
राँझा । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाको टडुवास्थित धुमैया जलाधार क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ । सिद्देश्वरी सामुदायिक वन उपभोक्ता समूहको संरक्षणमा रहेको धुमैया जलाधार क्षेत्रमा नेपालगञ्जको प्रचण्ड गर्मी छल्न आउने आन्तरिक पर्यटकहरु झरनामा नुहाउने, तस्बिर खिच्ने, भिडियो छायाङ्कन गर्ने र वनभोज खाएर रमाउने गरेका छन् ।
गर्मीयाममा नेपालगञ्ज, कोहलपुरलगायतका सहरबाट आन्तरिक पर्यटकको भीड लाग्ने गरेको स्थानीय चन्द्रप्रकाश रिजालले बताए । जलाधार क्षेत्रमा प्रवेश गर्ने आन्तरिक पर्यटकलाई प्रवेश शुल्क रसिद काट्ने काम गर्दै आएका रिजालले गर्मीयाममा दैनिक ३००/४०० जना घुम्न पुग्ने गरेको जानकारी दिए । गर्मीयाममा प्राकृतिक रुपमा बगिरहेको झरनामा नुहाउने र पोखरीमा पौडी खेल्न यहाँ आउने गरेको राप्ती सोनारी–३ बैजापुर निवासी टारजन वलीले बताए । पछिल्लो पटक टाढाबाट समेत मानिसहरु जिप, कार र मोटरसाइकलमा आएर दिनभर रमाउने गरेको उनको भनाइ छ ।
सिद्देश्वरी सामुदायिक वन उपभोक्ता समूहको सक्रियतामा भएको सामान्य पूर्वाधार विकाससँगै खानेपानीको धारा, पौडी खेल्न मिल्ने पोखरी र वनभोज गर्न मिल्ने सामान्य संरचना निर्माण भएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको स्थानीय जुद्धबहादुर पुनले बताए ।
जैविक विविधता, प्राकृतिक सौन्दर्य र सुगम भएकाले आन्तरिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको सिद्देश्वरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सविन पुनले उल्लेख गरे । ‘बजेट अभावमा पूर्वाधार विकास गर्न सकिएको छैन, तर पनि पछिल्लो समय घुम्न आउने पर्यटकको संख्या बढ्दो छ’, उनले भने, ‘शनिबार र सार्वजनिक बिदाको दिन यहाँ आउने पर्यटकको भीडभाड हुने गर्दछ ।’
धुमैया जलाधार क्षेत्रको पूर्वाधार विकास र पर्यटन प्रबर्द्धनका लागि गाउँपालिका र प्रदेश सरकारसँग बजेट माग गरे पनि कहीँबाट बजेट विनियोजन हुन नसकेको उनको गुनासो छ । बर्सातमा बाढीले भत्काएको सडकसमेत बजेट अभावले निर्माण गर्न नसकिएको पुनले जानकारी दिए ।
सदरमुकाम नेपालगञ्जबाट करिबबाट २५ किलोमिटर पूर्वमा राप्ती नदीपारि अवस्थित धुमैया जलाधार क्षेत्र पुग्न बिनौना चिलहरिया चोकसम्म पक्की हुलाकी राजमार्ग रहेको छ । चिलहरिया चोकदेखि करिब तीन किलोमिटरको कच्ची सडक पार गरेपछि सजिलै यहाँ पुग्न सकिन्छ । गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले धुमैया जलाधार क्षेत्रको पूर्वाधार विकास र पर्यटन प्रबर्द्धनका लागि आवश्यक सहयोग गर्न आफू तयार रहेको बताए ।













समाचार
अब त्यस्तो दिन नदोहोरियोस् : पूर्वप्रधानमन्त्री कार्की
इन्डोनेसियामा ज्वालामुखी विस्फोटन, ३ हजार उडान अवरुद्ध, साढे ३ लाख यात्रु अलपत्र
बीमा दाबी भुक्तानी लिन बीमितलाई सम्पर्कमा आउन स्टार माइक्रोको आग्रह
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै
१६२ किलो गाँजासहित दुई जना चालक पक्राउ
कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर
प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून
दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै
भेडागोठमा लालवीरका सात दशक