
सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका–५ स्थित कुशाहाका पबितार पासवानले पाँच वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । उनले तरकारीखेतीबाट परिवारको जीविकोपार्जन मात्र होइन, मनग्य आम्दानी पनि गर्दै आएका हुन् ।
‘आजभोलि तरकारी टिप्ने, बजारसम्म लैजाने र बिक्री गर्ने कामका निकै व्यस्त हुन्छु । परिवारका सबैजना यही काममा लागिपरेका छौँ’, खेतमा गोलभेँडा गोडमेल गर्दै गरेका पबितारले भने, ‘वर्षको तीन यामसम्म तरकारी लाउने गरेको छु । यसबाट वार्षिक रु एक–डेढ लाख आम्दानी हुने गरेको छ ।’ उनले आफ्नो स्वामित्वमा रहेको दुई कठ्ठा तथा लिजमा लिएर चार कठ्ठा जमिनमा तरकारीखेती गरिरहेको बताए ।
पबितारले यस वर्षमात्र दुई क्विन्टल काउलीबाट मात्र रु ६० हजार आम्दानी गर्नुभयो भने अहिले खेतमा गोलभेँडा लगाएका छन् । उनीजस्तै सोही ठाउँका चलितर पासवानले पनि तरकारीखेती गरेर नियमित आम्दानी गर्दै आएका छन् । तरकारीखेतीको आम्दानीबाट आफ्नो १२ जनाको परिवारको जीविकोपार्जन भइरहेको उनले बताए । गोलभेँडा, काउली, झिङ्नी, बोडीलगायत तरकारी लगाउने गरेको उनले जानकारी दिए ।
पबितार, चलितरजस्तै यस गाउँका अधिकांश विपन्न दलित परिवारको तरकारीखेतीबाट जीवतस्तर उकासिएको छ । उनीहरूले ‘बिर्धना कृषिक समूह’ गठन गरेका छन् । विभिन्न संघसंस्था तथा स्थानीय निकायबाट संस्थागत रूपमा उनीहरूले सहयोग लिने गरेका छन् । उक्त कृषि समूहमा अहिले १६ जना सदस्य छन् । यहाँका गरिब तथा विपन्न दलित समुदायलाई तरकारीखेतीतर्फ आकर्षित गर्ने काम सबल नेपालले गरेको हो । किसानलाई खेतीसम्बन्धी तालिम, उपयुक्त बीउबिजन, नयाँ कृषि प्राविधिक सामग्री, मल्चिङ प्रविधि सहयोग गर्दै आएको कार्यक्रमका सुपरभाइजर अशोककुमार साहले बताए । उनले नगरपालिकासँग समन्वय गरेर आफूहरूले कृषि, शिक्षा, बालबालिकाको क्षेत्रमा निरन्तर काम गर्दै आएको जानकारी दिए ।
किसानले गरेको तरकारीखेतीको प्रभावकारिता, समस्या, चुनौती तथा समाधानका उपायको पनि संस्थाले पहिचान गर्ने गरेको जनाइएको छ । तरकारीखेतीले विपन्न दलित समुदायको जीवनस्तर नै बदलिएको भन्दै नगरपालिकाका कृषि शाखा प्रमुख रोशन चौधरीले आगामी दिनमा संस्थाले कार्यक्रम छाडेको अवस्थामा पनि नगरपालिकाले किसानलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।













समाचार
भदौका लागि पनि घट्यो वाणिज्य बैंकहरूको औषत ब्याजदर, कुन बैंकको कति ?
शिखर इन्स्योरेन्सको नाफा १३ कोड बढी, बीमा व्यवसाय १० प्रतिशतले बढ्दा अन्य सूचक कस्ता ?
सन नेपाल लाइफको नाफा ४१ करोड ८५ लाख, जीवन बीमाकोषमा २७ प्रतिशतले वृद्धि
लक्ष्मीले कमायाे ३ अर्ब माथि नाफा, इपीएस कति ?
वित्तीय सूचकमा सुधार गर्दै नेपाल बैंक, ४ अर्ब ५० करोड खुद नाफा
स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा घट्यो, अन्य सूचक कस्ता ?
एनआईसी एशिया बैंक एक वर्षमै नोक्सानीबाट नाफामा
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाफा ३६.५९% ले घट्यो
महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान
नेशनल लाइफको जीवन बीमाकोष खर्बमाथि, यस्ता छन् कम्पनीका वित्तीय सूचक ?