आजदेखि फिफा विश्वकप सुरु तीन देशमा उद्घाटन, नेपालमा ‘हिमालय स्पोर्ट्स’ र ‘डीगो’ एपबाट हेर्न सकिने

काठमाडौं । विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित र ठूलो उपाधि ‘फिफा विश्वकप २०२६’  बिहीबार ११ जुन  मध्यरातिदेखि आधिकारिक रुपमा सुरु हुँदैछ। फुटबल इतिहासमै पहिलोपटक तीन राष्ट्रहरू—अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा यस महाकुम्भको आयोजना गर्दैछन्, जसले यस संस्करणलाई अघिल्ला सबै संस्करणभन्दा फरक र ऐतिहासिक बनाएको छ।

यसपटकको विश्वकप फुटबलका दुई सर्वकालीन महान् खेलाडी  लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोका लागि सम्भवतः अन्तिम विश्वकप हुने भएकाले भावनात्मक रुपमा निकै विशेष बनेको छ। अर्कोतर्फ, लामिन यामाल, निको पाज, निको ओरेली, जोआओ नेभेस र पाउ कुबार्सी जस्ता उदीयमान युवा स्टारहरुको डेब्युका कारण पनि यो प्रतियोगिता निकै उत्साहजनक र रोमाञ्चक हुने अनुमान गरिएको छ।

उद्घाटन समारोहको विशेषता

यस पटकको विश्वकपको उद्घाटन समारोह एउटै सहरमा मात्र सीमित रहने छैन। मेक्सिको सिटी, टोरन्टो र लस एन्जलसमा क्रमिक रूपमा आयोजना गरिने तीनवटा समारोह एउटै साझा अवधारणामा आधारित हुनेछन्। प्रमुख अन्तर्राष्ट्रिय क्रिएटिभ निर्देशक मार्को बालिचको नेतृत्वमा तयार पारिएका यी कार्यक्रमहरूले फुटबल प्रेमीहरुलाई भाषा र संस्कृतिभन्दा माथि उठेर एकतामा बाँध्ने सन्देश दिने सङ्कल्प लिएका छन्।

मेक्सिकोको उद्घाटन समारोह

मेक्सिकोको उद्घाटन समारोह जुन ११ मा ‘मेक्सिको सिटी स्टेडियम’ मा हुनेछ। यो समारोहले मेक्सिकन संस्कृति, परम्परा र कलालाई विश्वसामु प्रस्तुत गर्नेछ। आदिवासी कलाकारहरूको प्रस्तुति, लोकनृत्य तथा सांस्कृतिक कार्यक्रम समारोहका मुख्य आकर्षण हुनेछन्। संगीत क्षेत्रका अन्तर्राष्ट्रिय तथा ल्याटिन अमेरिकी स्टारहरू जस्तै शाकिरा, बर्न ब्वाय, जे बाल्भिन, टाइला, अलेजान्द्रो फर्नान्डेज, बेलिन्डा, ड्यानी ओसन, लिला डाउन्स, लस एन्जेल्स अजुलेस र माना देखिन सक्ने अपेक्षा छ। उद्घाटन समारोहपछि, मेक्सिकोले दक्षिण अफ्रिकासँग पहिलो खेल खेल्नेछ।

क्यानाडाको उद्घाटन समारोह

जुन १२ मा टोरन्टोमा क्यानाडाको उद्घाटन समारोह आयोजना हुनेछ। यो क्यानाडाका लागि विशेष अवसर हो, किनभने क्यानेडियन टोलीले पहिलोपटक आफ्नै भूमिमा विश्वकप खेल्दैछ। समारोहको मुख्य विषय ‘फ्रम कोस्ट टु कोस्ट टु कोस्ट’ रहनेछ, जसले देशको पूर्वदेखि पश्चिम र उत्तरसम्मको यात्रालाई चित्रण गर्नेछ। क्यानाडाको बहु-सांस्कृतिक समाज, विभिन्न समुदाय र राष्ट्रिय पहिचानलाई संगीत तथा दृश्य मार्फत प्रस्तुत गरिनेछ। समारोहमा अलानिस मेरिसेट, अलेसिया कारा, माइकल बुब्ले, जेसी रेयेज, नोरा फतेही, एलियाना सन्जोय, भेगेड्रिम र विलियम प्रिन्स लगायतका कलाकारहरूले प्रस्तुति दिने अपेक्षा गरिएको छ। समारोहपछि, क्यानाडाले बोस्निया एन्ड हर्जगोभिनासँग खेल्दै घरेलु विश्वकप अभियान सुरु गर्नेछ।

