एनपीएलको छलाङ: आईसीसीको मान्यताले साख बढाउने, विदेशी खेलाडी भित्र्याउन सहज

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक स्वीकृति पाएसँगै नेपाली फ्रेन्चाइज क्रिकेटको अन्तर्राष्ट्रिय विश्वसनीयता र व्यावसायिक विकासको बाटो थप फराकिलो भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आईसीसीको सर्तअनुसार विदेशी खेलाडीको सहभागिता, भ्रष्टाचार नियन्त्रण र प्रतियोगिताको सञ्चालनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप व्यवस्थित गरिनेछ ।

क्यानले शनिबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पत्रकार सम्मेलन गर्दै एनपीएलले आईसीसीको आधिकारिक स्वीकृति प्राप्त गरेको जानकारी दिएको हो । क्यानका सचिव पारस खड्काले यसबाट प्रतियोगिताको गरिमा र विश्वसनीयता अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सहयोग पुग्ने बताए ।

आईसीसीको स्वीकृतिले एनपीएललाई विदेशी खेलाडी, फ्रेन्चाइज, प्रायोजक र अन्तर्राष्ट्रिय क्रिकेट क्षेत्रमाझ स्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रतियोगिता सञ्चालन हुँदा खेलको निष्पक्षता, खेलाडीको योग्यता र प्रतियोगिताको व्यवस्थापनप्रति विश्वास बढ्न सक्छ । यसले नेपाली खेलाडीलाई विदेशी खेलाडीसँग एउटै टोलीमा खेलेर अनुभव, सीप र व्यावसायिक दक्षता बढाउने अवसरसमेत दिन्छ ।

तर आईसीसीको स्वीकृति पाउनु र एनपीएलले आधिकारिक टी–२० प्रतियोगिताको मान्यता प्राप्त गर्नु एउटै विषय भने होइन । क्यानका अनुसार एनपीएलको आधिकारिक टी–२० स्ट्याटसबारे आईसीसीसँग पत्राचार भइसकेको छ र त्यससम्बन्धी प्राविधिक स्पष्टता आउन बाँकी छ ।

आईसीसीको प्रावधानअनुसार एनपीएलमा सहभागी हुने विदेशी खेलाडीले सम्बन्धित राष्ट्रिय क्रिकेट बोर्डबाट अनिवार्य रूपमा नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिनुपर्नेछ । प्रतियोगिता सुरु हुनुभन्दा अघिल्लो ६ महिनाको अवधिमा गैरकानुनी वा अस्वीकृत क्रिकेट प्रतियोगिता खेलेका खेलाडी एनपीएलमा सहभागी हुन योग्य नहुने व्यवस्था पनि लागू हुने क्यानले जनाएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका विदेशी खेलाडीले समेत आफ्नो घरेलु बोर्डसँग समन्वय गरी आवश्यक एनओसी लिनुपर्नेछ । यसले विदेशी खेलाडी छनोटलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।

फिक्सिङ रोक्न अन्तर्राष्ट्रिय निगरानी
फ्रेन्चाइज क्रिकेटमा म्याच फिक्सिङ र स्पट फिक्सिङको जोखिम रहने भएकाले एनपीएलमा आईसीसीको एन्टी–करप्सन युनिट (एसीयू) सम्बन्धी नियम कडाइका साथ लागू गरिने क्यानले जनाएको छ ।

नेपालमा यससम्बन्धी छुट्टै कानुन निर्माणको प्रक्रिया अघि बढिरहेको भए पनि प्रतियोगिता अवधिमा आईसीसीको आचारसंहिताअनुसार अनुसन्धान र कारबाहीको व्यवस्था रहने बताइएको छ । यसले खेलाडी, टिम मालिक र अन्य सरोकारवालालाई थप जिम्मेवार बनाउन सक्छ ।

एनपीएलमा डिसिजन रिभ्यु सिस्टम (डीआरएस) लागू गर्ने प्रक्रिया पनि अन्तिम चरणमा पुगेको क्यानको भनाइ छ । सचिव खड्काका अनुसार यसबारे दुईदेखि तीन दिनभित्र आधिकारिक निर्णय सार्वजनिक गर्ने तयारी छ ।

खेलाडी व्यवस्थापनतर्फ प्रत्येक फ्रेन्चाइजले बढीमा आठ विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछ । तर खेलका क्रममा प्लेइङ–११ मा सात नेपाली र चार विदेशी खेलाडी अनिवार्य रहनेछन् । यसले विदेशी खेलाडीबाट अनुभव लिने अवसरसँगै नेपाली खेलाडीको सहभागिता सुनिश्चित गर्नेछ ।

यसैबीच, क्यानले आगामी नोभेम्बर १९ देखि २१ सम्म काठमाडौंमा आईसीसी एसिया सम्मेलन आयोजना गर्ने जनाएको छ । सम्मेलनमा एसियाका टेस्ट तथा एसोसिएट राष्ट्रका अध्यक्ष, सचिव र प्रमुख कार्यकारी अधिकृत सहभागी हुनेछन् । सम्मेलनका क्रममा विदेशी प्रतिनिधिलाई एनपीएलको फाइनल खेल अवलोकन गराएर नेपाली क्रिकेट र नेपालको आतिथ्य अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने क्यानको योजना छ ।

आईसीसीको स्वीकृतिले एनपीएलका लागि अन्तर्राष्ट्रिय अवसरको ढोका खोले पनि त्यसलाई दीर्घकालीन उपलब्धिमा बदल्न प्रतियोगिताको गुणस्तर, पारदर्शिता, खेलाडी उत्पादन र व्यावसायिक व्यवस्थापनमा निरन्तर सुधार आवश्यक हुनेछ । नेपाली क्रिकेटका लागि अबको चुनौती अन्तर्राष्ट्रिय स्वीकृतिलाई प्रतिष्ठा मात्र नभई खेलको स्तर र आर्थिक दिगोपन बढाउने माध्यम बनाउनु पनि हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट