
हुम्ला । हुम्लाको दक्षिणी क्षेत्रस्थित चङ्खेली गाउँपालिका–५ नेप्का गाउँ नजिकको मुस्याँडा खोलामा स्थानीयवासीले श्रमदानमार्फत काठे पुल निर्माण गरेका छन्। सम्बन्धित निकायसँग पटकपटक झोलुङ्गे पुल निर्माणको माग गर्दा पनि सुनुवाइ नभएपछि गाउँले आफैं जुटेर पुल निर्माण गरेका हुन्।
नेप्का गाउँबाट करिब दुई घण्टाको दूरीमा रहेको मुस्याँडा खोलामा तीन दिनको श्रमदानपछि काठे पुल निर्माण सम्पन्न भएको स्थानीय जसबहादुर तामाङले जानकारी दिए। उनका अनुसार पुल निर्माणपछि शनिबारदेखि स्थानीयले सहज रूपमा आवतजावत गर्न थालेका छन्।
उक्त खोलामा पुल नहुँदा स्थानीयवासीले ज्यान जोखिममा राखेर वारपार गर्नुपर्ने बाध्यता थियो। साथै, चीनसँग जोडिएको व्यापारिक नाका टाँकेनाका पुग्न र आवश्यक सामग्री ओसारपसार गर्नसमेत कठिनाइ हुने गरेको स्थानीयको भनाइ छ।
‘टाँकेनाका नेपाल–चीन व्यापारिक नाका हो। पुल नहुँदा त्यहाँसम्म पुग्न निकै समस्या थियो,’ तामाङले भने। उनले गाउँपालिकासँग पटकपटक झोलुङ्गे पुल निर्माणका लागि आग्रह गरे पनि कुनै पहल नभएको बताए।
स्थानीयवासीका अनुसार वनजङ्गल, घाँसदाउरा र पशुचौपाय चरन क्षेत्र खोलापारि रहेकाले पुल अभावले दैनिक जीवन प्रभावित हुँदै आएको थियो। फलामे वा पक्की पुल निर्माणको अपेक्षा वर्षौंदेखि गरिए पनि सम्बन्धित निकायबाट आवश्यक पहल नहुँदा स्थानीय आफैं श्रमदानमा जुट्न बाध्य भएका हुन्।
पुल निर्माणका क्रममा गाउँलेले काठ बोकेर, डोरी तानेर तथा अन्य आवश्यक काममा श्रमदान गरेका थिए। विकासका आश्वासन धेरै सुनिए पनि पुल निर्माणका लागि बजेट सुनिश्चित हुन नसकेपछि स्थानीयको एकता र सक्रियताले काठे पुल निर्माण सम्भव भएको उनीहरूको भनाइ छ।
स्थानीयवासीले दीर्घकालीन समाधानका लागि मुस्याँडा खोलामा झोलुङ्गे वा पक्की पुल निर्माण गर्न सम्बन्धित निकायसँग पुनः माग गरेका छन्।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि