गिलको दोहोरो शतक, रोहितको शतकमा भारतको कीर्तिमानी जित

काठमाडौं । कप्तान शुभमन गिलको शानदार दोहोरो शतक र रोहित शर्माको शतकको मद्दतमा भारतले दोस्रो एकदिवसिय क्रिकेटमा कीर्तिमानी जित निकालेको छ । भारतले वेस्ट इन्डिजसँगको दोस्रो एकदिवसिय खेलमा ४०६ रनको कीर्तिमानी लक्ष्य २ विकेट गुमाएर पुरा गरेको हो ।

बुधबार गुवाहाटीमा भएको खेलमा भारतले ४३.३ ओभरमा २ विकेट मात्र गुमाएर लक्ष्य पूरा गर्‍यो । गिल र रोहित मिलेर पहिलो विकेटका लागि २५५ रनको ठोस साझेदारी गरेका थिए । गिल १३३ बलमा २२३ रन बनाएर अविजित रहे । रोहितले १०१ रन बनाए । रुतुराज गायक्वाडले अविजित ३१ रन बनाए भने विराट कोहलीले २९ रन बनाए ।

यस अघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले ५० ओभरमा ७ विकेट गुमाएर ४०५ रनको विशाल योगफल खडा गरेको थियो । वेस्ट इन्डिजका तीन खेलाडिले शतक प्रहार गरे । ओपनर जोन क्याम्पबेल, कप्तान शाइ होप र अमिर जाङ्गोले शतक बनाएका हुन् । क्याम्पबेलले ६८ बलमा ९ चौका र ५ छक्कासहित १०१ रन बनाए । होपले ९४ बलमा १०४ तथा जाङ्गोले ७७ बलमा ११४ रन बनाए । रस्टन चेस २९ रनमा अविजित रहे ।

भारतका लागि गुर्नुर ब्रार, रविन्द्र जडेजा र कुलदीप यादवले २–२ विकेट लिँदा प्रसिध कृष्णाले १ विकेट लिए । यसअघि भारतको सर्वाधिक सफल रन चेज सन् २०१३ मा अस्ट्रेलियाविरुद्ध पूरा गरेको ३६० रनको लक्ष्य रहेको थियो । जुन लक्ष्यलाई बुधबार भारलते तोडेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट