
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सवार ‘मरिन वन’ सैन्य हेलिकप्टर वासिङ्टनमाथिको उडानका क्रममा एउटा व्यावसायिक यात्रुवाहक विमानसँग अत्यन्त नजिक पुगेको हुन सक्ने घटनाको अमेरिकी अधिकारीहरूले छानबिन सुरु गरेका छन् । यद्यपि ह्वाइट हाउसले राष्ट्रपति ट्रम्प कुनै पनि बेला जोखिममा नरहेको स्पष्ट पारेको छ ।
न्युयोर्क टाइम्सले घटनाबारे जानकारी भएका दुई स्रोतलाई उद्धृत गर्दै मङ्गलबार हवाई यातायात नियन्त्रणसँगको सञ्चारमा समस्या आएपछि ‘मरिन वन’ र यात्रुवाहक विमानबीचको दूरी एक माइलभन्दा कम भएको जनाएको थियो ।
अमेरिकाको राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटिएसबी) ले अगस्ट ४ मा ‘मरिन वन’ र वासिङ्टन राष्ट्रिय विमानस्थलबाट उडेको व्यावसायिक विमानबीच आवश्यक दूरी कायम नरहेको हुन सक्ने घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
ह्वाइट हाउसका प्रवक्ता कुश देसाईले ‘मरिन वन’ विश्वकै उत्कृष्ट सैन्य चालकद्वारा सञ्चालन हुने हेलिकप्टर भएको उल्लेख गर्दै उडानका कुनै पनि चरणमा राष्ट्रपति ट्रम्पको सुरक्षामा खतरा नपरेको बताउनुभयो ।
अमेरिकी उड्डयन नियामक सङ्घीय उड्डयन प्रशासन (एफएए) ले पनि हवाई यातायात नियन्त्रक दुवै उडानका चालकसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ । घटनाको विस्तृत समीक्षा जारी रहेको र आवश्यक देखिए सुधारात्मक कदम चालिने एफएएले जनाएको छ ।
वाल स्ट्रिट जर्नलका अनुसार यस्ता अवस्थामा कम्तीमा १.५ माइल तेर्सो दूरी र ५०० फिट ठाडो दूरी कायम हुनुपर्ने सुरक्षा मापदण्ड रहेको छ । सोही पत्रिकाले घटना स्थानीय समयअनुसार दिउँसो करिब २ः३० बजे भएको र अमेरिकन एयरलाइन्सको सहायक कम्पनी एन्भोय एयरले सञ्चालन गरेको एम्ब्रेयर ई–१७० विमान त्यसबेला उडानमा रहेको जनाएको छ ।
घटनाका बेला ‘मरिन वन’ एन्ड्र्युज वायुसेना अड्डातर्फ गइरहेको थियो । त्यहाँबाट राष्ट्रपति ट्रम्प क्यालिफोर्निया जान राष्ट्रपतिको विशेष विमानमा चढ्ने कार्यक्रम थियो ।
अमेरिकन एयरलाइन्स र ‘मरिन वन’ सञ्चालन गर्ने अमेरिकी मरीन कोर्प्सले घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् ।
वासिङ्टन राष्ट्रिय विमानस्थल आसपासको हवाई सुरक्षा पछिल्लो समय विशेष निगरानीमा छ । सन् २०२५ को जनवरीमा सोही क्षेत्रमा यात्रुवाहक विमान र अमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टर ठोक्किँदा ६७ जनाको मृत्यु भएको थियो । त्यस घटनापछि एफएएले विमानस्थल वरपरका हवाई सुरक्षा मापदण्ड थप कडा बनाएको थियो ।












समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम