
सूर्योदय नगरपालिका–१२ का रमेश गड्तौलाले यस वर्ष ५ रोपनी जग्गामा काँक्रोखेती गरे । ‘याम सकिनै लाग्यो । अन्तिम टिपाइ भइसक्यो, यसवर्ष राम्रैगरी काँक्रा बिक्री भए’, उनले भने, ‘झापाको चारआली र बिर्तामोड पुर्याउँदा कम्तीमा प्रतिगोटा ३० देखि ९० रुपैयाँसम्ममा बिक्री हुन्छ । वरपर अरू किसानबाट जम्मा गरेर पनि त्यहीँ मूल्य हामीले दियौँ ।’
काँक्रो लगाउँदा १ लाख ५० हजार रुपैयाँ खर्च भएको उनले बताए । ‘६–७ लाख रुपैयाँ आम्दानी भयो होला’, उनले भने, ‘हाम्रो गाउँमा धेरै किसानले काँक्रो लगाएका थिए । प्रायः सबैजसो किसानले कम्तीमा चार–पाँच सय काँक्रो बिक्री गरेका छन् ।’
काँक्रोबाट आम्दानी राम्रो हुने भएकाले यो क्षेत्रका धेरै किसानले हरेक वर्ष खेती गर्ने गरेको किसान गड्तौलाले बताउनुभयो । सूर्योदय–१२ कै योगेन्द्र राई र सञ्जय राईले पनि काँक्रोखेती गरेका छन् । ‘सुरुमा खडेरीले अलि सतायो, सिँचाइ कम भयो तर पनि दुई हजारजति काँक्रो फल्यो होला’, उनले भने ।
अहिले सूर्योदयका वडावडामै कच्ची भए पनि बाह्रै महिना सवारीका साधन सञ्चालन हुनसक्ने सडक भएकाले गाउँगाउँबाट किसानलाई तरकारी बिक्री गर्न धेरै सजिलो छ । उत्पादन भए पनि ढुवानी गर्न नसक्दा बारीमै कुहिने बाध्यता भने किसानलाई धेरै टरेको पाइन्छ ।
अघिल्लोपटकको स्थानीय सरकारले नै नगरका १४ वटै वडामा ‘एक वडा–एक सडक’ को नीति लिएर थालेको कम्तीमा तीन किलोमिटर कालोपत्र सडक निर्माणको काम अहिले पनि भइरहेको छ । दोस्रो कार्यकालमा आएको नगर कार्यपालिकाले पनि अघिल्ला काम र योजनालाई निरन्तरता दिइरहेको छ। सबै वडाका सडकमा अहिले पनि नाली, ग्राभेल, पर्खाल र केही ठाउँमा कालोपत्रको काम भइरहेको छ ।
अठार किलोमिटर कालोपत्रेको काम भइसकेको सूर्योदय नगरपालिकाका आर्थिक समिति संयोजक देवेन्द्र शर्मा आचार्यले बताए। यस्तै, अहिलेसम्ममा एक सय ३० किलोमिटर ग्राभेल सम्पन्न भएको संयोजक शर्माले जानकारी दिए।
बाह्मासे सडकका लागि प्रत्येक वडाले बर्सेनि कम्तीमा ५० लाख रुपैयाँ बजेट विनियोजन गर्ने गरेका छन् । आवश्यकतानुसार वडाले रु एक करोडसम्म बजेट छुट्याउने र त्यसमा नगरपालिकाले पनि थप गर्दै गएको नगरप्रमुख रणबहादुर राईले बताए ।
‘कृषिजन्य उत्पादन गाउँमा छ, त्यसलाई बजारसम्म ढुवानी गर्न बाटो छैन, आफूले उत्पादन गरेको कृषि उपज कुहिएर नाश हुँदा सर्वसाधारणले आर्थिक क्षति व्यहोर्नुपरेको छ । अब विस्तारै गाउँमा सहज यातायातको पहुँच पुग्न थालेको छ’, उनले भने, ‘यातायात र ढुवानी अभावमा अब सूर्योदयका किसानले उत्पादन गरेको कृषि उपज नोक्सान हुन पाउने छैन, किसानले सहज रूपमा बजारसम्म पुर्याउन सक्ने भएका छन्, यसमा हामीलाई गौरव छ ।’
वर्षायाम सुरु भएपछि विगत वर्षमा सडक हिलाम्मे भएर यातायात सुविधा नहुँदा यहाँका किसानले उत्पादन गरेको गोलभेँडा, इस्कुस, अकबरे, काँक्रो, बन्दालगायत कृषि उत्पादन बारीमै कुहिने गरेको थियो । सूर्योदय–१२ का मलिम, आठघरे, याङ तरकारी उत्पादनका लागि राम्रा क्षेत्र हुन् । मलिममा अहिले गोलभेँडा राम्रो रहेको र आफैँले ढुवानी सेवा दिँदै आएको अर्का किसान राम राईले बताए।
‘मलिम पुछार, बिरिङखोला नजिकसम्मै गाडी जान्छ, असारेटार, लेप्चा गाउँदेखिका गोलभेँडा र अन्य तरकारी उठाउने गरेको छु’, उनले भने, ‘यस वर्ष त कसैको तरकारी कुहिएन, सबै किसानले फलाएको तरकारी राम्ररी बिक्री गर्न पाएका छन् । हामीले यो तरकारी झापा पुर्याएर बिक्री गरेर आएर, पैसा दिने गरेका छौँ ।’ यहाँका किसानले काँक्रो, गोलभेँडा, इस्कुस, अकबरे, फर्सी, बन्दा, काउली, इस्कुसका टुप्पा, फर्सीका टुप्पालगायत तरकारी उत्पादन गरेर बिक्री गर्ने गरेका छन् ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह