
खोटाङ । खोटाङको ढुङ्गे बगैँचा (बुङालुङ) पर्यटकको आकर्षणमा परेको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका –७ महादेवस्थानमा रहेको ढुङ्गे बगैँचामा अहिले हरेक दिन आन्तरिक पर्यटकहरु भ्रमण गर्न पुग्ने गरेका छन् । त्रि–धार्मिकस्थल हलेसीनजिक रहेको ककनीडाँडालाई नगरपालिकाले ढुङ्गे बगैँचाको रुपमा विकास गरेको छ । स्थानीय चाम्लिङ भाषामा सो ठाउँको नाम बुङालुङ राखिएको छ ।
चाम्लिङ भाषामा बुङा भनेको फूल र लुङ भनेको ढुङ्गा बुझिन्छ । प्राकृतिक रुपमा थरीथरीका आकृतिका ढुङ्गाले पूरै डाँडा ढाकिएको छ । सिङ्गो डाँडा खोपेर बनाएजस्ता चुच्चो परेका ढुङ्गाले भरिएको छ । हेर्दा कलाकारले कुँदेर बनाएजस्तो देखिन्छ, यहाँका ढुङ्गाहरु । तर उक्त ढुङ्गाहरु प्राकृतिक हुन् । ककनीडाँडामा रहेको आकर्षक ढुङ्गाले ढाकिएको डाँडालाई नगरपालिकाले रक गार्डेन अर्थात ढुङ्गे बगैँचाको रुपमा विकास गरेसँगै अहिले पर्यटकले डाँडा भरिन थालेको हो । फोटो खिच्न, भिडियो बनाउ हरेक दिन ५० जनाभन्दा बढीको सङ्ख्यामा आन्तरिक पर्यटकहरु आउने गरेको स्थानीय दुर्गा कार्कीले बताए ।
पर्यटकहरु हरेक दिन वृद्धि हुँदै गएपछि बुङालुङनजिक पसल सुरु गरेको कार्कीको भनाइ छ । आकर्षक ढुङ्गाहरु रहे पनि पुरै घारीले घेरिएको ककनीडाँडा पहिले बाख्रावस्तु चराउनका लागि मात्र प्रयोग हुने गरेको थियो । अहिले नगरपालिकाले त्यस ठाउँलाई पर्यटकीय स्थल बनाएपछि डाँडाको मुहार नै परिवर्तन भएको स्थानीय गङ्गाबहादुर राउतको भनाइ छ । त्रि–धार्मिकस्थल हलेसीबाट पैदल यात्रामा आधा घण्टामाथि रहेको ककनीडाँडा प्राकृतिक रुपमा थरिथरिका आकृतिक ढुङ्गाले ढाकिएको छ । जसलाई कुनै असर नपर्ने गरी अहिले नगरपालिकाले विभिन्न संरचना निर्माण गरेको छ ।
ढुङ्गे बगैँचा अर्थात् बुङालुङ पुग्न कच्ची सडकमार्ग पनि निर्माण गरिएको छ । उक्त सडक ढलानको कार्य धमाधम भइरहेको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले बताइन् । उनका अनुसार त्यस क्षेत्रलाई पर्यटकको गन्तव्यस्थलको रुपमा हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०७६–७७ देखि ढुङ्गे बगैँचाको रुपमा स्थापित गर्ने योजना अघि बढाएको थियो ।
कालो, सेतो र रातो रङ्गको कलात्मक ढुङ्गालाई नबिगारी सजिसजाउ गर्दै विभिन्न आकर्षक संरचनाहरु पनि निर्माण गरेपछि हाल पर्यटक आउन थालेको नगरप्रमुख राईको भनाइ छ । हाल बुङालुङमा पदमार्ग, चिल्ड्रेन पार्क, ढुङ्गाको मुन गेट, परगोला, प्रतीक्षालय, गार्ड हाउस, रेष्टुरेन्टका लागि संरचना, मेनगेट, घेराबारा, पानीको फोहोरा देखाउने पोखरी, आउटडोर जिम, शौचालय, वृक्षरोपण, टिकट काउण्टर निर्माण भइसकेको छ । रेष्टुरेन्टलगायतका केही संरचना सञ्चालनमा आउन बाँकी छ ।
हलेसीमा आएलगत्तै फर्किने पर्यटकलाई घुमफिर गराउने र केही दिन अलमल्याउने उपायको खोजीमा ककनीडाँडामा रक गार्डेनको परिकल्पना गरिएको थियो । नगरपालिकाले परिकल्पना गरेजस्तै अहिले पर्यटकको यस ठाउँमा घुइँचो लाग्ने गरेको नगरप्रमुख राईले बताइन् । बुङालुङ अर्थात ढुङ्गे बगैँचाबाट उत्तरतर्फका हिमशृङ्खला र वरपरका दृश्यवलोकनका लागि पनि चर्चित छ । झट्ट हेर्दा बालुवा सिमेन्टले बनाएजस्ता सेतो रङ्गका ढुङ्गाले ढाकिएको ककनी डाँडा वारपार गर्न ३० मिनेटदेखि ४५ मिनेट लाग्छ ।
भस्मासुरले महादेवलाई लखेट्दा महादेवको पाइला परेको ककनीडाँडामा कलात्मक ढुङ्गा सिर्जना भएको धार्मिक मान्यता छ । हाल बुङालुङमा जिल्ला भित्रकासँगै जिल्लाबाहिर विभिन्न ठाउँका नागरिकहरु भ्रमणका लागि आउने गरेका छन् । हलेसीमा आएका विदेशी पर्यटकले पनि बुङालुङ पुगेर फोटो खिचाउन थालेका छन् । भ्रमणसँगै पर्यटकहरु बुङालुङमा योग गर्नसमेत आउन थालेको नगरप्रमुख विमला राईको भनाइ छ ।













समाचार
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै
धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन
एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो
इंग्ल्यान्डका अलराउन्डर जैब सुदूरपश्चिम रोयल्समा
तीन सातादेखि तातोपानी नाका अवरुद्ध, नेपाल–चीन व्यापार ठप्प
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति
क्यानडा पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ
आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता
बीवाइडीको ‘अपडेट टु कियर प्लस’ योजना सार्वजनिक, पाँच नयाँ सेवासहित सर्भिस सेन्टरको संख्या १९ पुर्याउने
टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द