सागर डिष्टिलरीको नोक्सानी करिब ६ करोड नजिक, अन्य सूचक कस्ता ?

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडको नोक्सानी बढेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा गत आवमा नोक्सानी बढेको हो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनी ५ करोड ७२ लाख रुपैयाँ नोक्सानीमा रहेको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीको यस्तो नोक्सानी ३ करोड ५३ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको बिक्री वितरण खर्च र वित्तीय खर्च बढेका कारण खुद नोक्सानी बढ्न पुगेको हो ।

कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ४७ करोड ६३ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १४५.४८ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी १९ करोड ४० लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको खुद बिक्री आम्दानी १४७.७२ प्रतिशत बढेर २० करोड ९८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको कुल नाफा समीक्षा अवधिमा ९५.७९ प्रतिशत बढेको छ। गत असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८९ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ ९६ पैसा रहेको छ । ७२ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी १४ करोड ४९ लाख रुपैयाँ रहेको छ ।

फेसबुक प्रतिक्रिया