काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चर २०८२ आगामी असार ३ गतेपछि परिपक्व हुने भएको छ। १०.५ प्रतिशत वार्षिक ब्याजदर रहेको उक्त ७ वर्षे अवधिको ऋणपत्र २०७६ सालमा निष्कासन गरिएको थियो।
बैंकले २०७६ असार ४ गते २० लाख कित्ता डिबेञ्चर बाँडफाँट गरेको थियो। दोस्रो बजारमा कारोबारका लागि यो ऋणपत्र २०७६ भदौ १६ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको थियो। परिपक्वता अवधि पूरा भएपछि उक्त ऋणपत्र स्वतः निष्क्रिय हुने भएकाले नेप्सेले यसलाई सूचीकृत सूचीबाट खारेज गर्नेछ।
हालसम्म लगानीकर्ताले त्रैमासिक रूपमा १०.५ प्रतिशतका दरले ब्याज प्राप्त गर्दै आएका छन्। परिपक्वतापछि भने उनीहरूले लगानी गरेको मूलधन (साँवा) र परिपक्वता मितिसम्मको संचित ब्याजसमेत फिर्ता पाउनेछन्।
ऋणपत्रमा लगानी गरेका लगानीकर्तालाई तोकिएको प्रक्रिया अनुसार रकम भुक्तानी गरिने बैंकले जनाएको छ। परिपक्वता नजिकिँदै जाँदा सम्बन्धित लगानीकर्ताहरूले आफ्नो विवरण अद्यावधिक राख्न र भुक्तानी सम्बन्धी सूचनामा ध्यान दिन आग्रह गरिएको छ।