
मुस्ताङ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत उपल्लो मुस्ताङको चराङ–छोसेर २५ किलोमिटर सडक स्तरोन्नति भइरहेको छ । विसं २०७५ मा निर्माण सम्पन्न भई आयोजनालाई हस्तान्तरण भइसक्नुपर्ने सो सडक निर्माण कम्पनीको ढिलासुस्ती र बेवास्ताका कारण स्तरोन्नति हुन सकेको थिएन ।
आर्थिक वर्ष २०७३/७४ मा जोमसोम–कोरला ११० किलोमिटर ग्राभेल सडक सात खण्डमा विभाजन गरी स्तरोन्नति सुरु गरिएको थियो । सात खण्डमध्ये जोमसोम-झैते चार खण्ड र झैते-कोरला तीन खण्ड गरी सात खण्डको ११ मिटर चौडा ग्राभेल एकैसाथ ठेक्का लागेको थियो । दुई अर्ब छ करोड लागतमा ठेक्का लागेको सडकको सात खण्डमध्ये ६ खण्ड ग्राभेल भई सडक आयोजनालाई हस्तान्तरण भएको वर्षौँ बितिसकेको छ ।
तामाङ-गौरी पावती, कोशी एन्ड न्यौपाने जेभीले ११ मिटर चौडा हुनेगरी २५ किलोमिटर चराङ-छोसेर सडक स्तरोन्नति गर्न २६ करोड रूपैयाँ लागतमा ठेक्का लिएको थियो । कम्पनीले ८० प्रतिशत भौतिक प्रगति गरी काम छाडेको थियो । काम नगरेपछि पटक/पटकको पत्राचार, ताकेता र कालोसूचीमा राख्ने जनाएपछि गत वर्षमा मात्रै ‘ज्वाइन्ट पार्टनर’ गौरी पार्वतीले कालो सूचीबाट जोगिन चराङ-छोसेर सडक निर्माण सुरु गरेको हो ।
चालु आर्थिक वर्षको असारभित्रै आयोजनालाई सडक हस्तान्तरण गर्ने गरी अधुरो सडक स्तरोन्नति भइरहेको गौरी पावती कन्स्ट्रक्सनका साइट इञ्चार्ज विष्णु अर्यालले जानकारी दिए । अर्यालका अनुसार चराङको भिर काट्ने काम तीन दिनभित्र सम्पन्न हुने र अन्य स्थानमा काम सकिएको छ । सडकको ९३ प्रतिशत भौतिक प्रगति भइसकेको र चराङ बजारभित्र करिब एक किमी सडकमा सडक ग्राभेल गर्न बाँकी रहेको उनले बताए । सडक आयोजनाका प्रमुख ध्रुव झाले चराङ-छोसेर सडकको ग्राभेल ठेक्का चालु वर्षको असारभित्रै सम्पन्न हुने दाबी गरे । योसँगै जोमसोम-कोरला ११० किमी ग्राभेल सडक पूरा हुने आयोजना प्रमुख झाले जनाए । जोमसोम-कोरला ग्राभेल सडकअन्तर्गत आयोजनाले चालु आर्थिक वर्षको असोजमा जोमसोम-कागबेनी १३ किमी दूरीमा कालोपत्र विस्तार गरिसकेको छ ।
यसैगरी, चालु आर्थिक वर्षमा कागबेनीदेखि छुसाङसम्मको करिब १० किलोमिटर ग्राभेल सडकमा कालोपत्र गर्ने नयाँ ठेक्का आयोजनाले खुलाएको छ । यसका लागि १० करोड बजेट विनियोजन भइसकेको छ ।













समाचार
प्रधानमन्त्रीसँग चीनका राजदूत माओमिङको भेटवार्ता
माउण्टेन इनर्जीको सहायक कम्पनीले बनाउने ६५ मेगावाटको दूधखोलालाई जुट्यो १०.०१ अर्ब लगानी
लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली
नेप्सेसँगै घट्यो कारोबार रकम
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हर्मुजमा अलपत्र परेका जहाजहरू ‘सुपर-स्प्रेडर’ बन्न सक्ने चेतावनी
अप्पर सोलु हाइड्रोले एक वर्षमा कमायो २० करोड ८७ लाख नाफा, इपीएस कति ?
पञ्चकन्या माई हाइड्राको वित्तीय अवस्था : करिब ७ करोडको नोक्सानी पुरा गरि ६ करोड ६८ लाख नाफामा
२८८ प्रतिशतले बढ्यो तेह्रथुम पावर कम्पनीको नाफा, अन्य सूचक कस्ता ?
अन्तर्राष्ट्रिय हवाई भाडा कम गर्न माग