
चितवन । राप्ती र नारायणी नदीमा ३५२ वटा घडियाल गोही भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्जले हालै गरेको गणना तथा अनुगमनका क्रममा राप्ती नदीमा २०६ र नारायणी नदीमा १४६ वटा गोही भेटिएका हुन् ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले पुस १२ गतेदेखि १४ दिन लगाएर गरिएको गणनामा सो संख्यामा गोही भेटिएका बताए । गणनामा निकुञ्जका ९ कर्मचारी र माझीहरू सहभागी भएका थिए । गत वर्ष गरिएको सर्वेक्षणमा राप्तीमा १५२ र नारायणीमा ११३ वटा गोही भेटिएका थिए । त्यसबेला राप्ती र नारायणीमा तीन÷तीनवटा भाले भेटिएकामा यस वर्ष राप्तीमा दुई र नारायणीमा तीन गरी पाँचवटा भाले भेटिएका छन् ।
यस वर्ष एउटा भाले नभेटिए पनि समग्रमा संख्या भने बढेको छ । गणना हुनुअघि राप्तीमा ४१ वटा गोही छोडिएकाले पनि संख्या बढेको सूचना अधिकारी थापामगरले बताए । निकुञ्जले गत पुस महिनामा राप्तीमा थप २० वटा गोही छोडेको थियो । गत आर्थिक वर्षमा १०५ वटा गोही प्राकृतिक बासस्थानमा छाडिएकामा चालु आवमा थप ४० वटा गोही छोड्ने योजना रहेको छ । यहाँ नदी किनारबाट गोहीका अण्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा कोरलेर बच्चा हुर्किएपछि नदीमा छोड्ने गरिन्छ ।
हालसम्म राप्ती, नारायणीसहित देशका विभिन्न नदीमा २ हजार १८ गोही छाडिसकिएका छन् । हाल प्रजनन केन्द्रमा ७३९ गोही रहेका छन् । घडियाल गोही संकटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो । विगतमा पाकिस्तान, बङ्गलादेश, भूटान, म्यान्मालगायत देशहरूमा समेत पाइने घडियाल हाल नेपाल र भारतमा मात्रै पाइन्छन् ।
सन् १९४० को दशकमा यसको संख्या विश्वमा १० हजार जति रहेको पाइन्छ । सन् १९७० मा त्यसको दुई प्रतिशत मात्रै संख्या अस्तित्वमा रहेको पाइएपछि संरक्षणमा चासो बढ्दै गएको संरक्षणकर्मी बताउँछन् । चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि सन् १९७५ मा कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरिएको थियो । त्यसबेला देशभर एक सयभन्दा कम संख्यामा घडियाल गोही रहेको अनुमान गरिएको थियो ।
नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण, माछा मार्नेलगायत कारणले गोहीका प्राकृतिक बासस्थानमा क्षति भइरहेको सूचना अधिकारी थापामगरले बताए । साथै बाढी आउँदासमेत गोही बगेर जाने गरेका छन् ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना