
कञ्चनपुर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कञ्चनपुरको दोधारा चाँदनीमा बन्ने सुख्खा बन्दरगाह र दैजिछेला औद्योगिक क्षेत्र निर्माणको काम छिट्टै सुरु हुने बताएका छन् । महेन्द्रनगरस्थित खुलामञ्चमा आयोजित १६औँ सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको आज उद्घाटन गर्दै उहाँले बन्दरगाह निर्माण र औद्योगिक क्षेत्रको काम अगाडि बढाउन आवश्यक प्रक्रिया अगाडि बढिसकेको बताएका हुन् ।
‘सुख्खा बन्दरगाह निर्माणका लागि सबै प्रक्रिया पूरा गरेर रुख कटानको तयारी भइरहेको छ’, मन्त्री भण्डारीले भने, ‘भारतीय लगानीमा बन्ने बन्दरगाह निमार्णका लागि एक महिनाअघि भारतीय पक्षले बोलपत्र आह्वान गरिसकेको छ ।’ उनले एक महिनाभित्र बन्दरगाह निमार्ण सुरु हुने र त्यसले पूर्णता पाए तेस्रो मुलुकसँग व्यापारको ढोका खुल्ने धारणा राखे । ‘भारतीय पक्षले सुख्खा बन्दरगाहसम्म रेल सञ्चालन गर्ने गरी छलफल भएको छ । हामीले सबैभन्दा छोटो दुरीमा गुजरातको मुन्द्रापोर्टसम्म पहुँच पाएमा समयका हिसाबले १५ दिनको ट्रान्सपोर्ट समय घट्ने छ, यसले ढुवानी लागतमा समेत निकै फरक पर्नेछ’, मन्त्री भण्डारीले भने ।
यस्तै, वेदकोट नगरपालिकास्थित प्रस्तावित दैजीछेला औद्योगिक क्षेत्र निर्माणका लागि वनको प्रक्रियागत काम भइरहेकाले छिट्टै काम सुरु हुने उनले बताए । मन्त्री भण्डारीले नौ अर्बको लागतमा बन्ने उक्त औद्योगिक क्षेत्र सुदूरपश्चिमका लागि महत्वपूर्ण रहेकाले सरकारले सोहीअनुसार निर्माण गरी स्वदेशी तथा विदेशी लगानीकर्ता भित्र्याउन आवश्यक काम गर्ने प्रतिबद्धता व्यक्त गरे । त्रिदेशीय नाकाको रूपमा विकास गर्ने गरी महाकाली करिडोरलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा समावेश गरी सम्पन्न गर्न सरकारले आवश्यक बन्दोबस्त गर्ने उनको भनाइ थियो ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि