
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खण्डकाले सिँचाई र ऊर्जाको एकीकृत प्रयोगले समृद्धि हासिल गर्न सकिने बताएका छन् । मंगलबार कैलालीको लम्कीमा आयोजित रानी जमरा कुलरिया सिँचाइ आयोजनाको उद्घाटन समारोहमा सम्बोधन गर्दै मन्त्री खड्काले यस्तो बताएका हुन् ।
‘आज हामी सिर्जनात्मक परिश्रम, दीर्घकालीन योजना र साझा प्रतिवद्धताको साक्षी भइरहेका छौं । सिँचाइ र ऊर्जाको समन्वयले किसानको जीवनस्तरमा ल्याएको परिवर्तनले यो आयोजना राष्ट्रिय गौरवको योजनाका रूपमा स्थापित भएको छ,’ उनले भने । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा १४ हजार ३०० हेक्टर खेतीयोग्य जमिनमा वर्षैभरि सिँचाइ सेवा र ४.७१ मेगावाट क्षमताको जलविद्युत उत्पादन गर्ने संरचनाको औपचारिक उद्घाटन गरिएको हो । सुदूरपश्चिम प्रदेशको लम्की क्षेत्रमा सम्पन्न यस आयोजनाले कृषिमा आत्मनिर्भरता र ग्रामीण समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
मन्त्री खड्काले रानी जमरा कुलरिया आयोजना केवल सिँचाइको भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित नरही समग्र कृषक समुदायको जीवनशैली परिवर्तन गर्ने दृष्टिकोणसहित अगाडि बढाइएको परियोजना भएको स्पष्ट पारे । उनले आयोजनाको कार्यान्वयनले जमिन मात्र हरियाली बनाउने नभई किसानको मनमा पनि आशा पलाएको बताए । उनले हाल मधेश प्रदेशका केही क्षेत्रहरूमा देखिएको जलस्रोतको संकटसँग तुलना गर्दै रानी जमरा क्षेत्रका किसानहरूले वर्षैभरि भरपर्दो सिँचाइ सेवा पाएका कारण समस्याबाट उन्मुक्ति पाएको उदाहरण प्रस्तुत गरे । जलवायु परिवर्तनका कारण असमय वर्षा वा सुख्खाको चुनौतीबीच पनि कृषक समुदायको उत्पादनमा निरन्तरता कायम राख्न यस्तो पूर्वाधारले सघाउने उनको धारणा थियो ।
मन्त्री खड्काले नेपाल सरकारले जलस्रोत व्यवस्थापनलाई वैज्ञानिक रूपमा लैजान थालेको उल्लेख गर्दै भूमिगत जल, तालतलैया, नदी–नालाहरूको समुचित व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याए । उनले भेरी–बबई, सुनकोशी–मरिण जस्ता जल पथान्तरण आयोजनाहरूको सन्दर्भ उठाउँदै आगामी दिन जलाशययुक्त बहुउपयोगी सिँचाइ आयोजना नै विकल्प भएको प्रष्ट पारे । यसै सन्दर्भमा उनले हालै भ्रमण गरेको महाकाली सिँचाइ आयोजनाको अनुभव साझा गर्दै टनकपुर ब्यारेजबाट पानी नछाडिँदा आयोजना प्रभावित भएकोप्रति चिन्ता व्यक्त गरे । त्यसतर्फ सरकारले कूटनीतिक पहल गर्ने विश्वास व्यक्त गर्दै, सुदूरपश्चिमका ठूला सिँचाइ आयोजनाहरूलाई प्राथमिकतामा राखेर सरकार अघि बढिरहेको जानकारी गराए । रानी जमरा कुलरिया सिँचाइ प्रणाली नेपालको पश्चिम तराई क्षेत्रको ऐतिहासिक र सामाजिक सम्पदा भएको उल्लेख गर्दै मन्त्री खड्काले झण्डै १२० वर्षअघि स्थानीय किसानले बनाएको परम्परागत कुलो प्रणालीको पुनर्निर्माण र आधुनिकीकरण गरी वर्तमान अवस्थामा पुर्याइएको बताए ।
आर्थिक वर्ष २०६६/६७ मा विश्व बैंकको सहयोगमा बहुआयामिक सुधार कार्यक्रमका रूपमा सुरु गरिएको यो आयोजना अहिले दोस्रो चरण सम्पन्न गर्दै तेस्रो चरणतर्फ उन्मुख भएको छ । आयोजनाबाट उत्पादन भएको ४.७१ मेगावाट विद्युत् प्रयोगको मोडालिटीबारे मन्त्रालयस्तरमा गृहकार्य भइरहेको जनाउँदै उनले निकट भविष्यमै सरकारले यससम्बन्धी उपयुक्त निर्णय लिने जानकारी दिए । साथै बाँकी रहेको थप २४ हजार २०० हेक्टर क्षेत्रफलमा सिँचाइ विस्तार गरी समग्रमा ३८ हजार ३०० हेक्टर जमिनमा सेवा पुर्याउने लक्ष्य रहेको बताउँदै, त्यसका लागि आवश्यक संरचनाको निर्माण र प्रविधियुक्त व्यवस्थापनमा जोड दिइने पनि स्पष्ट पारे ।
आयोजना सफल बनाउन योगदान पु¥याउने सम्पूर्ण पक्षहरूप्रति आभार प्रकट गर्दै मन्त्री खड्काले किसान समुदाय, प्राविधिक टोली, निर्माण व्यवसायी, परामर्शदाता, स्थानीय सरकार र राष्ट्रसेवक कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गरे । उनले यो आयोजना सिँचाइ व्यवस्थापनको नमूना बन्ने विश्वास व्यक्त गर्दै उपभोक्ता समूहहरूसँगको सहकार्यमा यसको दीगो सञ्चालन हुने आशा व्यक्त गरे । उनले रानी जमरा गुलरिया आयोजना समृद्ध नेपाल निर्माणमा एउटा उज्यालो उदाहरणका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे ।












समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि