छन् ।
विसं २०७६ देखि करिब २०८० सम्म पोर्चुगलमा बसेका ६३ वर्षीय मल्लले जन्मथलो फर्किएर पुरानै बाख्रापालन व्यवसायलाई निरन्तरता दिएका हुन् । छोराछोरी विदेशमै बसे पनि आफूलाई जन्मथलोकै व्यवसाय सम्मानजनक लागेर फर्किएको बताए ।
“पहिले साउदीबाट आएर राहुघाटमा जग्गा किनेर बाख्रा र कुखुरापालन गरेको थिएँ”, उनले भने, “छोराछोरीले पोर्चुगल बोलाएपछि करिब १४–१५ महिना त्यहाँ बसेँ, घुमे । पिआर कार्ड पनि बनाएँ । घर आएपछि फर्किएर पोर्चुगल जान मन लागेन । सम्मान र सन्तुष्टिका लागि बाख्रापालनलाई निरन्तरता दिएको हो ।”
पोर्चुगल जानुअघि मल्लले २०६८ सालमा रघुगङ्गा बाख्रा तथा कृषि फार्म स्थापना गरेर बाख्रा, कुखुरापालन, मासु पसल सञ्चालन गर्दै आउनुभएको थियो । हाल ९१ वटा बाख्रा भएको मल्लको फार्मबाट वार्षिक २५ देखि ३० वटा खसीबोका बिक्री हुन्छ ।
खसीबोकाकै हाराहारीमा पाल्नका लागि उन्नत जातका पाठापाठी पनि किसानले लैजाने गरेका छन् । उनको फार्ममा स्थानीय जमुनापारी, सिनाल र बोयर जातका बाख्रा छन् । फार्ममा उनका परिवारका दुई जना सदस्यबाहेक थप दुई जनालाई रोजगारी दिएका छन् ।
मासुका लागि प्रतिकिलो रु छ सय र नस्ल सुधार गरेका पाठापाठीलाई प्रतिकिलो रु आठ सयदेखि एक हजारका दरले गोठबाटै बिक्री हुने गरेको मल्लले बताए । उनका अनुसार फार्ममा करिब रु ५० लाखभन्दा बढी लगानी भएको छ ।
उनले घरवरपर प्रशस्त पाखोबारी भएकाले चरनमा आधारित बाख्रापालन गरेका छन् । खोरभित्र उमेर समूहअनुसार पाठापाठी, माउ बाख्रा, खसीबोका राख्ने छुट्टाछुट्टै कोठा छन् । गलेश्वर र बेनी उनले उत्पादन गरेका खसीबोकाको बजार हुन् । व्यापारी गोठमै आएर खसीबोका किनेर लैजान्छन् ।
विदेशमा स्थायी बसोबासको अवसर हुँदाहुँदै पनि मल्लले जन्मथलो फर्केर बाख्रापालनलाई निरन्तरता दिएकाले कृषि क्षेत्रमा अवसर र आत्मसन्तुष्टि दुवै प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत भएको छ । स्थानीय स्रोतसाधन, पाखोबारी र चरनको सदुपयोग गरेर रोजगारी सृजना, आयआर्जन र उद्यमशीलता विकास गर्न सकिने उनको सन्देश छ ।
“युवापुस्तासहित वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई स्वदेश फर्केर उत्पादनमुखी क्षेत्रमा लगानी गर्न प्रेरित गर्ने मेरो प्रयास हो”, मल्लले भने, “विदेशको सुविधाभन्दा आफ्नै गाउँमा कृषि उद्यमबाट प्राप्त हुने सम्मान, आत्मसन्तुष्टि र आत्मनिर्भरता ठूलो हुने महसुस गरेको छु ।”













समाचार
इथियोपियामा धार्मिक अनुष्ठानका क्रममा पहिरोमा परि १४ जनाको मृत्यु, कैयौँ बेपत्ता Samsung
नेपाल स्काउटको निर्वाचन प्रक्रिया अघि बढाउन सातै प्रदेशलाई पत्राचार
एनएमबी बैंकको नाफामा ४० प्रतिशतको छलाङ, अन्य सूचक कस्ता ?
विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता गराउन इप्पानको माग
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
नेपाली ब्रान्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्री गौरीकुमारी यादवको आह्वान
मनसुनी वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर