
विश्व फुटबलका महानायक लियोनल मेस्सीलाई अर्जेन्टिनाले मंगलवार राष्ट्रिय टोलीबाट विशेष सम्मानसहित बिदाइ गर्दैछ । ब्युनस आयर्सस्थित मोनुमेन्टल रंगशालामा अर्जेन्टिना र बेनिनबीच हुने खेल मेस्सीका लागि राष्ट्रिय टोलीको अन्तिम खेल बन्नेछ । त्यसैले पनि अर्जेन्टिनाले यो बिदाइ खेललाई राष्ट्रिय महोत्सवको रुप दिदैछ । मेस्सीलाई आफ्नै देशका समर्थकले आफ्ना फुटबल नायकलाई खेल मैदानबाट अन्तिम बिदाई गर्दैछन् ।
मेस्सीको विदाइ कति ठूलो बन्दैछ भने खेलको टिकट बिक्री खुलेको करिब ९० मिनेटमै सबै टिकट बिक्री भएका थिए । सेप्टेम्बर २४ को साँझ ६ बजे अनलाइनमार्फत टिकट बिक्री सुरु गरिएको थियो । त्यसको करिब डेढ घण्टामै सामान्य बिक्रीका टिकट सकिएका थिए । टिकटको मूल्य ९० हजारदेखि ४ लाख ८० हजार अर्जेन्टिनी पेसोसम्म तोकिएको थियो । टिकट मात्र सकिएन । मेस्सीलाई अन्तिमपटक हेर्न चाहने समर्थकको भीडले टिकट बिक्री डिजिटल प्रणालीमै समस्या आएको थियो । मेस्सीको अन्तिम खेल हेर्न मोनुमेन्टल रंगशालामा करिब ८५ हजार दर्शक उपस्थित हुने आंकलन गरिएको छ ।
मंगलवार त्यहाँ अर्जेन्टिनी मात्रै होइन विश्वभरकै उनका समर्थकले आफ्नो फुटबल नायकलाई अन्तिमपटक अर्जेन्टिनाको राष्ट्रिय जर्सीमा देख्नेछ । तर टिकट नपाएका समर्थकलाई पनि अर्जेन्टिना फुटबल संघले मेस्सीको सम्मानमा धन्यवाद, लियो नामको विशेष प्रशंसक महोत्सव आयोजना गरेको छ । ब्युनर्स आयर्सस्थित विश्वविद्यालय परिसरमा दिउँसो १२ बजेदेखि मध्यरातसम्म चल्ने कार्यक्रममा विशाल पर्दामार्फत अर्जेन्टिना बेनिन खेल प्रत्यक्ष देखाइने व्यवस्था मिलाएको छ ।

त्यहाँ संगीत, खेल, मनोरञ्जन, खानाका परिकार, अन्तरक्रियात्मक कार्यक्रम तथा विभिन्न कलाकार र अतिथिको विशेष प्रस्तुति रहनेछ । प्रशंसक महोत्सवमा कापाङ्गाले साँझ ६ः३० बजे र ला ते ई ला एम ले ७ः३० बजे प्रस्तुति दिनेछन् । अर्जेन्टिनाका पूर्व गोलरक्षक तथा चर्चित व्यक्तित्व सर्जियो गोयको’ गोयकोचेआले कार्यक्रम सञ्चालन गर्नेछन् । गोयकोसँग पेनाल्टी लगायतका खेल तथा मनोरञ्जनात्मक कार्यक्रम पनि राखिएका छन् । यसको अर्को आकर्षण भनेको समर्थकले अर्जेन्टिनाले जितेका विश्वकप, कोपा अमेरिका र फाइनलिसिमाका ट्रफीसँग तस्बिर खिच्ने अवसर पनि पाउँदैछन् ।
१० नम्बरको जर्सी, विश्वकप ट्रफी तथा २०२६ विश्वकपसँग सम्बन्धित विशाल संरचना र विशेष तस्बिर खिच्ने स्थान पनि तयार गरिएको छ । त्यसैले मेस्सीको विदाइ मोनुमेन्टलभित्र मात्र सीमित छैन । पुरै ब्युनस आयर्स नै धन्यवाद, लियो भनिरहेको हुनेछ । मेस्सीको सम्मानमा अर्जेन्टिना फुटबल संघले अर्को प्रतीकात्मक निर्णय पनि गरेको छ । उनको चर्चित १० नम्बरको जर्सी तत्काल अन्य खेलाडीलाई नदिने निर्णय गरिएको छ ।
