सरकारले स्वीकृति दिए ड्रोन प्रयोग गरेरै भए पनि सगरमाथाको फोहोर झार्छौँ : लामा काजी शेर्पा

सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)को अध्यक्षमा लामा काजी शेर्पा पुनः निर्वाचित हुनुभएको छ । विगत डेढ दशकदेखि संस्थामा आवद्ध शेर्पा महासचिव, उपाध्यक्ष हुँदै अघिल्लो कार्यकाल अध्यक्षमा निर्वाचित हुनुहुभएको थियो । सोलुखुम्बुको नाम्चे बजारमा केहीदिन अघि सम्पन्न समितिको ३३औँ वार्षिक साधारण सभाले शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । एसपीसीसी सन् १९९१ मा स्थापना भएको गैर–नाफामूलक संस्था हो । जुन संस्था हालसम्म निरन्तर क्रियाशील छ ।

सगरमाथा क्षेत्रको वातावरण संरक्षण, फोहोर व्यवस्थापन तथा पर्वतीय क्षेत्रमा दिगो पर्यटन प्रवद्र्धनका लागि समितिले काम गर्दै आएको छ । आइसफलको बाटो निर्माण र मर्मतको मुख्य जिम्मेवारी पनि यो संस्थाले सम्हाल्दै आएको छ । अध्यक्ष शेर्पाले थप प्रभावकारी रुपमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

सोलुखुम्बुस्थित खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ नाम्चे बजार स्थायी भएका भएका शेर्पा वितग डेढ दशकदेखि समाजसेवामा सक्रिय हुनुहुन्छ । एसपीसीसीमा १५ वर्षदेखि आवद्ध शेर्पा पाँच वर्ष महासचिव, त्यसपछि एक कार्यकाल उपाध्यक्ष हुँदै हाल दोस्रो कार्यकाल अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ । प्रस्तुत छ, एसपीसीसीका अध्यक्षमा लामा काजी शेर्पासँग द शेर्पा टाइम्सले गरेको कुराकानी ।

सगरमाथा प्रदुषण नियन्त्रण समिति के हो ? यसले के के काम गर्छ ?

सोलुखुम्बुस्थित खुम्बु क्षेत्रमा विगत ३५ वर्षदेखि निरन्तर क्रियाशील एक मात्र संस्था हो यो । संस्थाको मुख्य काम खुम्बु पासाङल्हामु गाउँपालिकाको सम्पूर्ण सरसफाइ गर्ने हो । संस्थाको अर्को काम भनेको हिमाल आरोहणको समयमा सगरमाथा आधार शिविरमा जति फोहोर हुन्छ, त्यो फोहोर संकलन गरेर व्यवस्थापन गर्ने हो । यही काममा हामी केन्द्रित हुँदै आएका छौँ ।

पुनः अध्यक्ष निर्वाचित हुनुभएको छ, अघिल्लो कार्यकालमा सगरमाथा सफाइका क्षेत्रमा तपाईंले हासिल गर्नुभएको मुख्य उपलब्धि के–के हुन् ?

हामीले निरन्तर ३० वर्ष सगरमाथा सफा गर्दै आएका छौँ । पहिला क्याम्प टुतिर हाम्रो कार्यक्षेत्र पर्दैनथियो । अहिले क्याम्प टुभन्दा अलि माथिबाट पनि फोहोरमैला झार्ने काम गरेका छौँ । पहिला विदेशीको मलमूत्र जतातजै हुन्थ्यो । अहिले चाहिँ विदेशी पर्यटकको मलमूत्र पनि हामीले व्यवस्थापन गर्ने गरेका छौँ ।

सगरमाथामा प्रदूषण र फोहोरको अवस्था कस्तो छ ? सबैभन्दा ठूलो चुनौती के देख्नुभएको छ ?

आइसफलभन्दा माथिको भाग हाम्रो कार्यक्षेत्रमा पर्दैन । क्याम्प वानसम्म मात्रै हाम्रो कार्यक्षेत्र हो । सगरमाथा एकदम फोहोर छ भने पनि क्याम्प टुभन्दा माथि हामीले फोहोर संकलन गर्न कानुनतः मिल्दैन । माथिल्लो भागबाट ८ केजी फोहोर अनिवार्य ल्याउनुपर्छ भनेर विदेशी पर्यटकलाई भनिएको छ । नेपाल सरकारले हामीलाई स्वीकृति दिएको खण्डमा विभिन्न ड्रोन प्रयोग गरेर भए पनि माथिको फोहोर पनि हामी झार्छौँ । सगरमाथा सरसफाइमा हामी अझ धेरै काम गर्न चाहन्छौँ ।

आरोहीको बढ्दो चापसँगै सगरमाथामा फोहोर बढिरहेको छ भन्ने गुनासो छ । यसको मुख्य जिम्मेवार कसलाई मान्नुहुन्छ ?

सबभन्दा ठुलो कुरा हामी हिमाली क्षेत्रमा काम गर्न चाहन्छौँ । हिमालमा काम गर्न एक÷दुई लाखले भ्याउने कुरा भएन । एक केजी फोहोर झार्न १२÷१५ हजार खर्च हुन्छ । हामीले स्वीकृति पाएको अवस्थामा सगरमाथाको फोहोर व्यवस्थापन गरेर सफा राख्नेछौँ । यसमा नेपाल सरकारले विशेष ध्यान दिनुपर्ने अवस्था छ ।

सगरमाथाबाट संकलन हुने प्लास्टिक, अक्सिजन सिलिन्डर, टेन्ट र मानव मलमूत्रजस्ता फोहोरको दीर्घकालीन व्यवस्थापन कसरी भइरहेको छ ?

सगरमाथाको आधारशिविरमा हाम्रो स्टाफहरू हुन्छन् । हामी त्यहाँ सबै फोहोर संकलन गर्छौँ । त्यसपछि सबै फोहोर हामी नाम्चे बजारमा झार्छौँ । जल्ने फोहोरलाई नाम्चेमै जलाउँछौँ । नजल्ने फोहोरलाई हामी काठमाडौं पठाउँछौँ । ‘क्यारी मी ब्याक’ कन्सेप्टअनुसार प्रत्येक फोहोरलाई टुक्रा पारेर एक किलो, दुई किलो राख्छौँ । त्यसलाई प्रत्येक विदेशीले निःशुल्क वर्षमा ५०–६० हजार किलो फोहोर लुक्लामा पु¥याउँछन् । त्यसपछि एयरलाइन्सहरूसँग सल्लाह गरेर अफ टाइममा निःशुल्क काठमाडौं पठाउँछौँ ।

जलवायु परिवर्तनका कारण सगरमाथाको वातावरणमा तपाईंले पछिल्ला वर्षमा के–कस्ता परिवर्तन देख्नुभएको छ ?

जलवायु परिवर्तनको असर व्यापक रुपमा देखिन थालेको छ । ताल फुटेर आएको भोटेकोशी बाढी ताजै छ । हिउँ पग्लिने, पानी नपर्ने ठाउँमा पानी पर्दिने, अहिले त ४ हजार ५०० मिटरमा पनि बाँदर देखिन थालेका छन् ।

यो कार्यकालमा सगरमाथालाई थप स्वच्छ बनाउन तपाईंका प्रमुख योजना के हुन् र कार्यकाल सकिँदा कस्तो परिवर्तन देखाउन चाहनुहुन्छ ?

अहिले हाम्रो कार्यक्षेत्र सगरमाथा आधार शिविर मात्रै हो । सगरमाथा पुरै सफा गर्ने कानुनी अधिकार हामीलाई छैन । नेपाल सरकारसँग समन्वय गरेर आधार शिविरमा त सम्पूर्ण रुपमा जिलो लेवलमै सफा गर्छौँ । त्योभन्दा माथि दुई वर्षदेखि मानव मलमूत्र छ । माथिबाट मलमूत्र ल्याउदैपर्ने बाध्यकारी व्यवस्था गर्न सकिन्छ । त्यसरी सगरमाथालाई सफा राख्न सकिन्छ ।

स्रोत व्यवस्थापन कसरी हुँदै आएको छ ?

पर्यटन मन्त्रालय अन्तर्गत पर्यटन विभागसँग सहकार्य गर्दै आएका छौँ । त्यसका साथै विभिन्न संघसंस्थासँग पनि सहकार्य हुने गरेको छ । आइसफलको बाटो निर्माण र मर्मतको काम पनि हामीले गर्दै आएका छौँ । त्यसबापत एकजना पर्यटक बराबर ६ सय डलर समितिले प्राप्त गर्ने गरेको छ । त्यसरी नै हामीले सफाइ अभियानलाई अगाडि बढाउदै आएका छौँ ।

विश्वको सर्वोच्च शिखर सगरमाथा पुरै सफा राख्ने उपाय के देख्नुभएको छ ?

मुख्य त, नियमित सरसफाइ नै हो । त्यसका साथसाथै, १०–१२ वर्षको बीचमा एक पटक सगरमाथा आरोहण पुरै बन्द गरेर सफाइ अभियान सञ्चालन गर्न सकिन्छ । नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले समन्वय गरेर निजी क्षेत्रको समेत साथ लिएर सगरमाथालाई सफा राख्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट