सवारी आयातमा व्यवसायी ‘खरायो’, पूर्वाधार निर्माणमा सरकार ‘कछुवा’ : व्यवसायी थापा

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अप नेपालका पूर्वअध्यक्ष ध्रुव थापाले नेपालमा सवारी साधनको आयात तीव्र गतिमा भइरहे पनि सडक तथा यातायात पूर्वाधार निर्माणको गति भने सुस्त रहेको बताएका छन्।

हिमालय अर्गनाइजेसनका अध्यक्ष थापाले बुधबार ‘नाइमा मोबिलिटी संवाद’ कार्यक्रममा सवारी साधनको संख्या बढ्नु भन्दा पनि त्यसअनुसार सडक, पार्किङ, ट्राफिक व्यवस्थापनलगायत पूर्वाधार विकास गर्न नसक्नु मुख्य चुनौती भएको बताए। ‘हामी सवारी साधन भित्र्याउन खरायोको गतिमा हिँडे पनि सरकार पूर्वाधार व्यवस्थापनमा कछुवाको गतिमा हिँडिरहेको छ,’ उनले भने।

थापाले व्यवसायीको उद्देश्य गाडी बिक्री गर्नु मात्रै नभई सवारीसाधन क्षेत्रको विकाससँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्नु पनि भएको भन्दै सडकमा सुरक्षित यात्रा गर्न गुणस्तरीय सडक पूर्वाधार र प्रभावकारी ट्राफिक व्यवस्थापनको आवश्यकता औंल्याए।

उनले ट्राफिक व्यवस्थापन सुधारका लागि प्रभावकारी जरिवाना प्रणाली र कडाइ साथ नियम कार्यान्वयन गर्नुपर्नेमा जोड दिंदै यातायातसम्बन्धी नीति तथा कानुन निर्माण गर्दा सम्बन्धित व्यवसायी, विज्ञ र सरोकारवालासँग पर्याप्त छलफल गर्नुपर्ने बताए।

थापाले काठमाडौंमा पार्किङको समस्या गम्भीर बन्दै गएको भन्दै सवारी साधनको बढ्दो संख्यालाई ध्यानमा राखेर व्यवस्थित पार्किङ पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए।

उनले विशेषगरी विद्युतीय सवारी साधन (इभी)को आयात बढिरहेको अवस्थामा त्यसअनुसार आवश्यक पूर्वाधार निर्माण, नीति, नियम तथा स्पष्ट मापदण्ड बनाउन सरकारको ध्यानाकर्षण गराए। ‘इभी आयात भइरहेका छन्। तर, त्यसअनुसार आवश्यक पूर्वाधार, नीति नियम र स्पष्ट मापदण्ड निर्माणमा पनि सरकारले ध्यान दिनुपर्छ,’ थापाले भने।

फेसबुक प्रतिक्रिया

ताजा अपडेट