काठमाडौं । न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको छ । सोमबार बिहान भएको खेलमा न्यूजिल्यान्डलाई ३–१ ले पराजित गर्दै इजिप्ट समूहको शीर्ष स्थानमा उक्लिएको हो ।
इजिप्टको जितमा मोहम्मद सलाह, मोस्तफा जिको र ट्रेजेग्वेटले एकएक गोल गरे । खेलमा पहिलो अग्रता न्यूजिल्यान्डले लिएको थियो । खेलको १५औं मिनेटमा फिन सम्र्यानले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, न्यूजिल्यान्डले अग्रता जोगाउन नसक्दा पराजित हुन पुग्यो । खेलमा ५८औं मिनेटमा जिकोले गोल गर्दै इजिप्टलाई बराबरीमा फर्काए ।
त्यसको ९ मिनेटपछि इजिप्टका कप्तान सलाहले गोल गर्दै टोलीलाई अग्रता दिलाए । ८२औं मिनेटमा ट्रेजेग्वेटले गोल गर्दै इजिप्टको अग्रताको दुरी बढाए । बल पोजिसनदेखि सर्टसम्ममा इजिप्ट हाबी बन्यो ।
जितसँगै इजिप्ट २ खेलबाट ४ अंक जोडेर समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको छ । इजिप्टको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनेको छ । इरान र बेल्जियमको समान २ अंक छ । न्यूजिल्यान्डको एक अंक छ ।