
पाल्पा । पाल्पा रामपुरका दिलबहादुर थापा र लालबहादुर थापाले यसपटक काँक्रोखेतीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । काँक्रोबाट छोटो समयमा नसोचेको आम्दानी भएपछि उनीहरु उत्साहित बनेका छन् ।
काममा निरन्तरको मेहेनत र व्यवसायमा आउने उतारचढावमा धैर्य गर्न सकियो भने राम्रै आयआर्जन गर्न सकिन्छ भन्ने थापा दाजुभाइले उदाहरण प्रस्तुत गरेका छन् । करिब दुई रोपनी क्षेत्रमा लगाइएको कर्मा जातको काँक्रोका स्वादले ग्राहकको मन जित्न सफल भएको छ । बिरुवा लगाएको दुई महिनाभित्र करिब रु दुई लाख ५० हजार बढी आम्दानी भएपछि व्यवसायमा थप हौसला बढेको दिलबहादुरले बताए ।
गत वैशाख ९ गते लगाएको बिरुवाले हालसम्म उत्पादन लेखाजोखा गर्दा चार हजार किलोभन्दा बढी काँक्रो बिक्री गरेको उनीहरु बताउँछन् । जेठ–असारमा रामपुर क्षेत्रमा काँक्रोको माग राम्रो खपत हुने भएकाले यहीँ समयलाई मध्यनजर गर्दै खेती गरिएको उनीहरुको भनाइ छ ।
दिलबहादुरले भने, ‘यसपटक काँक्रो उत्पादन धेरै राम्रो भयो, बजारमा सजिलैसँग बिक्री भएको छ, व्यापारबाट हामी सन्तुष्ट बनेका छौँ, मेहेनत गरियो भने उत्पादन राम्रो हुने रहेछ भन्ने अनुभव पाएका छौँ, स्थानीय बजारमै राम्रो खपत भइरहेको छ, हालको बजारमा चलेको बिक्री मूल्य पाउँदा हामी खुसी छौँ ।’
बिरुवा लगाएको ३५ दिनबाट उत्पादन बिक्री गर्न थालेको लालबहादुरले जानकारी दिए । प्रतिकिलो रु ७० का दरले धमाधम काँक्रो बिक्री गरेर राम्रो आम्दानी भित्रिएको उनी बताउँछन् । उनले भने, ‘दिनहुँ काँक्रो टिप्ने बिक्री गर्दैमा दुई जनालाई भ्याइनभ्याईजस्तै हुन्थ्यो, बजार नपाएर समस्या होला भन्ने पिरलो छैन, उत्पादन गर्न सकियो भने स्थानीय बजारमा नै बिक्री भइरहन्छ, यहाँको बजारको मागअनुसार अझै पनि पुर्याउन सकिएको अवस्था छैन ।’ वैदेशिक रोजगारीबाट फर्केर कृषि व्यवसायमा आबद्ध थापा दाजुभाइले जग्गा भाडामा लिएर खेती गरिरहेका छन् । रामपुर नगरपालिका–४ स्थित देवीस्थानमा इँटाभट्टा उत्पादन गरेर छाडिएको पत्थरिलो जग्गालाई खेतीयोग्य जमिनमा परिणत गराएर थापा दाजुभाइले तरकारीखेती सुरु गरेका हुन् । सो पत्थरीलो जग्गामा ‘हाम्रो आधुनिक कृषिफार्म’को नाममा फामै दर्ता गरेर युवाले हराभरा तरकारी फलाएको देख्दा यहाँका स्थानीयवासी दङ्ग छन् ।
थापा दाजुभाइको व्यवसाय अवलोकन तथा तरकारी लगाउने नयाँ प्रविधि, बीउबिजन, बजारीकरणलगायतका ज्ञान सीप सिक्न जानेको चहलपहल हुन थालेको छ । व्यापारी तथा ग्राहक पनि फार्ममै पुगेर तरकारी खरिद गर्ने गर्छन् । युवाले सुरु गरेको यो फार्म हिजोआज कृषि सिकाइ केन्द्रजस्तै बनेको छ । उनीहरूको व्यवसायको सिको गर्दै कृषि व्यवसायमा युवाको आकर्षण बढेको छ । समयअनुसार व्यवसाय गर्न सकियो भने बजारको समस्या नपर्ने व्यवसायीको अनुभव छ । रामतुलसी नमूना माध्यमिक विद्यालय रामपुरमा अध्ययनरत कृषि बाली विज्ञान विषयका विद्यार्थी पनि बेलाबेलामा आफ्नो विषयसँग सम्बन्धित शिक्षणका लागि यहाँ आएर प्रयोगात्मक सिकाई आर्जन गरिरहेका हुन्छन् ।












समाचार
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह
प्रधानमन्त्रीसँग छलफल सकेर फर्कंदा सिंहदरबारबाटै पक्राउ परे किस्पाङ गाउँपालिका अध्यक्ष
एटीएमबाट अब १०० रुपैयाँका नोट पनि निकाल्न पाइने, राष्ट्र बैंकले बैंकहरूलाई दियो निर्देशन
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति
कृष्णभीरको सडक सञ्चालनमा आएपछि ग्यास सहज हुन्छ : आयल निगम
सेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार साढे ४ अर्ब माथि