
पाल्पा । पाल्पामा नसर्ने रोगबाट प्रभावितको सङ्ख्या उच्च देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१÷८२ मा नसर्ने रोगमध्ये मधुमेह र उच्च रक्तचापको समस्याबाट प्रभावितको सङ्ख्या सबैभन्दा धेरै छ ।
स्वास्थ्य कार्यालयले यहाँका १० वटै पालिकामा ३० वर्षभन्दा माथि उमेर समूहका १३ हजार ५३६ जनामा स्क्रिनिङ्ग गरेको थियो । जसमा ७५ प्रतिशत सामान्य रहेकोमा २५ प्रतिशतमा मधुमेहको समस्या, १४ दशमलव ५ प्रतिशतमा सामान्य तौल भएको, २ दशमलव ७ प्रतिशतमा कम तौल भएको, ३४ दशमलव ३ प्रतिशतमा बढी तौल भएका र ४८ दशमलव ५ प्रतिशतमा मोटोपन भएको पाइएको कार्यालयका वरिष्ठ क्षय कुष्ठ रोग फोकल पर्सन विश्वनाथ न्यौपानेले बताए । उनका अनुसार उच्च रक्तचापको अवस्थामा २२ प्रतिशत सामान्य रहेको र ७८ प्रतिशतमा सुरुवाती चरणदेखि उच्च अवस्थामा पुगेको पाइएको छ ।
सबैभन्दा बढी मधुमेहका बिरामी बगनासकाली गाउँपालिकामा देखिएका छन् । फरक–फरक उमेर समूहमा परीक्षण गर्दा कडा प्रकृतिको मधुमेह सबैभन्दा बढी यहाँ ८ प्रतिशत भेटिएको कार्यालयको तथ्याङ्कमा छ । सबैभन्दा कम पूर्वखोला गाउँपालिकामा ३ दशमलव ३ प्रतिशत बिरामी रहेका छन् । यस्तै रम्भा गाउँपालिकामा ७ दशमलव ५ प्रतिशत, माथागढी गाउँपालिकामा ६ दशमलव ६ प्रतिशत, रामपुर नगरपालिकामा ६ दशमलव ३ प्रतिशत, रिब्दीकोट गाउँपालिकामा ४ दशमलव ८ प्रतिशत, रैनादेवी गाउँपालिका र तानसेन नगरपालिकामा ४ दशमलव ७ प्रतिशत, निस्दी र तिनाउ गाउँपालिकामा ३ दशमलव ५ प्रतिशतमा कडा प्रकृतिको मधुमेह भेटिइएको फोकल पर्सन न्यौपानेले बताए । उनका अनुसार सबै भन्दा बढी उच्च रक्तचापका बिरामी पनि बगनासकाली गाउँपालिकामै देखिएका छन् । यहाँ ८५ प्रतिशत बिरामीमा उच्च रक्तचाप देखिएको न्यौपानेको भनाइ छ ।
नसर्ने प्रकृतिका रोगहरू बढ्दै गएको स्वास्थ्य कार्यालयका प्रमुख टुकप्रसाद पोखरेलले बताए । नागरिकले जीवनशैली, खानपानजस्ता कुरामा ध्यान केन्द्रित नगर्दा नसर्ने रोगको जोखिम बढ्दै गएको उनको भनाइ छ । यस्ता रोग नियन्त्रणका लागि कार्यालयको सीमित स्रोत र साधनको प्रयोग गरी सचेतना, परीक्षणका कार्यक्रम गर्दै आएको प्रमुख पोखरेलले बताए ।
प्रदेश सरकारले पनि नसर्ने रोग बढ्दै गएपछि सबै जिल्लामा परीक्षणको दायरा बढाउँदै सचेतनाका कार्यक्रमलाई अगाडि बढाएको छ । स्वास्थ्य सबैभन्दा महत्त्वपूर्ण र संवेदनशील क्षेत्र भएकाले त्यसलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गर्दै आएको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले बताए । उनले भने “हामी भाषणमा नभई तथ्याङ्कमा आधारित रहेर स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने दिशामा लागिरहेका छौँ, केही जिल्लामा नसर्ने रोगको जोखिम बढ्दो छ, हामी त्यसलाई रोक्ने प्रयास गरिरहेका छौँ ।” सार्वजनिक तथ्याङ्कको रिपोर्टलाई आधार बनाएर पालिकाले स्वास्थ्य क्षेत्रमा नीति नियम तथा कार्यक्रम बजेटमा ध्यान दिए मात्र प्रदेश सरकारले गरेको लगानी उपयोगी हुने स्वास्थ्य मन्त्री सारुले बताए ।












समाचार
नाइमा एक्स्पोमा आधा करोडसम्मका एडभेन्चर बाइक, कुन-कुन ब्राण्डले कति मूल्यका दुई पाङ्ग्रे ल्याए?
रासायनिक मलको माग उच्च, आपूर्ति कम
कृषि र वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गरिनेछ : मन्त्री चौधरी
बजारमा ग्यासको अभाव हटाउन सरकारलाई राष्ट्रिय सभा अध्यक्षको रुलिङ
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे
बहुप्रतिक्षित नयाँ टाटा पञ्च ईभी नेपालभर एकैपटक भव्यताका साथ सार्वजनिक
नाइमा एक्स्पोमा दुई दिनमै ५५ हजारले गरे भ्रमण, बुकिङ पनि उच्च
काठमाडौं उपत्यकामा २० लाखभन्दा बढी सवारीको ट्राफिक व्यवस्थापन हातको ईशारा र सिठ्ठीका भरमा भइरहेको छ : ट्राफिक प्रमुख
नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकममा गिरावट
नौ वर्षपछि ओखलढुंगा-रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै