फर्नान्डेसलाई पिएफए वर्षको उत्कृष्ट खेलाडीको अवार्ड

काठमाडौं । म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेसले प्रोफेसनल फुटबलर्स एसोसिएसन (पिएफए) को वर्षका उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन्।

मंगलबार म्यानचेस्टरमा आयोजित अवार्ड समारोहमा फर्नान्डेसले आर्सनलका डेक्लान राइस र म्यानचेस्टर सिटीका एर्लिङ हालान्डलाई पछि पार्दै प्रतिष्ठित अवार्ड हात पारे। व्यावसायिक खेलाडीहरूको मतदानबाट विजेता चयन गरिएको हो। फर्नान्डेसले गत सिजन युनाइटेडका लागि प्रभावशाली प्रदर्शन गरेका थिए।

उनले प्रिमियर लिगमा २१ असिस्ट गर्दै नयाँ कीर्तिमान बनाउनुका साथै ९ गोल गरेका थिए। उनको प्रदर्शनमा युनाइटेडले सिजनको खराब सुरुवातलाई सुधार्दै लिगमा तेस्रो स्थान हासिल गरेको थियो।

फर्नान्डेस सन् २०१० मा वेन रुनीपछि पिएफए वर्षको उत्कृष्ट खेलाडीको अवार्ड जित्ने पहिलो युनाइटेड खेलाडी बनेका छन्। ‘यो निकै गर्वको क्षण हो। तपाईं मैदानमा उनीहरूविरुद्ध खेल्नुहुन्छ र आफूविरुद्ध खेल्ने खेलाडीलाई मतदान गर्नु उनीहरूका लागि सहज हुँदैन। त्यसैले यो अवार्ड जित्नु विशेष क्षण हो,’ फर्नान्डेसले भने।

२०२० मा स्पोर्टिङ सिपीबाट युनाइटेड आएका ३१ वर्षीय फर्नान्डेसले गत फेब्रुअरीमा क्लबका लागि सबै प्रतियोगितामा २ सय  गोल योगदान पूरा गरेका थिए। यसअघि उनले फुटबल राइटर्स एसोसिएसन (एफडब्लुए) र प्रिमियर लिगको वर्षको उत्कृष्ट खेलाडीको अवार्डसमेत जितेका थिए।

ओ’राइली उत्कृष्ट युवा खेलाडी

सिटीका निको ओ’राइलीले पिएफए वर्षका उत्कृष्ट युवा खेलाडीको अवार्ड जिते। उनले गत सिजन सिटीका लागि प्रिमियर लिगमा ३४ खेल खेलेका थिए।

पेप ग्वार्डिओलाको टोलीमा उत्कृष्ट प्रदर्शन गरेपछि ओ’राइलीले इंग्ल्यान्डको विश्वकप टोलीमा समेत स्थान बनाएका थिए। उनले फेब्रुअरीमा वेम्बलीमा आर्सनलविरुद्ध दुई गोल गर्दै सिटीलाई काराबाओ कपको उपाधि जिताउन महत्वपूर्ण योगदान दिएका थिए।

`मैले उत्कृष्ट सिजन बिताएँ र त्यसमा निकै गर्व छ। क्लबसँग दुई उपाधि जित्नुका साथै आफ्नो देशका लागि विश्वकपमा खेल्न पाएँ। सबै कुरा जसरी भयो, त्यसबाट म निकै खुसी छु´,ओ’राइलीले भने।

पिएफए प्रिमियर लिग टिम अफ द इयरमा आर्सनलको दबदबा

पिएफएले सार्वजनिक गरेको प्रिमियर लिग टिम अफ द इयरमा आर्सनलका ५ खेलाडी परेका छन्।  सिटीका ४ खेलाडी, म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेस र ब्रेन्टफोर्डका इगोर थियागोले टोलीमा रहेका छन् ।

पिएफए पुरुषतर्फका प्रमुख अवार्ड विजेता

. प्रिमियर लिग वर्षका उत्कृष्ट खेलाडी: ब्रुनो फर्नान्डेस (म्यानचेस्टर युनाइटेड)

  • प्रिमियर लिग वर्षका उत्कृष्ट युवा खेलाडी: निको ओ’राइली (म्यानचेस्टर सिटी)
  • च्याम्पियनसिप वर्षका उत्कृष्ट खेलाडी: हेडेन ह्याक्नी (मिडल्सब्रो)
  • लिग वन वर्षका उत्कृष्ट खेलाडी: डोम बलार्ड (लेटन ओरिएन्ट)
  • लिग टू वर्षका उत्कृष्ट खेलाडी: आरोन ड्रिनान (स्विन्डन टाउन)
फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट