काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा १०२ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको भन्दा १०२.४९ प्रतिशतले नाफा बढेको हो ।
कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा २४ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको साही अवधिमा कम्पनीको यस्तो नाफा कम्पनीले गत आवमा १२ करोड १३ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानी बढेसँगै नाफामा टेवा पुगेको हो।
चालु आवमा सञ्चालन नाफा ३६ करोड ७२ लाख रुपैयाँ पुगेको छ । गत आवमा कम्पनीको यस्तो नाफा १७ करोड ३३ लाख रुपैयाँ रहेको थियो । खुद ब्याज आम्दानी गत आवमा ५८ करोड ८६ लाख रुपैयाँ रहेकोमा चालु आवको ६ महिनामा बढेर ९९ करोड ४६ लाख रुपैयाँ पुगेको छ । कम्पनीको वितरणयोग्य नाफा ४२ करोड ३० लाख रुपैयाँ छ ।
हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ७० करोड रुपैयाँ रहेको छ । कम्पनीको सञ्चित मुनाफामा ४२ करोड ३० लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । कम्पनीले ११ अर्ब ४६ करोड रुपैयाँ सापटी लिएर १० अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन र २४ अर्ब २३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
नाफा वृद्धि भएसँगै कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) पनि वृद्धि भएको छ । कम्पनीको इपीएस गत आवमा १५ रुपैयाँ ६४ पैसा रहेकोमा चालु आवमा बढेर २८ रुपैयाँ ८० पैसा पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १ हजार ४९९ रुपैयाँ २० पैसा र निष्क्रिय कर्जा ६ दशमलव ०९ प्रतिशत रहेको छ ।