
कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितको राहत र पुनःस्थापनाका लागि सञ्चालनमा ल्याएको विपद् व्यवस्थापन कोषमा तमुधिँ नेपालले रु तीन लाख सहयोग गरेको छ । पोखरामा आज आयोजित कार्यक्रममा तमुधिँका अध्यक्ष होमबहादुर गुरुङले सामाजिक उत्तरदायित्वअन्तर्गत सो रकमको चेक गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीलाई हस्तान्तरण गरेका हुन् ।
अध्यक्ष गुरुङले विपत्मा परेका नागरिकको सहयोग र क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणका लागि सानो भए पनि सहयोग गरिएको बताए । “अन्नपूर्ण यस वर्ष विपद्को मारमा परेको छ, जनजीवन अस्तव्यस्त छ । यस्तो अवस्थामा गाउँपालिकाले सार्वजनिक आह्वान गरेअनुसार सहयोग गरेका हौँ”, अध्यक्ष गुरुङले भने । मोदी खोलाको बाढी र विभिन्न स्थानका पहिराका कारण यस वर्ष अन्नपूर्ण गाउँपालिका जिल्लामा धेरै प्रभावित बनेको छ । मोदीबाढीबाट अन्नपूर्ण गाउँपालिका–८, ९, १० र ११ प्रवेश गर्ने वीरेठाँटीदेखि नै सडक यातयात बन्द अवस्थामा छ । सडक बन्द हुँदा जनजीवन प्रभावित बनेको छ ।
गत असार र साउन महिनामा गाउँपालिका क्षेत्रमा आएको बाढी, पहिरो तथा अन्य विपद्जन्य घटनाबाट प्रभावित क्षेत्रको पुनर्निर्माण, पीडित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि विपद् व्यवस्थापन कोष सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष केसीले बताए । उनले भने, “विपद्जन्य घटनाका कारण गाउँपालिकाभित्रका सडक, पुल, होटललगायत भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । पालिका एक्लैको प्रयासले सम्भव नभएपछि विपद् व्यवस्थापनका लागि कोष बनाएर कठिन परिस्थितिमा प्रभावित परिवारको राहत, उद्धार र पुनःस्थापनाका लागि सबै व्यक्ति, सङ्घसंस्था तथा सरोकारवालालाई सहयोग गर्न अपिल गरेका छौँ ।
गाउँपालिकाले प्राप्त सहयोग रकमलाई विपद् प्रभावित परिवारको राहत, उद्धार, पुनर्निर्माण तथा पुनःस्थापनाका कार्यमा प्राथमिकताका साथ परिचालन गर्ने जनाएको छ । अन्नपूर्णमा मोदी खोलाको बाढीले वीरेठाँटीमा पक्की कालोपत्र सडक बगाउँदा गाउँपालिकाका चार वडा सडक सम्पर्कबाट विच्छेद छन् । खोलाको कटानका कारण वीरेठाँटीमा करिब १०० मिटर कालोपत्र सडक बगाएको छ ।
विशेषगरी वीरेठाँटी क्षेत्र बढी प्रभावित भएको छ भने चिम्रुङ, हाइजुङलगायत आसपासका क्षेत्रमा पनि बाढीपहिरोले क्षति पु¥याएको गाउँपालिकाले जनाएको छ । बाढीले बढी क्षति गरेको वीरेठाँटी पर्यटकीय क्षेत्र घान्द्रुक, छुम्रुङ र अन्नपूर्ण आधार शिविर (एबिसी) जाने प्रमुख प्रवेशमार्ग हो । यसैगरी वीरेठाँटी हुँदै तिखेढुङ्गा, उल्लेरी भएर म्याग्दीको प्रसिद्ध घोडेपानी तथा पुनहिल जाने महत्वपूर्ण पर्यटकीय मार्गसमेत हो ।












समाचार
सेयर बजारको समस्या समाधानका लागि कांग्रेसले थाल्यो विज्ञहरूसँग परामर्श
चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी
सगरमाथा आरोहणसम्बन्धी वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष प्रदर्शन
‘विगत ३५ वर्षको हिसाब गर्ने होइन, आगामी ३५ वर्षको योजना ल्याउनुस्’
पर्वतमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु, चारजना घाइते
म्याग्दीमा एक वर्षमा चार किलोमिटरभन्दा बढी पदमार्ग निर्माण
काठमाडौँ महानगरद्वारा ९२ निजी विद्यालयको अनुमति रद्द गर्ने प्रक्रिया सुरु
वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
गरिमाको मुद्दालाई लिएर ममाथि ‘मिडिया ट्रायल’ गरियो : कानूनमन्त्री गौतम