
कास्की । अन्नपूर्ण म्याराथन–२०८२ को पाँचौँ संस्करण यही जेठ २० गते हुने भएको छ। फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर) सफलतापूर्वक आरोहण गरेको ७५औँ वर्षगाँठका अवसरमा उक्त म्याराथनलाई हीरक महोत्सवका रूपमा मनाइने भएको हो।
अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा आयोजना गर्दै आइएको उक्त म्याराथन अन्नपूर्ण आधार शिविर (४१३० मिटर) बाट सुरु भई माछापुच्छ्रे आधार शिविर, देउराली, दोभान, बम्बो, छोम्रोङ, किम्रोङखोला, उरी हुँदै घान्द्रुकस्थित मेश्राम वराह माविको खेलमैदानमा सम्पन्न हुने आज पोखरामा समितिद्वारा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ।
म्याराथनको दूरी ४२.१९५ किलोमिटर रहेको र यस म्याराथनलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने लक्ष्यसहित अल्टिमेट एडभेन्चर नेपालले प्राविधिक व्यवस्थापन गर्ने समितिको अध्यक्ष एवं म्याराथनका संयोजक ललित गुरुङले जानकारी दिए। म्याराथनमा पुरुष र महिलातर्फ छुट्टाछुट्टै प्रतिस्पर्धा हुने छ। हालसम्म १० विदेशी धावकसहित ६० जनाले नाम दर्ता गराइसकेको जनाइएको छ। दर्ता शुल्क महिला तथा पुरुष दुवैका लागि रु सात हजार तोकिएको छ। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने धावकले क्रमशः रु एक लाख ५० हजार, रु एक लाख र रु ७५ हजार पुरस्कार प्राप्त गर्नेछन्।
यसपटक म्याराथनमा थप विशेष पुरस्कार पनि घोषणा गरिएको छ। अन्नपूर्ण गाउँपालिकाभित्रको स्थायी ठेगाना भएका सहभागीमध्ये प्रथम हुने धावकलाई विशेष पुरस्कार प्रदान गरिने छभने गण्डकी प्रदेशका धावकमध्ये प्रथम हुनेले पनि विशेष पुरस्कार पाउने छन्। महिलातर्फ लगातार तीनपटक म्याराथनमा सहभागिता जनाउने धावकलाई प्रोत्साहनस्वरूप विशेष पुरस्कार दिइने आयोजकले जानकारी दिएको छ। अन्तरराष्ट्रिय धावकका लागि छुट्टै प्रोत्साहन पुरस्कार प्रदान गरिने जनाइएको छ। महिला र पुरुष दुवै समूहमा विदेशी सहभागीमध्ये प्रथम हुनेलाई विशेष पुरस्कार प्रदान गरिने छ। यसैगरी ७५औँ अन्नपूर्ण आरोहण दिवसका अवसरमा म्याराथनमा ७५औँ स्थान हासिल गर्ने धावकलाई ‘डायमण्ड जुभिली अवार्ड’ दिइने जानकारी पत्रकार सम्मेलनमा गराइयो।
म्याराथनकै अवसरमा ‘अन्नपूर्ण पत्रकारिता पुरस्कार–२०८२’ प्रदान गरिने छ। कार्यक्रम सम्पन्न गर्न करिब रु ३८ लाख लाग्ने अनुमान गरिएको छ। अन्नपूर्ण गाउँपालिका, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, एक्याप, गण्डकी प्रदेश खेलकुद परिषद्, विभिन्न पर्यटन समिति तथा निजी क्षेत्रका संघसंस्थाबाट सहयोग जुटाइने बताइएको छ। कार्यक्रम व्यवस्थापनका लागि ५०१ सदस्यीय मूल समिति र १३ वटा उपसमिति गठन गरिएको छ। हालसम्म ९० प्रतिशत तयारी पूरा भइसकेको संयोजक गुरुङले जानकारी दिए।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू