
कास्की । ‘रुपै राम्रो रुपातालको माथि भिरचोक गाउँ …’ पोखराका विम्बकविले उनेका शब्दमा सुनिल थापाको सङ्गीत र रजनी रिदम राईले स्वर भरेको यस गीतले नै रुपातालको सुन्दरतालाई झल्काउँछ । रूपातालको शान्त वातावरण, हरियाली र वरपरको हिमश्रृखङ्लाको मनोरम दृश्यावलोकनले प्रकृतिसँग घुलमिल हुन मन पराउनेका लागि यो उत्कृष्ट गन्तव्य बन्न थालेको छ । सूर्यको किरणसँगै बिहान, दिउँसो र साँझ फरक–फरक रूप देखिने रुपातालको रूपले त्यहाँ पुग्ने जो कोहीलाई मोहित बनाउँछ ।
पोखरा तालैतालको सहर । अधिकांशले पोखरा भन्नेबित्तिकै फेवाताल र माछापुच्छ्रेको तस्बिर सजाउने गर्दछन् । पोखरा क्षेत्रमा आठ वटा प्रमुख ताल रहेका छन् । फेवाताल, बेगनासताल, रुपाताल, खास्तेताल, न्यूरेनीताल, दीपाङताल, मैदीताल, गुँदेताल । सबैका आ–आफ्नै विशेषता छन् । यीमध्ये पनि रुपाको विशेषता अझ बेग्लै छ । ‘रुपातालको सौन्दर्य साँच्चिकै अनुपम छ,’ होटल एण्ड रेष्टुरेण्ट एसोसिएसन लेखनाथका अध्यक्ष वीरभद्र कँडेल भने, ‘छिनछिनमा तालले आफ्नो रूप फेर्छ, जसले यो ताललाई ‘रुपा’ नामसँग सुहाउँदो बनाएको छ । बिहान, दिउँसो र साँझ सूर्यको प्रकाशसँगै तालको रूप नै परिवर्तन हुन्छ ।’
हरियाली पहाड, जङ्गल र जैविक विविधताले घेरिएको यो ताल आन्तरिक तथा बाह्य पर्यटकहरूको मन जित्न सफल भए पनि यसको सौन्दर्य रहस्यलाई अझ प्रचारप्रसार खाँचो रहेको उनको भनाइ छ । ‘यहाँ डुङ्गा शेयर, चराचुरुङ्गी अवलोकन र आसपासका गाउँहरूमा रमाइलो गर्ने अवसर पाउँदा पर्यटकले यो स्थानलाई विशेष महत्त्व दिन थालेका छन् । योग र ध्यानका लागि पनि यो शान्त ठाउँ उपयुक्त मानिन्छ’ कँडेलले भने ।
उनका अनुसार रुपाताल आसपासमा ३५ वटा पर्यटकीय स्तरका होटल तथा रेष्टुरेट छन् । पहिला पहिला सुन्दरीडाँडाबाट रुपाताल हेर्न आउने मात्रै पर्यटक हुन्थे अहिले रुपाताललाई नै प्रमुख गन्तव्य बनाएर आउने पर्यटक बढ्न थालेका छन् । रुपाको सुन्दरताको अवलोकन, डुङ्गा शेयरसँगै तालको ताजा माछा र स्थानीय रहनसहन संस्कृतिसँग परिचित हुँदै स्थानीय परिकारको स्वाद लिन पर्यटक आउने गर्दछन् । यो सँगै साइवेरियालगायतका अन्य ठाउँबाट आउने पाहुना चरासँगै करिब तीन सय ५० प्रजातिका चराहरू पनि यस आसपासमा रहेका छन् । यस क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको खुला चिडियाखाना निर्माणको योजना पनि अघि बढाइएकाले नयाँ पर्यटकीय गन्तव्यका रूपमा यसको महत्त्व बढ्दै गएको उनको भनाइ छ ।
नेपाल घुम्न आएका फ्रान्सेली नागरिक लुइ र जुलीले रुपाताल अद्भुत लागेको बताए । ‘रुपाताल साँच्चै अद्भुत छ, तालको शान्त पानी र चारैतिर हरिया पहाडहरूले घेरिएको वातावरणले हाम्रो मनलाई शान्त बनायो,’ उनले भने, ‘हामीले डुङ्गामा यात्रा ग¥यौँ, चरा चुरुङी देख्न पायौँ, र प्राकृतिक सौन्दर्यको मजा लियौँ ।’ उनीहरूले स्थानीय बासिन्दाहरूको मैत्रीपूर्ण व्यवहारले पनि बेग्लै खुसी थपिदिएको बताए । उनीहरूले भिडभाडबाट टाढा एकान्त र शान्त रुपातालमा नेपाल आउने सबैलाई यो स्थान घुम्न सिफारिस गर्ने बताए ।
रुपाताल छेउमा बसेर दृश्यावलोकन गरिरहेका भारतको राजस्थानबाट साथीभाइ र परिवारका सदस्यका साथ पोखरा घुम्न आएका जयकुमार वर्माले पनि रुपाताल सुन्दर लागेको बताए । ‘नेपालको प्राकृतिक सुन्दरताको बारेमा सुनेको थिएँ, आज रुपाताल आएर त्यो अनुभव गर्न पाइयो । तालैतालको सहर, हरियालीको सुन्दरताले फेरिफेरि आउन प्रेरित ग¥यो,’ पहिलोपल्ट पोखरा घुम्न आएका वर्माले फेवाताल र बेगनास ताल अनि सराङकोट पुग्दा पाएको अनुभव सुनाए ।
ताल क्षेत्र पर्यटकीय दृष्टिकोणले आकर्षक मात्र नभई स्थानीय समुदायको आर्थिक विकासमा पनि योगदान पु¥याउँदै आएको बताउँछन् रुपाताल पुरस्थापना तथा मत्स्यपालन सहकारी संस्थाका अध्यक्ष शिवराज अधिकारी । ‘रुपातालको प्राकृतिक सुन्दरता र जैविक विविधता नै ठूलो सम्पत्ति हो’, अधिकारीले भने, ‘रुपातालको माछापालनले यहाँको समुदायको लागि आर्थिक उपार्जनको आधार बनेको छ ।सहकारीमार्फत सामूहिक रूपमा आयआर्जनका नयाँ उपायहरूमा हामी जुटेका छौँ ।’ सहकारीमा एक हजार ३८ जना शेयर सदस्य रहेका छन् । उनले आर्थिक विकास र पर्यावरण संरक्षणलाई सँगसँगै अघि बढाउन सके यस क्षेत्रका बासिन्दा थप लाभान्वित हुने धारणा राखे ।
रुपातालमा स्थानीय समुदाय माछापालनमा संलग्न भएर तालको संरक्षण र विकासमा योगदान दिँदै आएका छन् । रुपातालमा वार्षिक रु एक करोड ७० लाखको माछा विक्री हुने गर्दछ । दैनिक करिब एक सयदेखि एक सय ५० किलो माछा उत्पादन हुने गर्दछ । दैनिक पाँच सय केजी माछाको माग भए पनि उत्पादन एकसय ५० केजीमा मात्र सीमित भएको छ । रुपातालमा अहिले ३५ प्रजातिका माछाहरू रहेका छन् । माछा प्रतिकेजी समयअनुसार रु चार सयदेखि १५ सयसम्ममा बिक्री हुने गर्दछ । ताजा र स्वस्थ्यकर भएकाले यहाँको माछा पर्यटकहरूमाझ लोकप्रिय हुँदै गएको अधिकारीको भनाइ छ ।
रुपाताल एकीकृत विकास परियोजनाका इन्जिनियर कृष्ण विश्वकर्माले रुपातालको थप सौन्दर्य र संरक्षणका लागि वृहत् परियोजनामार्फत काम गरिरहेको बताए । ‘रुपाताल दीर्घकालीन आर्थिक समृद्धि र पर्यावरणीय संरक्षणको दृष्टिले एक महत्त्वपूर्ण कदम हो, यो परियोजनाले ताल र यसको आसपासको क्षेत्रलाई व्यवस्थित गर्दै पर्यटनको विकासमा मद्दत पुग्नेछ,’ उनले भने । उनले रुपातालको संरक्षण र पूर्वाधारहरू सुधार गर्दै, स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गर्ने र स्थानीय समुदायको आयआर्जनमा योगदान पु¥याउने लक्ष्यसहित परियोजनाको काम अघि बढेको बताए ।
परियोजनाको मुख्य उद्देश्य तालको जैविक विविधता संरक्षण गर्दै वातावरणीय सन्तुलन कायम राख्नु, साथै वातावरणमैत्री पर्यटनलाई प्रवर्द्धन गर्नु रहेको छ । परियोजनाअन्तर्गत वृक्षारोपण, माटो संरक्षण, सफाइ अभियान, र पर्यटकका लागि सूचना केन्द्र र संग्राहलय स्थापना गर्ने कार्यहरू भइरहेको छ । इन्जिनियर विश्वकर्माका अनुसार रुपाताल संरक्षण एकीकृत विकास परियोजना आर्थिक वर्ष २०७३÷७४ मा करिब चार अर्ब ५१ करोड ६६ लाख रुपियाँ लाग्ने अनुमानसहित सुरु भएको परियोजना हो । अहिले यसको करिब ४५ प्रतिशत काम सम्पन्न भएको छ । मुख्य बाँध निर्माणको करिब १५ प्रतिशत मात्र निर्माण सम्पन्न भएको छ ।
ताल वरपरको संरचना र पर्या–पर्यटनलाई बढावा दिने उद्देश्यले तालको वरिपरि साइकल र पैदल मार्गसहितको ‘इको ट्रेल’ निर्माण गरिनेछ । पर्यटकीय पूर्वाधारको रूपमा आकर्षक बगैँचा र अन्य सुविधाहरू निर्माण गर्दै ताललाई स्थानीय तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बनाउने योजना रहेको छ । आव २०८३÷८४ मा सम्पन्न लक्ष्य राखिए पनि निर्माण कार्य देखिएका विविध कारण समयमै सम्पन्न हुन नसक्ने भएपछि समयावधि बढाउनुपर्ने अवस्था आउने विकले जानकारी दिए ।
निर्माण कार्यमा हालसम्म दुई अर्ब २६ करोड रुपियाँभन्दा बढी रकम खर्च भइसकेको छ । यस परियोजनाबाट ७.९ किलोमिटर क्षेत्रमा सडकको निर्माण सम्पन्न भएको छ । ताल क्षेत्रलाई विस्तार आवश्यक आवश्यक संरचना निर्माणमा १४ सय ७२ रोपनी जग्गा आवश्यक जग्गामध्ये नौ सय ९५ रोपनी जग्गाको मुआब्जा दिइसकिएको छ । मुआब्जाका लागि करिब एक अर्ब ३५ करोड रुपियाँ बजेट छुट्टाइएको थियो । करिब ९३ करोड मुआब्जामा वितरण भइसकेको छ । कतिपय ऐलानी जग्गा भएकाले मुआब्जा दिन नपर्ने भएको उनको भनाइ छ ।
वि.सं २०३२ को नापीले १३६ हेक्टर क्षेत्रफलमा फैलिएको तालको अहिले परियोजनाको सर्भेमा एकसय २२ हेक्टर देखिएको छ । परियोजना सम्पन्नपश्चात् यसको क्षेत्रफल एकसय ८३ पुग्ने बताइएको छ । ताल खुम्चिनुको कारणहरूमा माटोको कटान, जलाधार क्षेत्रमा हुने अव्यवस्थित विकास र अतिक्रमण हुन् । रुपाताल पोखराका नौ तालमध्ये तेस्रो ठूलो ताल हो र यो परियोजनाले यसको दीर्घकालीन संरक्षण र विकासमा योगदान पु¥याउँदै, स्थानीय अर्थतन्त्रलाई पनि समृद्ध बनाउने विश्वास लिइएको छ ।
पोखराको प्रमुख बजार क्षेत्रबाट १५ किलोमिटर दूरीमा अवस्थित रुपाताल पोखरा महानगरपालिका–३१ मा पर्छ । जैविक विविधता र संरक्षणको दृष्टिकोणले निकै महत्त्वपूर्ण रहेको यस क्षेत्रमा जैविक संरक्षण क्षेत्रको रूपमा विकास गर्ने प्रयास थालिएको छ । रुपातालको माथिको झोलुङ्गे पुल र सुन्दरी डाँडा र पचभैया जस्ता स्थलहरू पनि अहिले पर्यटकको रोजाइमा परेका छन् ।













समाचार
क्रेस्ट माइक्रो लाइफको व्यवसाय सुधार, नाफामा भने ९० प्रतिशतको गिरावट
शतप्रतिशत हकप्रद सेयर बिक्री गर्दै होटल पार्क ल्यान्ड, भदौ १५ बाट आवेदन दिन सकिने
बडीमालिका पूजा आजदेखि सुरु
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् आजका कार्यसूची
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा
लेन्सलाई सुपर कप, पिएसजी पराजित
माछापुच्छ्रे बैंकको सेयर रजिष्ट्रारमा माछापुच्छ्रे क्यापिटल नियुक्त
असलि इन्भेष्टमेण्टको १८ औँ साधारणसभा आह्वान
देश छोड्नु युवाको बाध्यता होइन, विकल्प बन्नुपर्छः सांसद राणा
५–१० वर्षमा ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’मा जान्छौँः सौरभ ज्योती