
गुल्मी । रुरुक्षेत्र गाउँपालिका–१ रिडीका रवि पन्तको दैनिकी अचेल फेरिएको छ । देशमा लगानीको वातावरण नभएको भन्दै धेरैजसो युवा विदेश पलायन भइरहँदा रवि भने बिहान–बेलुका दूध सङ्कलन र दिउँसो परिकार बनाउनमै व्यस्त हुन्छन् । ६ वर्ष दक्षिण कोरियामा पसिना बगाएर फर्किएका उनी अहिले आफ्नै गाउँको दुग्ध व्यवसायमा रमाइरहेका छन् ।
रिडीमा ‘गौरव दूध डेरी’ सञ्चालन गरेका रविले दूधबाट छुर्पी, पनिर, दही, कुराउनी र घ्यूलगायतका परिकार बनाएर बेच्छन् । उनको डेरीमा दैनिक औसत एक हजार १०० लिटर दूध जम्मा हुन्छ । यसमध्ये ८० प्रतिशत दूध छत्रकोट गाउँपालिकाबाट आउँछ भने बाँकी सत्यवती र तानसेनबाट सङ्कलन गरिन्छ । दूध खरिद गरेबापत उनले किसानलाई दैनिक ७५ देखि ८० हजार रुपैयाँ भुक्तानी दिन्छन् । यस हिसाबले उनले मासिक करिब २१ लाख रुपैयाँ गाउँका किसानको हातमा पुर्याउँछन् ।
रविले सङ्कलन गरेको दूध र दुग्धजन्य उत्पादन स्थानीय बजारमा मात्र सीमित छैन । यहाँका उत्पादन पाल्पा, बागलुङ, स्याङ्जा, बुटवलदेखि काठमाडौँसम्म पुग्छन् । गत वर्ष मात्र उनले बुटवलको दुग्ध विकास संस्थानलाई ८४ हजार लिटर दूध बिक्री गरेका थिए । रिडी धार्मिक क्षेत्र र घाटसमेत भएकाले यहाँ दहीको खपत उच्च छ । गर्मीयाममा दैनिक २५० लिटरसम्म दही बिक्री हुने गरेको उनले बताए । साथै, उनले वार्षिक चार हजार लिटर घ्यू उत्पादन गरी प्रतिलिटर १ हजार ३०० रुपैयाँमा बेच्दै आएका छन् ।
पछिल्लो दुई वर्षयता उनले छुर्पी उत्पादनलाई पनि प्राथमिकता दिएका छन् । यो वर्ष १५ क्विन्टल छुर्पी उत्पादन गर्ने लक्ष्य राखेका रविले थोकमा प्रतिकिलो १ हजार र फुटकरमा १ हजार ३०० रुपैयाँमा बिक्री गर्छन् । चाडपर्वमा कुराउनीको माग पनि उच्च हुने गरेको छ ।
सन् २००९ देखि २०१४ सम्म कोरियामा बस्दा रविले समुद्रमा माछा मार्ने काम गरे । त्यतिबेला मासिक ३ लाख रुपैयाँ कमाइ हुन्थ्यो । कोरियामा छँदा मिर्मिको जलविद्युत् ड्याममा माछा पाल्ने योजना बुनेका उनले नेपाल आएपछि भने बाटो मोडे । रिडीमा धार्मिक पर्यटकको आउजाउ बाक्लो हुने देखेर उनले डेरी खोलेका हुन् ।
कोरिया जानुअघि काठमाडौँमा ९ वर्ष होटल चलाएको अनुभव संगालेका रवि अहिलेको पेसाबाट पूर्ण सन्तुष्ट छन् । ‘विदेशमा जति नै पैसा कमाए पनि आफ्नो स्वाभिमान हुँदैन,’ रवि भन्छन्, ‘स्वदेशमा थोरै कमाए पनि आत्मसम्मान र सन्तुष्टि मिल्छ ।’ कोरियामा कमाएको पुँजी सही ठाउँमा सदुपयोग भएकोमा उनी खुसी छन् ।













समाचार
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै
धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन
एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो
इंग्ल्यान्डका अलराउन्डर जैब सुदूरपश्चिम रोयल्समा
तीन सातादेखि तातोपानी नाका अवरुद्ध, नेपाल–चीन व्यापार ठप्प
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति
क्यानडा पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ
आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता
बीवाइडीको ‘अपडेट टु कियर प्लस’ योजना सार्वजनिक, पाँच नयाँ सेवासहित सर्भिस सेन्टरको संख्या १९ पुर्याउने
टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द