
गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका–४ दिगामका कृषकले व्यावसायिक उखुखेती गरेर राम्रो आम्दानी लिइरहेका छन् । सिंचाइका अभावमा बाँझिएका बारीहरुमा यतिबेला उखु खेतीले ढपक्कै बनेका छन् । छत्रकोट –४, दिगामका कृषक रामकृष्ण न्यौपानेलाई यतिबेला त्यही उखुबाट निस्किएको रसबाट गुड र खुदो उत्पादन गरेर बिक्री गर्न भ्याइनभ्याई छ । बिहान उज्यालो हुनासाथ बेलुकी अबेरसम्म पनि उनको परिवार गुड र खुदो उत्पादन गर्नमा ब्यस्त देखिन्छन् ।
गुड र खुदो बिक्री गरेर पाँच महिनाका अवधिमा न्यौपानेले झण्डै एक करोड रुपैयाँको कारोबार गरिसकेका छन् । गाउँबाट धेरै युवाहरु रोजगारीको खोजीमा भौतारी रहेको अबस्थामा छत्रकोट–४, दिगामका युवाहरु रामकृष्ण न्यौपाने, किरण न्यौपाने, जगदीश पाण्डे यतिबेला गाउँमै उखु खेतीमा रमाइरहेका हुन् । उनीहरु तीनै जनाले संयुक्त रुपमा एक करोडको योजना बनाएर आफ्नै लगानीमा गाउँमै तीन वर्षदेखि व्यावसायिक तरिकाबाट उखु उत्पादन गरेर उद्योग स्थापना गरेका छन् । त्यही उद्योगबाट यतिबेला गुड र खुदो उत्पादन गर्दै आएका छन् ।
उखुको रसबाट बनेको गुड र खुदो बिक्री गरेर तीन जना युवाहरु आर्थिक समृद्धिको खोजीमा जुटन थालेका हुन् । उनीहरुले तीन सय रोपनी जग्गा भाडमा लिएर उखुखेती गर्न शुरु गरेका हुन् । गाउँमै उखु उद्योग स्थापना गरेर उनीहरुले उखुको रसलाई विविधिकरण गर्दै आएका छन् । आधुनिक मेशिनबाट पेलीएको उखुको रसलाई प्रशोधन गरि गुड र खुदोको ब्रान्डिङ् गरिएको छ । उनीहरुले कम्पनी मार्फत गाउँका एक सय २५ भन्दा बढी किसानहरुको उखु खरिद गरेर खुदो र गुड उत्पादन गर्दै आएका छन् ।
कृषि ज्ञान केन्द्र गुल्मीले न्यौपालेलाई उखु प्रशोधनका लागि आधुनिक मेशिन र भट्टी निर्माणका लागि ६ लाख ४५ हजार अनुदान रकम उपलब्ध गराएको छ । उक्त अनुदान रकममा थप गरेर उहाँहरुले १२ लाख भन्दा बढी लगानिमा उखु प्रशोधनका लागि मेशिन जडान गरेका छन् । उक्त मेशिनबाट प्रति घण्टा २५ क्वीण्टल उखु पेल्न सक्ने क्षमता रहेको उद्योगका सञ्चालक रामकृष्ण न्यौपानेले बताए । कम्पनीमा उखुको रस प्रशोधन गरेर दैनिक खुदो र गुड बनाउने काम भइरहेकोे छ । यसरी बनाएको गुड प्रतिकिलो तीन सय रुपैयाँ र खुदो प्रतिलिटर एक सय ८० रुपैयाँ मूल्य पर्दछ ।
गाउँले ग्रुपको उद्योगमा हाल १५ जना व्यक्तिहरु प्रत्यक्ष रुपमा रोजगारीमा जोडिएका छन । गाउँमै उखुबाट समृद्धि खोज्न थालेका न्यौपानेले कम्पनी मार्फत पाँच महिनाको अबधिमा एक करोड मूल्य भन्दा बढीको गुड र खुदो बिक्री भइसकेको बताए । उनले भने, ‘बजारमा दिगामको गुड र खुदोको माग धेरै आउने गरेको छ, राम्रो गुणस्तरको भएरहोला उपभोक्ताहरुले पनि खोजी खोजी लैजाने गर्नुहुन्छ, कहिलेकाहीँ काग धेरै भएको समयमा हामीलाई मागल पुराउन पनि धौधौ पर्दछ छ ।’
कृषि ज्ञानकेन्द्र गुल्मीका बरिष्ट बालि संरक्षण अधिकृत प्रकाश मरासिनीले अनुसार यस वर्ष जिल्लामा पाँच करोड ७० लाख बराबरको गुडखुदो बिक्री भइसकेको बताए । जसअनुसार जिल्ला भित्र दुई करोड बराबरको खपत भएको छ भने तीन करोड ७० लाखको गुडखुदो बाहिर निर्यात भएको बताइएको छ । जिल्लाको छत्रकोट र रुरुक्षेत्रमा एक सय ९६ हेक्टर क्षेत्रफलमा कृषकहरुले उखु खेती गर्दै आएका छन् । जिल्लामा यस वर्ष पाँच सय ९४ मेट्रिकटन भन्दा धेरै गुड र खुदो उत्पादन भएको छ । रुरुक्षेत्र र छत्रकोटमा कुल छ सय २५ घरधुरीका कृषकहरु व्यावसायिक रुपमा उखु खेतीमा जोडिएका छन् ।













समाचार
अन्तर्राष्ट्रिय हवाई भाडा कम गर्न माग
देशका विभिन्न भागमा सडकमा यातायात प्रभावित, कुन कुन राजमार्गमा रोक ?
गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित
विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्बिर बन्यो उत्कृष्ट
प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना
व्यावसायिक कफी खेतीमा रमाउँदै ‘देवीराम’
साउनको अन्तिम सोमबारः बोलबम यात्रा गर्न भक्तजन सुन्दरीजलमा
मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर