
काठमाडौं । नेपालमा विकास भएको एआईमा आधारित व्यावसायिक सञ्चार प्रविधि ‘टिङटिङ’ अन्तर्राष्ट्रिय बजारमा विस्तार भएको छ। नेपाली प्रविधि कम्पनी प्रिक्साले श्रीलंकाको अग्रणी दूरसञ्चार सेवा प्रदायक डायलग आजियाटासँग रणनीतिक व्यावसायिक सम्झौता गर्दै टिङटिङलाई श्रीलंकाली बजारमा प्रवेश गराएको हो।
सम्झौतापत्रमा प्रिक्साका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनिष शर्मा र डायलगका इनोभेसन एन्ड प्लाटफर्म्स बिजनेस प्रमुख तथा उपाध्यक्ष विरङ्गा सेनेभिरत्नेले हस्ताक्षर गरेका छन्।
सम्झौतापछि प्रिक्साले श्रीलंकामा आफ्नो एआईमा आधारित सञ्चार प्रविधि तथा उत्पादन उपलब्ध गराउन थालेको जनाएको छ। कम्पनीका अनुसार यो साझेदारीले नेपालमा विकास भएको प्रविधिलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्नुका साथै नेपाल र श्रीलंकाबीच प्रविधिको क्षेत्रमा सहकार्यको नयाँ आधार तयार गर्नेछ।
प्रिक्साका सीईओ शर्माले डायलगजस्तो बलियो साझेदारसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताएका छन्। उनका अनुसार यो सहकार्य व्यवसाय विस्तारमा मात्र सीमित नभई नेपाल र श्रीलंकालाई जोड्ने प्रविधि इकोसिस्टम निर्माणमा समेत महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।
चार प्रमुख उत्पादन एउटै प्लेटफर्ममा
टिङटिङको एकीकृत ‘कम्युनिकेसन सुइट’अन्तर्गत कनेक्ट, ओम्नी, ब्रोडकास्ट र एजेन्ट गरी चार प्रमुख उत्पादन सञ्चालनमा छन्। ‘टिङटिङ कनेक्ट’ संस्थाको आफ्नै पूर्वाधारमा जडान गरी सञ्चालन गर्न सकिने प्रणाली हो। कम्पनीका अनुसार ‘द बक्स’ नामक अन–प्रिमाइस उपकरणमार्फत डेटा संस्थाकै पूर्वाधारभित्र सुरक्षित राखेर सेवा सञ्चालन गर्न सकिन्छ।
त्यस्तै, ‘टिङटिङ ओम्नी’ले ह्वाट्सएप, भाइबर, मेसेन्जर, वेबच्याट र एसएमएसलगायत विभिन्न डिजिटल च्यानलबाट आउने ग्राहक संवादलाई एउटै इनबक्समा एकीकृत गर्छ।
‘टिङटिङ ब्रोडकास्ट’मार्फत हजारौँ ग्राहकलाई एकैपटक स्वचालित भ्वाइस कलमार्फत सूचना तथा रिमाइन्डर पठाउन सकिने कम्पनीले जनाएको छ। यसैगरी, ‘टिङटिङ एजेन्ट्स’ले स्थानीय भाषामै ग्राहकसँग प्रत्यक्ष संवाद गर्न तथा आवश्यक परे संवादलाई मानव एजेन्टमा हस्तान्तरण गर्न सक्ने सुविधा प्रदान गर्छ।
सिंहली र अंग्रेजीमा पनि सेवा
टिङटिङका सेवा तथा सुविधा नेपालीसँगै अहिले अंग्रेजी र सिंहली भाषामा समेत उपलब्ध छन्। श्रीलंकाली बजारलाई लक्षित गर्दै कम्पनीले तमिल र सिंहली भाषाका लागि थप परिष्कृत भ्वाइस मोडल विकासमा समेत काम गरिरहेको जनाएको छ।
नेपाली कम्पनीले विकास गरेको एआई प्रविधि दक्षिण एसियाली बजारमा विस्तार हुनुले स्वदेशी सूचना प्रविधि उद्योगको अन्तर्राष्ट्रिय सम्भावना थप फराकिलो बनाएको कम्पनीको विश्वास छ।













समाचार
पोखरा एभेन्जर्स र नेपोभिट टायल्सबीच सम्झाैता
रास्वपा कम्युनिष्ट पार्टीको मुख्य शत्रु हो : झलनाथ खनाल
गृहमन्त्रीले थाले गरिमाका बुबा-आमासँग छलफल
यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : ओली
‘छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ’: प्रधानन्यायाधीश शर्मा
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’
साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’
पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला