
म्याग्दी । धवलागिरि गाउँपालिका–४ नाउरास्थित म्याग्दी नदीमा बेलिब्रिज जडान भएको छ । म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाले जडान गरेको बेलिब्रिजबाट स्थानीयवासी, धवलागिरि हिमाल आरोहण र चक्रीय धवलागिरि पदमार्गमा जाने पर्यटकलाई सुविधा पुगेको हो ।
हाइड्रो भिलेज प्रवर्द्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दीखोला र हाइड्रो इम्पाएरले निर्माण गर्न लागेको ३७ मेगावाट क्षमताको अपर म्याग्दीखोला जलविद्युत् आयोजनाले नाउरास्थित म्याग्दी नदीमा ४७ मिटर लामो बेलिब्रिज जडान गरेका धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । नाउराको बेलिब्रिजले जलविद्युत् आयोजना निर्माणस्थलमा यातायात पहुँच स्थापित हुनुका साथै भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा रहेका नाउरा, बगर, सिम्कोस, खिवाङ, खाम्लाका बासिन्दालाई सहज भएको उनले बताए ।
म्याग्दी नदीमा निर्माणाधीन म्याग्दीखोला, अपर म्याग्दी र अपर म्याग्दी–१ जलविद्युत् आजनाले मालिका गाउँपालिकाको शिवरात्रिखोलाबाट कल्लेनी, छहरी, खारा, खाम्ला, नाउरा हुँदै बगरगाउँ नजिकैसम्म करिब १६ किलोमिटर पहुँचमार्ग निर्माण गरेका छन् । बर्खालगत्तै बगरगाउँमा सडक पुर्याउने लक्ष्य राखेको म्याग्दीखोला जलविद्युत् आयोजनाले जनाएको छ । म्याग्दीखोला, अपर म्याग्दीखोला र अपर म्याग्दीखोला–१ जलविद्युत् आयोजनाको साझेदारीमा धवलागिरि गाउँपालिका–४ केङ्कीबाट ८० घरपरिवारको बसोबास रहेको खिवाङ जोड्ने तीन किलोमिटर सडक निर्माण भएको थियो ।
नेपाल विद्युत प्राधिकरणले डाडाखेत सबस्टेशन र प्रसारण लाइन निर्माण हुन थालेपछि अनुमति लिएर बसेका प्रवर्द्धकहरू सक्रिय भएका छन् । विद्युत् विकास विभागका अनुसार धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी र सहायक नदीमा दुई सय ३८ दशमलव २३ मेगावाट क्षमताको १३ वटा जलविद्युत् आयोजना निर्माणाधीन र निर्माणका क्रममा छन् । जलविद्युत् आयोजना भित्रिएसँगै सडकलगायत भौतिक पूर्वाधार निर्माणले गति लिएको, आयोजनाले बनाएका पूर्वाधारबाट सर्वसाधारणलाई सुविधा पुगेको, रोजगारी र लगानीको अवसर पाउनुका साथै दीर्घकालीन हिसाबले गाउँपालिकालाई विद्युत् रोयल्टी आम्दानी हुने धवलागिरिका उपाध्यक्ष रेशम पुनमगरले बताए ।













समाचार
सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ
पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा
अध्यादेशमार्फत विधेयक ल्याएको भन्दै सरकारको आलोचना, सांसदद्वारा समितिमा पठाउन माग
शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत
इन्धनको मूल्य घटेसँगै बजार मूल्य घटाउन सरकारको आग्रह
मन्त्री प्रतिभा रावलको प्रगति विवरण : २९ घरपरिवारलाई लालपुर्जा वितरण, साढे २ करोड सहकारी पीडितको बचत फिर्ता
सञ्चार मन्त्रीको १०० दिनको प्रगति : करिब ७ हजार राहदानी र १ हजार बढी सवारी चालक अनुमति पत्र हुलाकमार्फत् घरमा पुराइयो
तत्काल सुधार नभए नेपाल ब्ल्याक लिस्टमा पुग्न सक्छ : अर्थमन्त्री वाग्ले
सरकारका सय दिनका उपलब्धि : मन्त्रालय घटाउँदा २० अर्ब बचत
अछाममा चट्याङ लागेर चार जना घाइते