
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आफ्नो २६औँ साधारण सभा तथा नयाँ नेतृत्व चयनका लागि निर्वाचनको मिति तय गरेको छ। महासंघको सचिवालयले प्रकाशित गरेको सूचना अनुसार आगामी २०८२ साल माघ १५, १६ र १७ गते काठमाडौँमा महासंघको ठूलो भेला र निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ।
विधानको व्यवस्था बमोजिम हुन लागेको यस कार्यक्रममा देशभरका प्रदेश महासंघ, जिल्ला संघ, एशोसिएट सदस्य र वस्तुगत संघका प्रतिनिधिहरूको सहभागिता रहनेछ। साधारण सभामा सहभागी हुने प्रतिनिधिहरूको नामावली पुस २९ गतेभित्र महासंघको सचिवालयमा बुझाइसक्नुपर्नेछ।
विधानले तोके अनुसार प्रत्येक प्रदेशबाट अध्यक्षसहित १५ जना र जिल्ला संघहरूबाट सदस्य संख्याका आधारमा प्रतिनिधिहरू चयन हुनेछन्। ५० जनासम्म सदस्य भएका जिल्लाले ३ जना प्रतिनिधि पठाउन पाउनेछन् भने सोभन्दा बढी सदस्य भएका जिल्लाले थप प्रतिनिधि पठाउन सक्नेछन्। समावेशितालाई ध्यानमा राख्दै पाँच वा सोभन्दा बढी प्रतिनिधि पठाउने जिल्लाले कम्तीमा एक जना महिला प्रतिनिधि अनिवार्य पठाउनुपर्ने नियम बनाइएको छ।
प्रतिनिधि हुनका लागि योग्यता समेत तोकिएको छ। साधारण सभाको प्रतिनिधि बन्न निर्माण व्यवसाय इजाजत पत्र प्राप्त गरेको १० वर्ष पुगेको र सम्बन्धित फर्ममा कम्तीमा ५ वर्ष अविछिन्न काम गरेको प्राकृतिक व्यक्ति हुनुपर्नेछ। पिछडिएको क्षेत्रका हकमा भने ५ वर्षको अनुभव भए पुग्नेछ। प्रतिनिधि बन्न चाहनेले आफ्नो फर्मको नवीकरण, जिल्ला प्रशासनको अद्यावधिक पत्र र कार्यसमितिको निर्णय सहितका कागजात पेस गर्नुपर्नेछ।
महासंघले साधारण सभामा सहभागी हुने मुख्य प्रतिनिधि, प्रतिनिधि र पर्यवेक्षकका लागि प्रतिव्यक्ति ३ हजार रुपैयाँ दर्ता शुल्क तोकेको छ। सभामा सहभागी हुन सबै सदस्य संघहरूले चालु आर्थिक वर्ष २०८२/८३ सम्मको सदस्यता नवीकरण गरेको हुनुपर्ने अनिवार्य सर्त छ। महासंघले यस कार्यक्रमलाई भव्य बनाउन र समयमै प्रतिनिधि छनोट गरी विवरण पठाउन मातहतका सबै निकायलाई आग्रह गरेको छ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम