
म्याग्दी । बेनी नगरपालिका–२ मा रहेको कोप्रे झरना गर्मी छल्ने थलोका रूपमा विकास भएको छ । गर्मीयाममा शीतलताको खोजी गर्दै बेनीका बासिन्दा कोप्रे झरनामा पुग्न थालेका हुन् । केही वर्ष अघिसम्म गुमनाम कोप्रे झरना पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । बेनी बजारबाट दुई किलोमिटर पश्चिममा म्याग्दी नदी किनार र अग्लो पहाडको फेदीमा कोप्रे झरना अवस्थित छ । सार्वजनिक बिदाका दिन बेनीका युवायुवती, किशोरकिशोरीदेखि प्रौढहरू कोप्रे झरनामा पुगेर रमाउने गर्छन् ।
शान्त र एकान्त वातावरणमा छङछङ गर्दै झर्ने झरनाको फेदीमा बसेर रमाइलो महसुस गर्न पाइने कोप्रे झरना घुम्न गएकी बेनीकी प्रिती छन्त्यालले अनुभव सुनाइन् । “व्यस्त दैनिकी र सहरको कोलाहलबाट टाढा भएर प्रकृतिसँग रमाउँदा आनन्द महसुस भयो”, उनले भनिन्, “बेनीको उखरमाउलो गर्मी छल्न कोप्रे झरना उपयुक्त सहारा बनेको छ ।” हिउँदमा सानो हुने कोप्रे झरना बर्खामा ठुलो हुने गर्छ । भिर तथा पहराको सहारा लिएर लडीबुडी खेल्दै खस्ने झरना हेर्दा निकै मनमोहक, आकर्षक र सुन्दर देखिन्छ । करिब एक सय ५० मिटर अग्लो झरनाको फेदीबाट नजिकै अवलोकन गर्न सकिन्छ । घाम लागेको समयमा इन्द्रेणी पार्ने यस झरनाले पर्यटकलाई खुब लोभ्याइरहन्छ । पहाडको टुप्पोबाट जमिनतिर एकनासले खसिरहने झरनाको चिसो पानीमा भिज्न पाउँदा निकै आनन्द हुने बेनीका आनन्द पुनले बताए । कोप्रे झरनामा भिडियो र तस्बिर खिचेर सामाजिक सञ्जालमा टिकटक, रिल्स र स्टोरी बनाउने गर्छन् ।
बर्खायाममा कोप्रे झरनामा दिनभरजसो चहलपहल हुने बेनी नगरपालिका–२ का बासिन्दा नारायणबहादुर कार्कीले बताए । कार्कीले झरना परिसरमा व्यक्तिगत लगानीमा चौतारी बनाएर बर र पिललको रुख रोप्नुभएको छ। बेनी नगरपालिकाले रु दुई लाख ५० हजार खर्चेर आश्रयस्थल, पार्किङस्थल र बस्नका लागि फलामको बेन्च राखेको छ । थप पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा रु दुई लाख विनियोजन गरेको नगरप्रमुख सुरत केसीले बताए ।
गण्डकी प्रदेश सरकारमार्फत बेनीको हाडेभिरबाट बगरफाँट कोप्रे झरनाको नजिकै दूधेखोला हुँदै भकिम्ली जोड्ने सडक स्तरोन्नतिको क्रममा छ । सडक सहज र थप पूर्वाधारका साथै प्रचारप्रसार गरी कोप्रे झरनालाई बर्खायामको गन्तव्य बनाउन जोड दिएको नगरप्रमुख केसीले बताए ।













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना