नेपालीमूलका रानाभाट दम्पती लन्डनको स्थानीय तहमा निर्वाचित

बेलायत । लन्डन रोयल ग्रीनबीच बरोको ‘प्लमस्टेड एन्ड ग्लिन्डन’मा नेपालीमूलका पूर्वमेयर जित रानाभाट काउन्सिलर निर्वाचित भएका छन् । त्यस्तै, उनकी पत्नी गौमाया गुरुङ सोही बरोको एबिउड वार्डमा काउन्सिलर निर्वाचित भएकी छन् । यसअघि सोही बरोको मेयर तथा उपमेयरको जिम्मवारी पूरा गरेका रानाभाट एक हजार ६ सय १० मत प्राप्त गरी काउन्सिलर पदमा निर्वाचित भएका थिए । प्लमस्टेड एन्ड ग्लिन्डनमा तीन वटै सिट लेबर पार्टीले जितेको छ । लेबरका टमी अहेदो, अडेल खैरा पनि काउन्सिल निर्वाचित भएका छन् ।

रानाभाट पत्नी गौमाया पहिलोपटक काउन्सिलर निर्वाचित भएकी हुन् । उनले एक हजार २ सय ९२ मत प्राप्त गरिन् । एबिउडमा पनि तीनवटै सिट लेबरले जितेको छ । रानाभाट दम्पती दुवै लेबर पार्टीबाट चुनावी मैदानमा होमिएका थिए । उता, अल्डरसटका रश्मोर बरोअन्तर्गत म्यानोर पार्क वार्डमा जीवनारायण बेल्वासे निर्वाचित भएका छन् । कञ्जरभेटिभ पार्टीका उम्मेदवार बेल्वासे ८ सय ९१ मत प्राप्त गर्दै दोस्रो पटक काउन्सिलर निर्वाचित भएका हुन् । सोही बरोको वेलिङटन वार्डमा पूर्वगोर्खा उत्तरबहादुर गुरुङ ५५१ मतसहित काउन्सिलर निर्वाचित भएका छन् ।

त्यसैगरी, रेडिङ बरोको ब्याटल वार्डमा लेबर पार्टीबाट एक हजार १ सय ८० मतसहित निर्वाचित प्रतिक्षा गुरुङ रेडिङ बरोमै नेपाली मूलबाट निर्वाचित हुने पहिलो काउन्सिलर बनेकी छन् । कन्जरभेटिभ पार्टीका उम्मेदवार लक्ष्य गुरुङ लन्डन बरो अफ बार्नेटको एड्जवेरवरी वार्डबाट तेस्रो पटक काउन्सिलर पदमा निर्वाचित भएका हुन् । उनले एक हजार ९ सय ५१ मत प्राप्त गरेका छन् । बेलायतमा बिहीबार सम्पन्न निर्वाचनमा करिब डेढ दर्जन नेपाली मूलका उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।

यो निर्वाचनमा बेलायतको सत्तारुढ दल लेबर पार्टीलाई ठूलो झड्का लागेको छ । बेलायतको समयअनुसार शुक्रबार मध्यरातिसम्म प्राप्त नतिजाअनुसार कूल १ सय ३६ काउन्सिलमध्ये १ सय ३१ को नतिजा प्राप्त हुदाँसम्म नाइजल फराज नेतृत्वको रिफर्म युकेले सबैभन्दाबढी एक हजार ४ सय ४३ काउन्सिलर सिट जितेको छ ।

दोस्रो स्थानमा रहेको सत्तारुढ लेबरले ९ सय ५९ र तेस्रो स्थानको लिब्डेमले ८ सय ३४, कन्जरभेटिभले ७ सय ७३, ग्रीनपार्टीले ५ सय ११ तथा अन्यले २ सय ४४ काउन्सिलर पद जितेका छन् । सत्तारुढ पार्टीले यसअघिको तुलनामा करिब एक हजार ३ सय ९५ सिट गुमाएको हो । अधिकांश सिट फराज नेतृत्वको रिर्फमले कब्जा गरेको छ । उसले अघिल्लो चुनावको तुलनामा एक हजार ४ सय ४१ बढी सिट जितेको हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार