भुटानका राजाले दिए दसैँको टीकाको आशीर्वाद, २० जिल्लामा पठाइने

काठमाडौं । भुटानका राजा जिग्मे खेसर नाम्ग्याल वाङ्चुक र रानी ग्याल्त्सुएनले दसैँको शाही टीकालाई आशीर्वाद प्रदान गरेका छन् । शनिबार आयोजित विशेष समारोहमा राजारानीले शाही दसैँ टीकालाई आशीर्वाद दिएका हुन् ।

राजपरिवारबाट आशीर्वाद प्राप्त टीका भुटानका २० वटै जिल्लामा पठाइनेछ । उक्त टीका देशभर दसैँ मनाउने परिवारहरूलाई वितरण गरिने जनाइएको छ ।

भुटानमा हिन्दू समुदायको सबैभन्दा महत्त्वपूर्ण पर्वका रूपमा दसैँ मनाइन्छ । परिवारका सदस्यहरू एकै ठाउँमा भेला भएर खुसी साटासाट गर्ने यस पर्वले असत्यमाथि सत्य र खराबीमाथि असलको विजयको सन्देश दिन्छ ।

दसैँका अवसरमा भुटानका प्रमुख हिन्दू मन्दिरहरूमा १० दिनसम्म पूजापाठ गरिन्छ । पर्वको अन्तिम दिन अर्थात् दसौँ दिन टीका लगाउने परम्परा छ ।

भुटानका राजारानीबाट शाही दसैँ टीकामा आशीर्वाद प्रदान गर्ने परम्परालाई जनताप्रति राजसंस्थाको स्नेह, संरक्षण र शुभकामनाको प्रतीकका रूपमा लिइन्छ । राजसंस्थाको यस्तो व्यवहारले दसैँ मनाउने भुटानी हिन्दू समुदायमा धार्मिक तथा सांस्कृतिक महत्व राख्नुका साथै राजसंस्था र जनताबीचको सम्बन्धलाई समेत हार्दिक बनाउने गरेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट