काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्स र बेङ्गलुरु विजयी भएका छन् । गत राति सकिएको खेलमा मुम्बुइले चेन्नई सुपर किङ्सलाई ९ विकेटले हरायो भने बेङ्गलुरुले पन्जाब किङ्ग्स हराएको हो ।
हिजो भएको दोस्रो खेलमा चेन्नईले दिएको १ सय ७७ रनको लक्ष्य पछाएको मुम्बईले १५ ओभर ४ बलमा मात्र १ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । मुम्बईको जीतमा रोहित शर्माले अविजित ७६ रन बनाए । यस्तै सूर्य कुमार यादवले पनि अविजित ६८ रन जोडे ।
चेन्नईका रविन्द्र जडेजाले एक विकेट लिए । त्यसअघि वाङखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो । चेन्नईका रविन्द्र जडेजाले ५३ रन बनाए । यस्तै शिवम दुबेले ५० रन जोडे । मुम्बईका जसप्रित बुम्राहले २ विकेट लिए ।
योसँगै मुम्बईको यो चौथो जीत भएको छ । मुम्बई ८ अङ्कसहित सातौं स्थानमा उक्लिएको छ । चार अङ्कसहित अङ्क तालिकाको पुछारमा रहेको चेन्नईको यो छैटौं हार हो ।
यसैबीच हिजो भएको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले पन्जाब किङ्ग्सलाई ७ विकेटले पराजित गरेको छ । पन्जाबले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको बेङ्गलुरुले १८ ओभर ५ मा तीन विकेट गुमाउँदै १ सय ५९ रन बनायो । बेङ्गलुरुका विराट कोहलीले सर्वाधिक ७३ रन बनाए । यस्तै देवदत्त पडिक्कलले ६१ रन जोडे । पन्जाबका अर्शदीप सिंह, हरपित ब्रार र युजवेन्द्र चाहलले समान एक विकेट लिए । मुल्लनपुरमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जावले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । पन्जाबका डेभिड पाण्ड्याले ३३ रन बनाए । सुयस शर्मा र क्रुनाल पाण्ड्याले समान २ विकेट लिए ।
इन्डियन प्रिमियर लिग (आईपीएल) मा १० अङ्कसहित बेङ्गलुरु तेस्रो स्थानमा फर्किएको छ । समान अङ्क रहेको पन्जाब चौथो स्थानमा छ ।