
बझाङ । वडाभरिकै पाको, मान्छे । वृद्धावस्थामा पनि माटोसँगको सामिप्यता छ, ९६ वर्षीया तुलसीदेवी जोशीको । खप्तडछान्ना गाउँपालिका–५ पिठातोलाकी जोशीलाई अहिले पनि बारीमै भेटिनुहुन्छ । यो उहाँको बाध्यता भने होइन, बाल्यकालदेखिको खेती गर्ने बानीले नछाडेको मात्र हो ।
‘घरभित्रै बसिरहन मन मान्दैन,’ उनले भनिन्, ‘बारीमा के–कस्तो उम्रियो, पानी पुग्यो कि पुगेन, गोडमेल पुग्यो कि पुगेन भन्ने मनमा खेल्छ । त्यसपछि कुटो बोकेर गइहाल्छु ।’
थाहा भएदेखि कृषिमा जीवन समर्पित गर्नुभएकी जोशी अहिले पनि गाउँमा अगुवा कृषकको रूपमा चिनिन्छन् । ‘गाउँमा दलहन, धानबाली, तरकारी गाउँमा हुने सबै किसिमको तथा बीउ कतै नपाए गाउँले अझै म कहाँ आउँछन्’, तुलसीले भनिन् । तर, यो उमेर वितिसक्दा पनि उनलाई नागरिकतालगायतका सरकारी कागजातको आवश्यकताबारे ज्ञान थिएन । उनलाई गएको शनिबार जिल्ला प्रशासन कार्यालयले घरमै गएर नागरिकता प्रदान गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले सबै कागजात तयार गरी उनको घरमै पुगेर नागरिकता प्रदान गरे ।
थलारा गाउँपालिका–७ घोडादाउनामा विक्रम संवत १९८६ साल साउन ११ गते जन्मिनुभएकी जोशीलाई नागरिकता प्रदान गर्दै सहायक प्रमुख जिल्ला अधिकारीले अनागरिक भएर जीवन विताइरहेको अवस्थामा भेट भएको बताए । जोशीले सय वर्षको हाराहारीमा पनि नागरिकता नपाएको भन्ने सुन्ने वित्तिकै कागजात बनाउन अनुरोध गरेको र कागजात तयार हुनासाथ नागरिकता उपलब्ध गराएको बताए ।
बुवा जयलाल उपाध्याय र आमा हरिनादेवी उपाध्यायको कोखबाट जन्मिएकी जोशीको विक्रम संवत १९९४ मा ८ वर्षको उमेरमा खप्तडछान्ना गाउँपालिका–५ का पदमराज जोशीसँग विहे भएको थियो । विहे भएको ५७ वर्ष अर्थात् २०५१ सालमै पदमराजले संसार छोडेपछि उनी एकल भईन् ।
सदरमुकाम चैनपुरबाट चार घण्टाको दुरीमा पर्ने पिठातोला र त्यो ठाउँबाट देखिने भू–भाग नै तुलसीका लागि संसार भयो । ‘मेरा लागि त यही संसार हो,’ तुलसीले भनिन्, ‘माइतीगाउँ जाने बिप्रा डाँडा र छिमेकी जिल्ला बाजुरा जाने थामलेकबाहेक अन्त देखेको छैन । यही संसार आँखी झ्यालबाट हेरिरहन्छु । त्यो पनि पुरै घुमेको छैन ।’












समाचार
चार अर्ब ९३ करोड बढी राजस्व सङ्कलन
पिएसजी र म्यानचेस्टर युनाइटेडको बराबरी
लप्सेखोलामा अस्थायी बेलिब्रिज जडान गरिने
चितवन हुलाक कार्यालयबाट एक करोड भन्दा बढी राजस्व संकलन
विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड
हर्मुज खोल्न तेहरानले अघि सार्याे कडा सर्त, अमेरिकी नाकाबन्दी अन्त्य र क्षतिपूर्तिको माग
सानिमा रिलायन्स लाइफको भिजन टु भ्यालु कन्क्लेभ सम्पन्न
कुमारी बैंकको ३ लाख २० हजार कित्ता सेयर बिक्रीमा, क कसले दिन पाउँछन आवेदन ?
सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन
सानिमा बैंकको ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?