अप्पर सोलु हाइड्रोले एक वर्षमा कमायो २० करोड ८७ लाख नाफा, इपीएस कति ?

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को अन्तिम त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा सुधार देखिएको हो ।

वित्तीय विवरण अनुसार कम्पनीले अघिल्लो वर्षको तुलनामा आफ्नो खुद नाफामा झण्डै शतप्रतिशतको वृद्धि हासिल गरेको देखिएको छ । कम्पनीले गत असार मसान्तसम्ममा २० करोड ८७ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको ११ करोड ३२ लाख ३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

विद्युत बिक्रीबाट हुने आम्दानीमा भएको बढोत्तरी र वित्तीय खर्चमा गरिएको प्रभावकारी व्यवस्थापनले नाफा बढाउन मुख्य भूमिका खेलेको देखिन्छ । समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्री मार्फत ७३ करोड ८२ लाख ८६ हजार रुपैयाँ आम्दानी गरेको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा ७२ करोड ४० लाख ५३ हजार रुपैयाँ रहेको थियो ।

अघिल्लो वर्ष ३ करोड ७० लाख ४१ हजार रुपैयाँ मात्र रहेको कम्पनीको जगेडा कोष यो वर्ष ह्वात्तै बढेर २५ करोड ६७ लाख ५५ हजार रुपैयाँ पुगेको छ । १ अर्ब ३५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको प्रतिसेयर आम्दानी १५.४६ पैसा कायम भएको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ पनि सुधारिएर ११९.०२ रुपैयाँ पुगेको छ ।

कम्पनीले आफ्नो ऋण भार घटाउन पनि उल्लेखनीय सफलता प्राप्त गरेको देखिन्छ । अघिल्लो वर्ष ३ अर्ब १५ करोड २९ लाख रुपैयाँ रहेको दीर्घकालीन ऋण घटेर यस वर्ष २ अर्ब ९४ करोड ३८ लाख रुपैयाँमा झरेको छ ।

फेसबुक प्रतिक्रिया

ताजा अपडेट