अमेरिकाको उद्घाटन समारोह

अमेरिकाको उद्घाटन समारोह पनि जुन १२ मा लस एन्जलसमा आयोजना हुनेछ। यो कार्यक्रमले अत्याधुनिक प्रविधि र अन्तर्राष्ट्रिय संगीतको बेजोड प्रस्तुति पस्कनेछ। समारोहमा केटी पेरी, फ्युचर, अनिट्टा, लिसा, रेमा र टाइला जस्ता विश्वप्रसिद्ध कलाकारहरूले प्रस्तुति दिने सम्भावना छ। समारोहपछि, अमेरिकाले पाराग्वेसँग खेल्दै घरेलु विश्वकप अभियान सुरु गर्नेछ।

उद्घाटन खेलहरूमा को-को खेल्दैछन् र कुन कुन खेलाडीलाई हेर्ने?

मेक्सिको सिटीमा हुने उद्घाटन समारोहलगत्तै प्रतियोगिताको पहिलो खेलमा मेक्सिको र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ। मेक्सिकोका कप्तान एड्सन अल्भारेज र प्रिमियर लिग स्टार राहुल जिमेनेज टोलीका मुख्य मेरुदण्ड हुन्। डिफेन्समा जोहान भास्क्वेज र छैटौं विश्वकप खेल्दै इतिहास रच्न लागेका दिग्गज गोलकिपर मेमो ओचोआको अनुभव महत्त्वपूर्ण हुनेछ। साथै, १७ वर्षीय युवा प्रतिभा गिल्बर्टो मोराको जादुमयी ‘क्रिएटिभिटी’ यसपटक मेक्सिकोको मुख्य आकर्षण रहनेछ।

क्यानडाले टोरन्टोमा बोस्निया एन्ड हर्जगोभिना विरुद्ध खेल्नेछ, जुन क्यानेडाली पुरुष राष्ट्रिय टोलीको लागि आफ्नो गृहभूमि (आफ्नै देश) मा खेलिने पहिलो विश्वकप खेल हुने भएकाले एउटा ऐतिहासिक कोसेढुङ्गा साबित हुनेछ।

लस एन्जलसमा हुने उद्घाटन समारोहे पछि अमेरिकाले आफ्नो पहिलो खेलमा पाराग्वेको सामना गर्नेछ।

नेपालमा विश्वकप हेर्ने तरिका

नेपालमा यस पटकको विश्वकप ‘हिमालय स्पोर्ट्स’ च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ। डिजिटलतर्फ ‘डीगो’ (DGO) एप मार्फत खेलहरूको लाइभ स्ट्रिमिङ हुनेछ। नेपालका लागि फिफाले एक्सक्लुसिभ प्रसारण अधिकार दिएका कारण अन्य विदेशी टेलिभिजन र स्ट्रिमिङ एपले नेपालभित्र खेलहरू प्रसारण गर्न पाउने छैनन्। नेपाली दर्शकहरुले तोकिएको शुल्क भुक्तानी गरेपछि मात्र विश्वकपका सबै खेलहरु हेर्न पाउनेछन्।

शुल्क र प्याकेजहरू

  • टिभी प्याकेज: करसहित ९९९ रूपैयाँ शुल्क तोकिएको छ।

  • मोबाइल प्याकेज: करसहित ५४९ रूपैयाँ तोकिएको छ।

  • मोबाइल र ल्यापटप प्याकेज: मोबाइल र ल्यापटप दुवैमा हेर्नका लागि पनि ९९९ रूपैयाँ शुल्क तिरे पुग्नेछ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार