धाप बाँधको अवस्था सामान्य, आत्तिनुपर्ने अवस्था छैन

काठमाडौं । उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयले धाप बाँधको अवस्था सामान्य रहेको जनाएको छ । मन्त्रालयका धाप बाँधको सुरक्षा तथा जलाशयको सुरक्षित व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखी आवश्यक सावधानी, पूर्व तयारी तथा निगरानीका कार्यहरू निरन्तर भइरहेको हुँदा सर्वसाधारणले अनावश्यक रूपमा आत्तिनुपर्ने अवस्था नरहेको जानकारी गराइएको छ।

मन्त्रालयका अनुसार  धाप बाँधको जलाशयको सामान्य पानीको सतह २०८७.१४ मिटर रहेको छ। जलाशयको पानीको सतह २०८७.१४ मिटरभन्दा माथि पुगेमा अतिरिक्त पानी Spillway बाट स्वतः बाहिर जाने व्यवस्था रहेको छ।

विगतको मनसुन अवधिमा करिब १५ दिनमा ४०० मिलिमिटर वर्षा हुँदा बाँधमा आउने पानी (Inflow) करिब ८० L/s सम्म पुगेको अवस्थामा समेत जलाशयबाट करिब ४०० L/s पानी निरन्तर बाहिर पठाइएको थियो। यस अवधिमा जलाशयको पानीको सतह करिब ४.५२ मिटर घटेको थियो।

त्यसैगरी, २०८३ भदौ २४ गते साँझ Saddle Dam-1 नजिक सडक किनारामा पहिरो गएपछि सुरक्षाको दृष्टिले सोही दिन साँझदेखि करिब ४०० L/s पानी Outflow बाट निरन्तर बाहिर पठाइएको छ। उक्त समयमा जलाशयको पानीको सतह २०८७.१८ मिटर रहेकोमा हाल २०८४.८० मिटर पुगेको छ। अर्थात्, यस अवधिमा जलाशयको पानीको सतह करिब २.३८ मिटर घटेको छ र जलाशयमा सञ्चित पानीको करिब ३५ प्रतिशत पानी Outflow मार्फत निकासा भइसकेको  मन्त्रालयले जनाएको छ ।

हाल पछिल्लो केही समयदेखि वर्षाको मात्रा क्रमशः घट्दै गएको अवस्था रहेको छ। वर्षा घट्दै जाँदा बाँधमा आउने Inflow समेत क्रमशः घट्न सक्ने अवस्था रहेकोले हाल जलाशयको पानीको सतह तथा पानीको Level लाइ विशेष निगरानीमा राखिएको छ।

अर्कोतर्फ, आगामी समयमा अपेक्षाभन्दा बढी वर्षा भई जलाशयको पानीको सतह २०८७.१४ मिटरभन्दा माथि पुगेमा अतिरिक्त पानी Spillway बाट स्वतः बाहिर जाने व्यवस्था रहेको छ। यसका साथै आवश्यकताअनुसार Outflow व्यवस्थापन गरी जलाशयको पानीको सतह सुरक्षित सीमाभित्र राख्ने कार्य भइरहेको छ।

बाँध आसपासका केही स्थानमा देखिएको पहिरो तथा पानीको बहावलाई ध्यानमा राखी आवश्यक पानी निकास, संरक्षण तथा आपतकालीन व्यवस्थापनका कार्यहरू समेत गरिएको छ। जलाशयको अवस्था, Inflow, Outflow तथा पानीको सतहलाई निरन्तर निगरानीमा राखी प्राविधिक मूल्याङ्कनका आधारमा आवश्यक पानी व्यवस्थापन गरिँदै आएको  मन्त्रालयले जनाएको छ ।

यसरी बाँधको अवस्था र जलाशयको पानीको मात्रा नियमित रूपमा प्राविधिक रूपमा निगरानी तथा व्यवस्थापन भइरहेको हुँदा हालको अवस्थालाई लिएर आम सर्वसाधारणले अनावश्यक रूपमा आत्तिनुपर्ने अवस्था नरहेको जानकारी गराइन्छ।

धाप बाँधको सुरक्षा तथा जलाशयको सुरक्षित व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखी आवश्यक सावधानी, पूर्व तयारी तथा निगरानीका कार्यहरू निरन्तर भइरहेको छ। आम सर्वसाधारणलाई आधिकारिक सूचनामा मात्र विश्वास गर्न अनुरोध छ।

काठमाडौं उपत्यकाको पानीको आवश्यकता पूरा गर्न तथा वर्षायाममा संकलित पानीलाई सुख्खायाममा उपयोग गर्ने उद्देश्यले निर्माण गरिएको धाप बाँध Concrete Faced Rockfill Dam (CFRD) हो।
हाल मनसुनजन्य वर्षाका कारण जलाशय तथा बाँध आसपासको क्षेत्रमा पानीको बहाव बढेको अवस्थामा आयोजनाबाट जलाशयको पानीको सतह, बाँधको अवस्था, Inflow, Outflow तथा आसपासका क्षेत्रहरूको नियमित निरीक्षण र निगरानी भइरहेको छ। हालसम्म बाँधको मुख्य संरचनामा कुनै असामान्य अवस्था देखिएको छैन।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट