
म्याग्दी । जिल्लाको बेनी नगरपालिका-२ खबराको केराखेतीमा देखिएको समस्या पहिचान गर्न प्राविधिक टोलीले नमुना संकलन गरेका छन् ।पसाउने बेलामा केराका टुप्पाको पात पहेँलो हुने र जरामा कालो भएर मर्ने समस्या देखिएपछि उक्त समस्या पहिचान गर्न गण्डकी प्रदेशको कृषि प्रयोगशाला, कृषि अनुसन्धान परिषद् (नार्क), जिल्ला कृषि विकास कार्यालय र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाको प्राविधिक टोलीले आज केरा बगैँचाको निरीक्षण गरेका हुन् ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख सञ्जीव बास्तोलाले खबराको केराखेतीमा देखिएको समस्या पहिचान गर्न प्राविधिक टोलीले नमुना सङ्कलन गरेर प्रयोगशालामा लगेको जानकारी दिए । ‘समस्या देखिएका बगैँचाको निरीक्षण, किसानसँग अन्तरक्रिया गर्नुका साथै गुमा, थाम, पात, जराको भागको नमुना संकलन गरेर प्रयोगशालामा पठाएका छौँ’, उनले भने, ‘प्रयोगशालाको प्रतिवेदनको आधारमा रोग पहिचान गरि नियन्त्रणको प्रयास गरिनेछ ।’
प्रदेश कृषि प्रयोगशालाका बाली संरक्षण अधिकृत सन्तोष अधिकारी र कृषि अनुसन्धान परिषद्का प्राविधिक अधिकृत सुजाता केसीले समस्या देखिएका बगैँचाबाट बोटबिरुवा अन्यत्र लैजान र कृषि औजारलाई अन्यत्र प्रयोग गर्दा सरसफाइ गर्न किसानहरूलाई आग्रह गरे।
एक सय २० परिवार रहेको खबराका १०० भन्दाबढी कृषकले व्यावसायिक केराखेती गर्दै आएका छन् । केराखेती खबराको मुख्य आयस्रोत हो । अगुवा किसान सोवित शर्माले पसाउने समयमा टुप्पोमा पात पहेँलो हुने र गाना कालो भएर बोट सुक्ने समस्या बढेपछि किसान चिन्तित बनेका बताए।
सबैजसो बगैँचामा केराको गुभो (बोटको भित्रीभाग) कुहिने र बोट सुक्ने समस्या देखिएको किसान कृष्ण सापकोटाले बताए। खबरामा ७०० रोपनी क्षेत्रफलमा केराखेती विस्तार भएकामा १५ प्रतिशत बगैँचामा समस्या देखिएको जनाउँदै करिब ३० प्रतिशत उत्पादन घटेको किसान दीपक सापकोटाले जानकारी दिए।
केराखेतीबाट मासिक न्यूनतम १२ हजारदेखि ५० हजारभन्दा बढी आम्दानी किसानले गर्दै आएका छन् । घरव्यवहार चलाउन र छोराछोरी पढाउन केराखेतीको आम्दानीले सहयोग पुगको छ । विसं २०५८ मा मानबहादुर थापाले काठमाडौँबाट भित्र्याएका केरा खबरामा मात्रै नभएर म्याग्दी, पर्वत र बाग्लुङमा पनि फैलिएको छ । बेनी नगरपालिकाले खबरालाई केराको पकेट क्षेत्र बनाउने उद्देश्यले तीन वर्षअघि बिरुवा वितरण गरेको थियो ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि