
काठमाडौं । भोटेकोशी बाढीले रसुवा–नुवाकोट–धादिङ हुँदै फैलिएको पर्यटन अर्थतन्त्रको ठूलो हिस्सा तहसनहस बनायो । सडकसँगै पुल, होटल, रिसोर्ट लगायतका संरचना समेत बग्दा पर्यटकीय गन्तव्यको पहुँच टुटेको छ । पर्यटक बोकेका सवारीसाधन बाढीमा बगे भने कैलाश–मानसरोवर यात्रामा रहेका नेपाली तथा विदेशी पर्यटक अलपत्र परे ।
तर विपत्तिबै बीच अर्को तस्वीर पनि देखियो । पर्यटन क्षेत्र आफैं बाढीको चपेटामा थियो । तर त्यही क्षेत्र उद्धार, खोजी, सूचना संकलन र राहतको साझेदार बनेर मैदानमा उत्रियो । विभिन्न ट्राभल एजेन्सीका बस र जीपदेखि पर्वतारोहीका रोप रेस्क्यु सीपसम्म, होटल व्यवसायीको सम्पर्क सञ्जालदेखि पर्यटन बोर्डको सूचना संयन्त्रसम्म विपत्तिका बेला अस्थायी उद्धार संरचनामा बदलिए ।

पर्यटनलाई लागेको क्षति ५२ अर्बभन्दा बढी
भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा पारेको क्षति सामान्य व्यापारिक घाटाको हिसाबमा मात्रै सीमित छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको द्रुत प्रतिकार्य टोलीले हालै सार्वजनिक गरेको प्रारम्भिक मूल्यांकनअनुसार पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
होटल क्षेत्रमा मात्रै करिब १९ अर्ब ५६ करोड, विदेशी पर्यटन आम्दानीतर्फ १४ अर्ब ६० करोड र पर्यटक व्यवस्थापन क्षेत्रमा १२ अर्ब २६ करोड रुपैयाँ बराबरको क्षति अनुमान गरिएको छ । बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाका पर्यटन पूर्वाधार, होटल, यातायात पहुँच, पदमार्ग र पर्यटक व्यवस्थापन प्रणालीमा असर पारेको छ ।
यसको मतलव क्षति बगेका भवन, सडक र पुलमा मात्र सीमित छैन । पर्यटक पुग्ने बाटो बन्द भएपछि होटलमा नपुगेको पाहुना, चल्न नसकेको बस, रोकिएको ट्रेकिङ, रद्द भएको यात्रा र स्थानीय बजारमा नआएको पर्यटक खर्च पनि पर्यटनको ठूलो क्षति हो ।

आफैं संकटमा हुँदा पनि उद्दारमा
बाढीपछि पर्यटन क्षेत्रले व्यापार बचाउने स्वार्थ देखाएन । उद्दार, राहत र हराएका मानिसहरुको खोजीमा पर्यटन व्यवसायी लागि परे । नेपाल पर्यटन बोर्डले विभाग, पर्यटक प्रहरी र पर्यटन व्यवसायीसँग समन्वय गरेर पर्यटकको खोजी, उद्धार तथा परिवारसँग सम्पर्क स्थापित गर्न सूचना संयन्त्र बनायो । बोर्डले भृकुटीमण्डपस्थित कार्यालयसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनलमा सहायता डेस्क सञ्चालन गरेको थियो । ती डेस्कले बेपत्ता तथा प्रभावित पर्यटक र पर्यटन श्रमिकको विवरण संकलन, परिवारसँग सम्पर्क तथा सम्बन्धित कम्पनीसँग समन्वय गरिरहेका छन् ।
बाढीको केही दिनमै पर्यटन बोर्डमा पर्यटन क्षेत्रका करिब ४० प्रतिनिधि सहभागी बैठक बसेर छुट्टै सूचना डेस्क बनाउने निर्णय गरिएको थियो । नेपाल पर्यटन बोर्ड (एनटीबी), नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), होटल एसोसिएसन नेपाल (हान), नेपाल पर्वतारोहण संघ (एनएमए), हिमालयन उद्धार संघ (एचआरए), नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा) लगायतका संस्थाले विपत्तिको समयमा महत्वपूर्ण भूमिका निर्वाह गरे । त्यसैगरी सम्बन्धित ट्राभल कम्पनीमार्फत् हराइरहेका पर्यटकको प्रमाणित विवरण संकलन गर्ने र विदेशी पर्यटकका सम्बन्धित दूतावाससँग समन्वय गर्ने व्यवस्था पनि अघि बढाइएको थियो ।

बस र जीप बने उद्दारका साधन
पर्यटक बोक्ने बस, जीप र अन्य सवारीसाधन बाढीपछि उद्दारका भरपर्दो साधन बने । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले हेल्प डेस्क सञ्चालन गर्नुका साथै पर्यटक तथा प्रभावित नागरिकको उद्धार, सुरक्षित स्थानान्तरण र सूचनाको आदानप्रदानमा सदस्य कम्पनीलाई परिचालन गरेको थियो ।
बाढीले सडकको नियमित आवागमन रोकेपछि पर्यटन व्यवसायीसँग रहेका स्थानीय सम्पर्क र सवारीसाधनको महत्व झन् बढ्यो । कुन बाटो खुला छ ? कहाँसम्म गाडी पुग्न सक्छ, कुन ठाउँमा पर्यटक अड्किएका छन् र कसरी सुरक्षित स्थानमा ल्याउन सकिन्छ ? भन्ने सूचना तत्काल आदानप्रदान गर्न ट्राभल कम्पनीका स्थानीय नेटवर्क धेरै नै उपयोगी बने ।

भरतजंग पाण्डे, अध्यक्ष, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)
नाट्टा अध्यक्ष भरतजंग पाण्डेका अनुसार प्रभावित नागरिक तथा पर्यटकको उद्दार, उपचार र सुरक्षित स्थानान्तरणका लागि सरकार तथा सुरक्षा निकायसँग निरन्तर समन्वय गरिएको थियो । पर्यटकका परिवारलाई सही सूचना पु¥याउने काममा पनि ट्राभल कम्पनीका संयन्त्र परिचालन गरिएको थियो ।
हिमाल चढ्ने सीप बाढीमा काम आयो
बाढी पीडित र सुरुङ उद्दारमा पर्यटन क्षेत्रको अर्को महत्वपूर्ण योगदान थियो । हिमाल आरोहणका प्राविधिक जनशक्तिले उद्दार कार्यमा ठूलो सहयोग गरे । हिमालमा डोरीको सहायताले मानिस निकाल्ने, कठिन भूगोलमा हिँड्ने, जोखिम पहिचान गर्ने र घाइतेलाई प्राथमिक उपचार दिने अभ्यास पर्वतारोहण तथा साहसिक पर्यटनमा सामान्य मानिन्छ । यही सीप भोटेकोशी बाढीको उद्दारमा प्रयोग भयो ।
नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाका अनुसार संघको विशेष टोली बाढी आएको पहिलो दिनदेखि नै प्रभावित क्षेत्रमा पुगेको थियो । संघले माउन्टेन तथा टेक्निकल रेस्क्यु, क्यानोनिङ, ¥याफ्टिङ, रोप रेस्क्यु, प्राथमिक उपचार तथा खोजीमा दक्ष जनशक्ति परिचालन गर्न तत्काल आह्वान गरेको थियो। सोहीअनुसार उद्दार संयन्त्र परिचालन भएको शेर्पाले बताए ।

फुर गेल्जे शेर्पा, अध्यक्ष, नेपाल पर्वतारोहण संघ
नेपालका हिमाली क्षेत्रमा वर्षौंदेखि जोखिमसँग जुध्दै आएका शेर्पा समुदायका सदस्यदेखि पर्वतारोहणसँग सम्बन्धित संघसंस्था र पर्यटन व्यवसायीसम्म उद्धारमा हातेमालो गर्न पुगे । हिमाल आरोहणका क्रममा जोखिम व्यवस्थापन तथा आपत्कालीन उद्दारमा हासिल गरेको अनुभव उनीहरूले विपद्को समयमा प्रयोग गरे ।
माउन्टेन गाइड पेम्बा रिता शेर्पाका अनुसार पर्वतीय क्षेत्रमा वर्षौं काम गरेका जनशक्तिको कठिन भूगोलसँग जुध्ने अनुभव विपत्तिका बेला उपयोगी भयो ।

पेम्बा रिता शेर्पा, माउन्टेन गाइड
आरोहीहरुका लागि यो अनुभव नयाँ थिएन । हिमालमा आरोही हराउँदा खोज्ने, हिमपहिरोमा फसेकालाई निकाल्ने, उचाइमा प्राथमिक उपचार गर्ने र रोपमार्फत जोखिमपूर्ण स्थान पार गर्ने सीप पर्यटन जनशक्तिले वर्षौंदेखि अभ्यास गर्दै आएको छ । यो सीप भोटेकोशी बाढीले आतंक मच्चाएका स्थानहरुमा पनि भरपुर प्रयोगमा आयो ।
व्यवसायीका लागि भोटेकोशीको महत्व
पर्यटन व्यवसायी केशव पाण्डेका लागि भोटेकोशी पर्यटक गुड्ने सडक होइन । पाण्डेका अनुसार यो क्षेत्रमा पर्यटन व्यवसायी, चालक, गाइड, होटल व्यवसायी र स्थानीय समुदायबीच वर्षौंदेखिको सम्बन्ध छ । “यो आउने–जाने पर्यटकीय रुट मात्र होइन, पर्यटन व्यवसायीको लामो समयदेखिको सम्बन्ध जोडिएको क्षेत्र हो,” पाण्डे भन्छन्, “पर्यटन क्षेत्रमा अपूरणीय क्षति भयो, प्रत्यक्ष मात्र होइन, अप्रत्यक्ष रूपमा झन् बढी क्षति भयो ।”

केशव पाण्डे, पर्यटन व्यवसायी
उनको भनाइमा बाढीले सडक, पुल र संरचना भत्काएको क्षति त देखिन्छ । तर पर्यटक नआउँदा होटल, ट्राभल, गाइड, यातायात, रेस्टुरेन्ट र स्थानीय बजारमा पर्ने असरको हिसाब अझ बढि र दीर्घकालिन हुन्छ ।
हेलिकप्टरदेखि पर्यटक प्रहरीसम्म
सडक सञ्जाल टुटेपछि हवाई उद्दारको महत्व बढ्यो । नेपाली सेना, सशस्त्र प्रहरी र अन्य सरकारी तथा निजी हवाई संयन्त्रबाट सयौं उडान भए । सरकारी विवरणअनुसार सेप्टेम्बर २१ सम्म मात्रै उद्धार तथा राहतका क्रममा २ हजारभन्दा बढी हेलिकप्टर उडान भइसकेका थिए । सेनाका चार र निजी एयरलाइन्सका आठ गरी जम्मा १२ वटा हेलिकप्टरले उद्दार तथा राहतमा सेवा दिएका थिए ।
त्यसैले हेलिकप्टर उद्दारमा पनि पर्यटन क्षेत्रको विशेष योगदान रह्यो । कुन पर्यटक कहाँ थियो, कसले उसलाई व्यवस्थापन गरिरहेको थियो, परिवारसँग कसरी सम्पर्क गर्ने र विदेशी नागरिक भए सम्बन्धित दूतावासलाई कसरी जानकारी गराउने भन्ने काममा पर्यटन संयन्त्र जोडिएको थियो ।
नेपाल पर्यटन बोर्डले विपद्को समयमा पर्यटकको सुरक्षा, परिवारलाई सही सूचना र उद्धार संयन्त्रबीच समन्वय गर्ने आफ्नो स्थापित संकट व्यवस्थापन प्रणालीलाई पनि सक्रिय बनाएको छ ।

७९४ पर्यटक अझै सम्पर्कविहिन
पर्यटन मन्त्रालयका अनुसार भोटेकोशी बाढीमा ७९४ जना पर्यटक अझै बेपत्ता छन् । बेपत्तामध्ये ४३० पुरुष, ३५५ महिला र नौ जना अन्य छन् । बेपत्ता पर्यटकमध्ये १८८ जना नेपाली र ४१ देशका ६०६ जना विदेशी रहेको मन्त्रालयको विवरणमा उल्लेख छ । बेपत्ता नेपाली पर्यटकमध्ये १६१ पुरुष र २७ महिला छन् । हालसम्म ३१० जना पर्यटकको उद्दार गरिएको छ । उद्दार गरिएकामध्ये २५८ पुरुष र ५२ महिला छन् ।
त्यसैगरी भोटेकोशी बाढीमा पर्यटन क्षेत्रका करिब डेढ सय सवारीसाधनमा क्षति पुगेको बताइएको छ । तर, बाढी गएको करिब एक महिना हुन लाग्दासमेत क्षतिको यकिन तथ्यांक तयार भइसकेको छैन । बाढीबाट समग्ररुपमा प्रभावित र बेपत्ता हुनेहरुको संख्या राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरण अनुसार ५ हजार ८७५ जना बेपत्ता रहेको उल्लेख छ ।
पर्यटन पुनर्निर्माणको परीक्षा !
भोटेकोशीले पर्यटन क्षेत्रलाई दुईवटा पाठ दिएको छ । पहिलो, पर्यटन होटल, ट्राभल र पर्यटक बेच्ने व्यवसाय मात्रै होइन, यसमा संकटको समयमा उपयोग गर्न सकिने ठूलो मानवीय, प्राविधिक र स्थानीय नेटवर्क पनि रहेछ । दोस्रो, यही नेटवर्कलाई अब स्थायी विपद् व्यवस्थापन प्रणालीमा बदल्नुपर्ने आवश्यकता छ ।
नेपाल पर्यटन बोर्डले बाढी प्रभावित रसुवा–भोटेकोशी, त्रिशूली करिडोरलगायत क्षेत्रमा पर्यटन पुनरुत्थान र स्थानीय जीविकोपार्जन पुनःस्थापनाका लागि यूएनडीपीसँगको सहकार्यमा कार्यक्रम अघि बढाएको छ । बोर्डले पुनरुत्थानलाई भत्किएका संरचना बनाउने काममा सीमित नराखी सुरक्षित र दिगो पर्यटनतर्फ लैजाने अवधारणा अघि सारेको छ ।

खासमा सडक बनेपछि मात्रै पर्यटन फर्किँदैन । सुरक्षित सडक, भरपर्दो सूचना चाहिन्छ, आपत्कालीन उद्धार संयन्त्र, प्रशिक्षित जनशक्ति र पर्यटक तथा स्थानीय समुदाय दुवैलाई सुरक्षित महसुस हुने वातावरणले मात्रै पर्यटक विश्वस्त हुन्छन् र पुनः पर्यटन लयमा फर्किन्छ ।
तर भोटेकोशी बाढीले देखाएको सराहनीय पक्ष के हो भने आफै विपत्तिमा आफैं घाइते भएको पर्यटन क्षेत्र अरूको हात समातेर आफै उद्दारको अग्रमोर्चामा उभियो ।










समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल