नेपाल इन्स्योरेन्सको नाफा १७ करोड, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा १७ करोड भन्दा बढीको नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार १७ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको हो ।

कम्पनीले गत आर्थिक वर्षको कमाएको नाफा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ६०.७८ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ४५ करोड ४८ लाख ६९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल खर्च ३६.१२ प्रतिशतले बढेर १ अर्ब ३७ करोड ८७ लाख रुपैयाँ पुगेको छ भने लगानीबाट हुने आम्दानी २६.०५ प्रतिशतले घटेर २० करोड ७९ लाख रुपैयाँमा खुम्चिएको छ ।

यद्यपि कम्पनीले आफ्नो मुख्य व्यवसाय अर्थात् खुद बीमाशुल्क आर्जनमा भने सन्तोषजनक प्रगति गरेको देखिन्छ । अघिल्लो वर्ष ९५ करोड ५ लाख रुपैयाँ रहेको खुद बीमा शुल्क १८.१५ प्रतिशतले बढेर १ अर्ब १२ करोड ३० लाख रुपैयाँ पुगेको छ । कम्पनीको चुक्ता पुँजी ३४.७८ प्रतिशतले वृद्धि भई २ अर्ब ५४ करोड ८५ लाख रुपैयाँ पुगेको छ । व्यवसाय विस्तारसँगै बीमा कोषको आकार २३.१८ प्रतिशतले बढेर २ अर्ब ४१ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।

नाफामा आएको गिरावटसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि गिरावट लागेको छ । अघिल्लो वर्ष १६ रुपैयाँ ७४ पैसा रहेको प्रतिसेयर आम्दानी अहिले घटेर ५ रुपैयाँमा झरेको छ । हाल कम्पनीको प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ ८५ पैसा रहेको छ भने महाविपत्ति कोषमा ११ करोड ८५ लाख रुपैयाँ सञ्चित छ । कम्पनीले ५ अर्ब ५० करोड रुपैयाँ लगानी गरेको छ ।

फेसबुक प्रतिक्रिया