त्यसैले राष्ट्रिय टोलीमा मंगलवार अन्तिमपटक १० नम्बर जर्सीमा मेस्सी मात्रै अन्तिम पटक देखिदै छैनन् केही समयका लागि अर्जेन्टिनी टीममै १० नंवर जर्सी देखिने छैन । अर्जेन्टिनाका लागि मेस्सीले २०७ खेलमा १२५ गोल गरेका छन् । सर्वाधिक खेल र सर्वाधिक गोल गर्ने खेलाडीका रूपमा उनी राष्ट्रिय टोलीबाट बिदा हुँदैछन् ।
उनको अन्तर्राष्ट्रिय यात्रामा दुई कोपा अमेरिका तथा सन् २०२२ को विश्वकपजस्ता ऐतिहासिक उपाधि छन् । मेस्सी अजेन्टिबाट खेल्दा उनको फुटबल करियर उतारचढावपूर्ण रह्यो । एक समय अर्जेन्टिनाका लागि उपाधि जित्न नसकेको भन्दै उनीमाथि प्रश्न उठ्यो । विश्वकप र कोपा अमेरिकाका फाइनलमा लगातार असफल भएपछि आलोचना चर्किएको थियो । सन् २०१६ मा त उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा नै गरेका थिए । तर पनि उनी पुन टिममा फर्किए ।
तर टिममा फर्किएपछि उनले आलोचकहरुको मुखमा बुझो लगाइ दिए । सन् २०२१ मा कोपा अमेरिका र त्यसपछि सन् २०२२ मा विश्वकपको उपाधि जित्दै उनले ट्रफीबाट आलोचकहरुलाई जवाफ दिए । कतारमा भएको विश्वकपमा अर्जेन्टिनाले विश्वकप जित्दा मेस्सीले पूरा गर्न चाहेको सबैभन्दा ठूलो सपना पूरा मात्रै भएन, उनलाई फुटबल महारथीको रुपमा आधिकारिता पनि प्रदान भयो ।
मंगलवार मोनुमेन्टलमा सबै आँखाको केन्द्रमा एउटै जर्सी नंवर १० र मेस्सी हुनेछन् । अर्जेन्टिनाले एउटा खेलाडीलाई मात्र बिदाइ गरिरहेको छैन आफ्नो फुटबल इतिहासको एउटा स्वर्णिम अध्यायलाई बिदाइ गर्दैछ । तर मेस्सीले गरेका गोलहरु, उनले गरेका पासहरु, उनको संघर्ष, आँशु, उनको खुशीको क्षण र विश्वकपको उपाधि उचालेको क्षण फुटबलको इतिहासबाट कहिल्यै बिदा हुने छैन ।










समाचार
नेप्सेको सीईओका लागि ४ जनाको नाम सर्टलिस्ट, असोज २३ गते अन्तर्वार्ता र प्रस्तुतीकरण
सिमसार मासिँदै, कछुवा हराउँदै : संकटमा प्राकृतिक बासस्थान !!
शुक्ला हिलेटारलाई धार्मिक पर्यटकीय स्थल बनाउन पहल
अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइन : ‘ल्याण्ड फिलिङ’को काम धमाधम
महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो
सुन्तलामा रोग लागेपछि किसान चिन्तामा
राष्ट्र बैंकद्वारा एकीकृत परिपत्र संशोधन: भुक्तानी सीमा वृद्धि
२७ जलविद्युत् आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाट उत्पादनको बाटो खुल्यो
मुस्ताङका कृषक मर्कामा : बोटमा स्याउ अडिँदैन, ढुवानीका लागि बाटो छैन
दोहोरो वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?