
काठमाडौं । सोपान फर्मास्यूटिकल्स लिमिटेडले बैशाख ३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज (बैशाख ८ गते) अन्तिम दिन रहेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने ४ लाख २९ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यस्तै, कम्पनीले १ लाख ७१ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि र २ लाख १४ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकेको छ।
अब भने कम्पनीले दोस्रो चरणमा बाँकी रहेको ३४ करोड ७४ लाख ९० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३४ लाख ७४ हजार ९०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो। कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ११ हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ। कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ८.११ वर्ष रहेको छ भने डिस्काउण्ट लगानी फिर्ता हुने अवधि ११.३५ वर्ष रहेको छ। कम्पनीको खुद वर्तमान मूल्य १५ अर्ब ९७ करोड ५९ लाख ३९ हजार २५७ रुपैयाँ रहेको छ भने आन्तरिक प्रतिफल दर २३.६३ प्रतिशत रहेको छ।













समाचार
सुपर मादी हाईड्रोपावरको नाफामा २७७ प्रतिशतको वृद्धि, ईपीएस सहित अन्य सूचक कस्ता ?
सरकारले विद्युत् महसुल समयानुकूल बनाउन पुनरवलोकन प्रक्रिया अघि बढायो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन
भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
भगवती हाइड्रोपावरको करिब ५८ लाख कित्ता सेयरको लकइन अवधि सकिंदै
सन नेपालको बोनस र हकप्रद सेयरमध्येको ३ लाख ७७ हजार कित्ता सेयरको लकइन अवधि सकिदै
प्रतिनिधिसभाको बैठक बस्दै, के के छन् कार्यसूची
गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने तयारी, धितोपत्र बोर्ड–एनआरएनबीच छलफल