
झापा । भद्रपुरस्थित ऐतिहासिक मेची रङ्गशालामा रात्रिकालीन खेलकुद गतिविधि सञ्चालन गर्न फ्लडलाइट (उच्च क्षमताको प्रकाश प्रणाली) जडान कार्य अघि बढाइएको छ ।
कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा रु तीन करोड ५० लाख बजेट विनियोजन गरेसँगै यो प्रक्रियाले गति लिएको हो । झापाकै सबैभन्दा पुरानो खेलकुद मैदानका रूपमा परिचित मेची रङ्गशालामा २०७९ सालयता दुईवटा अन्तरराष्ट्रिय टोलीसहितका फुटबल प्रतियोगिता र वार्षिक रूपमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुँदै आएका छन् । फ्लडलाइट जडान परियोजनालाई मूर्तरूप दिन कोशी प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, भद्रपुर नगरपालिका र झापा जिल्ला खेलकुद विकास समितिबीच त्रिपक्षीय सम्झौता भएको हो ।
सम्झौतापत्रमा मन्त्रालयका तर्फबाट प्रदेश सचिव पुष्करप्रसाद पोखरेल, भद्रपुर नगरपालिकाका तर्फबाट नगरप्रमुख गणेश पोखरेल र खेलकुद विकास समितिका तर्फबाट कार्यालय प्रमुख विष्णुकुमार नेम्वाङले हस्ताक्षर गरेका छन् । खेलकुद गतिविधिले सधैँ गुञ्जायमान रहने मेची रङ्गशालालाई अत्याधुनिक र प्रविधियुक्त बनाउने लक्ष्यअनुरूप फ्लडलाइट जडान प्रक्रिया सुरु गरिएको भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले बताए ।
“खेलकुद गतिविधिका लागि व्यस्त रहँदै आएको मेची रङ्गशालालाई आधुनिकीकरण र प्रविधियुक्त बनाउने लक्ष्यअनुरूप फ्लडलाइट जडानको प्रक्रिया सुरु गरिएको हो”, नगरप्रमुख पोखरेलले भने, “यो काम सम्पन्न भएपछि भद्रपुरमा रात्रिकालीन खेलकुद प्रतियोगिताहरू सञ्चालनमा सहजता हुनेछ ।”
पछिल्लो समय भद्रपुरमा अन्तरराष्ट्रियस्तरका फुटबल तथा क्रिकेट प्रतियोगिताहरू बाक्लै रूपमा आयोजना हुन थालेका छन् । जसमध्ये ‘भद्रपुर गोल्डकप’ र ‘महिला गोल्डकप’ फुटबल प्रतियोगिता निकै चर्चित छ । फ्लडलाइट जडानका लागि भएको त्रिपक्षीय सम्झौताअनुसार प्रदेश सरकारले बजेट उपलब्ध गराउनेछ भने खेलकुद विकास समितिले जग्गा दिनेछ । भद्रपुर नगरपालिकाले फ्लडलाइट प्रणाली जडानका लागि नेपाल विद्युत् प्राधिकरणबाट विद्युत्को मिटर ल्याउने र विद्युत् शुल्क व्यहोर्ने कुरा सम्झौतामा उल्लेख छ ।
फ्लडलाइट प्रणाली जडानकार्य पूर्ण रूपमा सम्पन्न भएपछि यसलाई औपचारिक रूपमा झापा जिल्ला खेलकुद विकास समितिलाई हस्तान्तरण गरिने सम्झौतामा उल्लेख छ ।













समाचार
नेपाल नेत्रज्योति सङ्घद्वारा कम्बोडियामा पहिलो पटक निःशुल्क आँखा शिविर : एक हजारभन्दा बढी लाभान्वित
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र
प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै
नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण
विश्वकप फुटबल : अमेरिका पराजित गर्दै बेल्जियम क्वाटरफाइनलमा
मल्टीपर्पस फाइनान्सको साढे ३० हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र
रुख कटानको निर्णय नहुँदा चितवनमा कृष्णसार ल्याउन ढिलाइ