एभरेष्ट बैंकको नाफा ५ अर्ब ७ करोड, वितरणयोग्य मुनाफा कति ? 

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको नाफामा सामान्य सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष (आव) को चौथो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार अघिल्लो आवको भन्दा नाफा केही बढेको हो ।

गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अवधिमा बैंकले ५ अर्ब ७ करोड रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको भन्दा ४.७५ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ४ अर्ब ८४ करोड रुपैयाँ रहेको थियो ।  समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९ अर्ब १९ करोड ४ लाख रुपैयाँ पुगेको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षको अन्तिमसम्ममा ९ अर्ब १० करोड २३ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा बैंकको खुद फी तथा कमिशन आम्दानी १ अर्ब ९४ करोड ७२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी १ अर्ब ५३ करोड ५ लाख रुपैयाँ थियो । बैंकको कुल सञ्चालन आम्दानी ६.२१ प्रतिशतले बढेर ११ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ११ अर्ब १७ करोड ६ लाख रुपैयाँ थियो ।

बैंकको सञ्चालन मुनाफा ७ अर्ब ३८ करोड ४४ लाख रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य मुनाफा भने समीक्षा अवधिमा ४ अर्ब ५ करोड ४८ लाख रुपैयाँबाट १२.९८ प्रतिशतले बढेर ४ अर्ब ५८ करोड १० लाख रुपैयाँ नाघेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ३७.३९ रुपैयाँबाट सामान्य घटेर ३६.९५ रुपैयाँमा झरेको छ भने प्रतिसेयर नेटवर्थ २५६.४७ रुपैयाँ कायम भएको छ । बैंकको खराब कर्जा (एनपीएल) ०.३८ प्रतिशतबाट सामान्य बढेर ०.४९ प्रतिशत पुगेको छ । बैंकको आधार दर ५.३६ प्रतिशतबाट घटेर ४.२५ प्रतिशत कायम भएको छ ।

१३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको रिजर्भ कोषमा १५ अर्ब ७२ करोड ७८ लाख रुपैयाँ सञ्चिति रहेको छ । कर्जा लगानी २ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँबाट २ खर्ब ३५ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ भने निक्षेप संकलन २ खर्ब ९८ अर्ब ८१ करोड रुपैयाँबाट ३ खर्ब १६ अर्ब १ करोड रुपैयाँ नाघेको छ ।

फेसबुक प्रतिक्रिया