काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले सुम्निमा पारुहाङको प्रतिमा तोडफोड गर्ने उपर कानुनी कारबाही गर्न माग गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै मेयर राइले गृहमन्त्रीलाई उक्त घटनामा संलग्नलाई काराबाही गरी सुरक्षाको व्यवस्था गर्न आग्रह गरेका हुन् ।
‘हिजो मात्रै खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ६ छितापोखरी स्थित किराती नेपाली सभ्यता र आस्थाको प्रतीक आदिमपूर्खा सुम्निमा पारुहाङको प्रतिमा तोडफोड गरिएको खबर बाहिर आएको छ । यो कायरतापूर्ण, पाशवीक, अमानवीय र आपाराधिक घटनाको घोर भत्र्सना गर्दै सूक्ष्म अनुसन्धान गरी दोषी उपर कडा भन्दा कडा कानुनी कारवाही माग गर्दछु । बहुजातिय, बहु धार्मिक, बहुसांस्कृतिक देशमा यस्ता कुकृत्यका कारण सामाजिक सद्भाव बिग्रने, राष्ट्रिय एकता कमजोर हुने साथै समग्र देशकै शान्ति सुरक्षाको स्थिति बिग्रने भएकोले यो र यस्ता ध्वम्सात्मक गतिविधिलाई रोक्न आवश्यक सम्पूर्ण सुरक्षाका उपायहरु अपनाइयोस् भनी माग गर्दछु ,’ विज्ञप्तिमा भनिएको छ ।
