
भोजपुर । करिब छ वर्ष मलेसियामा रोजगारी गरेर फर्किएका भोजपुरको अरुण गाउँपालिका–७ ढुङ्गेका लक्ष्मीप्रसाद अधिकारी गाउँमै व्यावसायिक बाख्रापालन गरेर वार्षिक करिब एक लाख ५० हजार रुपैयाँ आम्दानी गर्दै आएका छन् ।
विदेशमा कमाएको पुँजी, सिकेको सीप र प्राप्त अनुभवलाई आफ्नै गाउँमा उपयोग गर्ने सोचले अधिकारीले पाँच वर्षअघि बाख्रापालन सुरु गरेका हुन् । पुनः विदेश जानुभन्दा आफ्नै ठाउँमा उद्यम गर्ने बाटो रोजेका अधिकारीका लागि अहिले बाख्रापालन आम्दानीको महत्त्वपूर्ण आधार बनेको छ । कृषि तथा पशुपालनलाई मुख्य पेसा बनाएका अधिकारी स्थानीय स्रोतसाधनको सदुपयोग गरेर गाउँमै राम्रो आम्दानी गर्न सकिने बताउँछन् ।
‘विदेशमा गएर काम गर्नुभन्दा आफ्नै ठाउँमा केही गर्न सकिन्छ भन्ने सोचले बाख्रापालन सुरु गरेको हुँ’, अधिकारीले भने, ‘मिहिनेत गर्ने हो भने गाउँमै पनि आम्दानीको राम्रो आधार बनाउन सकिन्छ ।’
बाख्रापालनका लागि आवश्यक घाँस, चरन र स्थानीय वातावरण अनुकूल रहेकाले व्यवसायलाई निरन्तरता दिन सहज भएको उनको भनाइ छ । बाख्रापालनसँगै अधिकारीले गोठेमलको सदुपयोग गर्दै आँप, लिची र एभोकाडोलगायत फलफूलको खेतीसमेत गरिरहेका छन् । अरुण गाउँपालिका–७ सिक्रेटारले स्थानीय भूगोल र सम्भावनाअनुसार कृषि तथा पशुपालनलाई प्राथमिकता दिँदै आएको छ ।
व्यावसायिक रूपमा कृषि तथा पशुपालन गर्ने किसानलाई आवश्यक तालिमका साथै औजार र उपकरणमा सहयोग गर्दै आएको वडाध्यक्ष कुमार थापाले बताए । ‘स्थानीयस्तरमा उपलब्ध स्रोतसाधनको उपयोग गरेर किसानलाई उत्पादनसँग जोड्ने प्रयास भइरहेको छ’, थापाले भने, ‘विशेषगरी वैदेशिक रोजगारीबाट फर्किएका युवालाई गाउँमै उद्यम गर्न प्रेरित गर्न सके रोजगारी र आम्दानीका अवसर बढाउन सकिन्छ ।’
स्थानीयस्तरमै कृषि तथा पशुपालनका सम्भावना रहेकाले विदेशबाट फर्किएका युवालाई व्यावसायिक उत्पादनमा जोड्न सके गाउँको अर्थतन्त्रमा समेत योगदान पुग्ने स्थानीयको भनाइ छ । अधिकारीको उदाहरणले विदेशबाट फर्किएपछि आफ्नै गाउँमा उपलब्ध स्रोतसाधन र सीपको उपयोग गरेर आम्दानीको आधार बनाउन सकिने देखाएको छ ।












समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै