
काठमाडौं । चाडपर्व नजिकिएसँगै काठमाडौंको भृकुटीमण्डपलगायतका विभिन्न खुला बजारमा किनमेल गर्नेको चाप बढेको छ । दसैँका लागि नयाँ कपडा तथा आवश्यक सामग्री खरिद गर्न बजार पुगेका ग्राहकका कारण यहाँका खुला बजारमा ग्राहकको चहलपहल अन्य समयको तुलनामा एकाएक बढेको हो । दसैँका लागि परिवारका सदस्य, आफन्त तथा बालबालिकाका लागि नयाँ कपडा खरिद गर्ने ग्राहकको सङ्ख्या बढेपछि भृकुटीमण्डपका व्यापारी व्यस्त देखिएका छन् ।
दसैँका लागि किनमेल गर्ने मुख्य समय सुरु भएसँगै ग्राहकको चाप बढेको भृकुटीमण्डपस्थित खुला बजारका व्यापारी अशोक खतिवडाले बताए । उनका अनुसार केही दिनयता बजारमा ग्राहकको आवागमन बढ्न थालेको छ । विशेषगरी बालबालिका, युवा तथा ज्येष्ठ नागरिकका लागि आवश्यक कपडा खरिद गर्ने ग्राहकको सङ्ख्या उल्लेख्य बढेको उनले बताए । “दसैँ नजिकिँदै गएपछि कपडा किन्ने ग्राहकको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । आज बिहानदेखि नै बजारमा पहिलेभन्दा बढी चहलपहल देखिएको छ”, खतिवडाले भने ।
दसैँमा नयाँ कपडा लगाउने नेपाली परम्परा रहेकाले पनि चाडपर्वको समयमा कपडाको व्यापार बढ्ने गरेको अर्का व्यापारी श्यामप्रकाश अधिकारीले बताए । उनका अनुसार ग्राहकको चाप बढेसँगै व्यापारीलाई सामान देखाउने, ग्राहकको रोजाइअनुसार कपडा छनोट गराउने, मूल्य बताउने तथा बिक्री व्यवस्थापन गर्न भ्याइनभ्याइ हुने गरेको छ । “अन्य दिनको तुलनामा आजदेखि ग्राहकको चाप बढेको छ । दसैँ नजिकिँदै जाँदा अझै ग्राहक बढ्ने अपेक्षा गरेका छौँ”, अधिकारीले भने ।
भृकुटीमण्डपमा दसैँका लागि आवश्यक कपडादेखि जुत्ता, चप्पल, बालबालिकाका सामग्री तथा दैनिक उपभोगका विभिन्न सामान खरिद गर्ने ग्राहकको उपस्थिति बढेको छ । एउटै स्थानमा विभिन्न प्रकारका सामान उपलब्ध हुने तथा ग्राहकले आफ्नो बजेटअनुसार सामान छनोट गर्न सक्ने भएकाले खुला बजारमा किनमेल गर्नेको सङ्ख्या बढेको व्यापारीहरूको भनाइ छ । चाडपर्वको समयमा सीमित आम्दानी भएका परिवारका लागि सस्तो बजार रोजाइमा पर्ने गरेको व्यापारी बताउँछन् ।
काठमाडौं उपत्यकाका विभिन्न खुला बजार तथा सडक किनारका रात्रिकालीन पसलमा सपिङ मल तथा ठूला व्यापारिक केन्द्रको तुलनामा केही सस्तोमा लुगाकपडा तथा अन्य सामग्री पाइने भएकाले ग्राहकको आकर्षण रहने उनीहरूको भनाइ छ ।
सुन्धारास्थित रात्रिकालीन सडकपेटीमा लुगाकपडा बिक्री गर्दै आएकी सङ्गीता न्यौपानेले पनि दसैँ नजिकिएसँगै ग्राहकको आवागमन बढेको बताइन् । उनका अनुसार चाडपर्वमा परिवारका सबै सदस्यका लागि कपडा खरिद गर्नुपर्ने भएकाले ग्राहकले मूल्य र गुणस्तर दुवैलाई ध्यान दिने गरेका छन् ।
“सपिङ मलभन्दा सडकपेटीका पसल र खुला बजारमा लुगाकपडासहितका सरसामान केही सस्तो पाइन्छ । त्यसैले पनि ग्राहकको पहिलो रोजाइ खुला बजार र सडकपेटीका रात्रिकालीन पसल हुने गरेका छन्”, न्यौपानेले भनिन् ।
दसैँसँगै मौसममा समेत क्रमिक परिवर्तन आउन थालेकाले चिसो मौसमका लागि आवश्यक लुगाकपडा खरिद गर्ने ग्राहक पनि बजारमा देखिन थालेका छन् । विशेषगरी ज्याकेट, स्वीटर, ट्रयाकसुट, हुडी तथा अन्य न्यानो कपडा खरिद गर्ने ग्राहकको सङ्ख्या पनि बढ्दै गएको व्यापारी हरिकृष्ण कँडेलले बताए ।
दसैँलगायतका चाडपर्व नजिकिँदै जाँदा काठमाडौं उपत्यकाका भृकुटीमण्डप, असन, इन्द्रचोक, न्युरोड, सुन्धारा, नयाँसडकलगायतका बजारमा ग्राहकको चाप थप बढ्ने व्यवसायीको अपेक्षा छ ।
व्यापारीले दसैँलाई लक्षित गरी विभिन्न प्रकारका सामानको मौज्दातसमेत बढाएका छन् । ग्राहकको मागअनुसार बालबालिका, महिला तथा पुरुषका लागि विभिन्न डिजाइन, रङ र मूल्यका कपडा बजारमा राखिएको उनीहरू बताउँछन् । ग्राहकले आफ्नो बजेट र रुचिअनुसार सामान छनोट गर्ने गरेका छन् ।
दसैँ नजिकिँदै जाँदा बजारमा देखिएको चहलपहलले व्यापार व्यवसायमा सकारात्मक प्रभाव पार्ने व्यवसायीको अपेक्षा छ । दसैँको किनमेलको समय अझै बाँकी रहेकाले आगामी दिनमा ग्राहकको चाप थप बढ्ने र व्यापारसमेत बढ्ने व्यवासायीहरूको विश्वास छ ।












समाचार
विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम
भोटेकोशी बाढी: रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक खुलामञ्चमा बस्दै
बाढी पहिरोले म्याग्दीमा साढे पाँच सय घरपरिवार प्रभावित, सात जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
हिउँ छिचोल्दै जोमसोम आइपुगे डोल्पाका भेडाच्याङ्ग्रा
देशभर विपद्का १९ घटना, १२ घाइते
आजको मौसम : तराईमा आंशिक बादल, हिमालमा हिमपातको सम्भावना
डलरको मूल्य स्थिर, पाउण्ड र युरोको बढ्दा कुन देशको विनिमयदर कति ?
सहकारीका ऋणीलाई ११ करोड असुली