
काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज मनाइँदै छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।
यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिएअनुरूप हाँस्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जन श्रुति पाइन्छ ।
गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायम छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भएपनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ ।
गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेको शहरमा धुमधामका साथ मनाइन्छ । यस अवसरमा हाँस्य कलाकारले पनि विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन् । यस अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने गरेकामा यस वर्ष भने शनिबारको सार्वजनिक बिदाकै दिनमा यो पर्व परेको छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम