
काठमाडौं । आजदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिएसँगै चढ्न आउनेको भीड लागेको छ । शुल्क निर्धारण नभएसम्मका लागि संविधान दिवसको अवसर पारेर आजदेखि निःशुल्क रुपमा खुला गरिएपछि चढ्न आउनेको भीड लागेको हो ।
विसं २०७२ सालको भूकम्पले भत्किएको धरहरा पुनःनिर्माण गरी नौ वर्षपछि खुला हुँदा पहिलो दिनमा सर्वसाधारणको भीड लागेको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । गत साता मन्त्रिपरिषद्को बैठकले संविधान दिवसको अवसर पारेर आजदेखि धरहरा अस्थायीरूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।
सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख कोषनाथ अधिकारीले प्रत्येक दिन छ सयका लागि निःशुल्क धरहरा चढ्ने व्यवस्था गरिए पनि पहिलो दिनकोे मध्यान्हमै दुई हजार पाँच सयले धरहरा चढिसकेको जानकारी दिए ।
‘अहिले एकैपटकमा करिब एक हजारले अवलोकन गरिरहनुभएको छ,’ उनले भने, ‘लाइन लामो छ, दैनिक जम्मा छ सयका लागि खुलाउने भनेका थियौँ । भीड बाक्लो भयो । तसर्थ तोकिएभन्दा बढीले धरहरा चढिसकेका छन् । अब ३ः३० बजेसम्म भित्र छिर्न दिइन्छ, ४ः३० बजे बन्द हुन्छ ।’
उनले तत्कालका लागि धरहरा चढ्न निःशुल्क व्यवस्था मिलाइएको र यो अस्थायी व्यवस्था मात्रै रहेको बताए । शुल्कको विषय टुङ्गो लाग्न बाँकी रहेको र छिट्टै टुंगो लाग्ने उनको भनाइ छ ।
सहरी विकास मन्त्रालयले धरहरा निर्माण गर्न जिआइटिसी रमन कन्स्ट्रक्सन जोइन्ट भेन्चर कम्पनीलाई ठेक्का दिएको थियो । विसं २०७२ फागुन ४ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा ‘मेरो धरहरा, मै बनाउँछु’ भन्ने अभियान सुरु गरिएको थियो । विसं २०७५ असोज १४ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट धरहरा पुनःनिर्माण सुरु गरिएको थियो । विसं २०७८ वैशाख ११ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका थिए।
धरहरा चढ्नका लागि बुकिङ गर्न केन्द्रीय आयोजना कार्यान्वयन एकाइले ‘धरहरा डट कम डट जिओभी डट एनपी’ नामक वेबसाइट सञ्चालन गरेको छ । इकाइका अनुसार वेबसाइटमार्फत पनि बुकिङ गर्न सकिनेछ ।
धरहराको इतिहास
विसं १८८२ मा महारानी ललित त्रिपुरासुन्दरीको आदेशमा जनरल भीमसेन थापाद्वारा ६१ दशमलव ८८ मिटर अग्लो ११ तल्ले धरहरा निर्माण गरिएको थियो । विसं १९१३ मा धरहरा चट्याङ्ग परी भत्कियो । विसं १९२३ मा धरहराको जिर्णोद्वार गरिएको थियो । विसं १९९० माघ २ मा महाभूकम्पमा परी धरहरा पुनःभत्किएको थियो । विसं १९९२ मा तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेर राणाद्वारा पुनःनिर्माण गरिएपछि धरहरा ११ तल्लाबाट नौ तल्लामा सीमित भएको थियो ।
फेरि विसं २०७२ वैशाख १२ को विनासकारी भूकम्पबाट धरहरा पूर्णरुपमा क्षतिग्रस्त भएको थियो । हाल पुनःनिर्माण गरी धरहरा सञ्चालनमा ल्याइएको हो ।













समाचार
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
लेखक तथा फोटोग्राफर भरतबन्धु थापाको फोटो पुस्तक ‘प्याराडाइज बागमती’ सार्वजनिक
प्रधानमन्त्री बालेनले लिए सुनसरी घटनाको विस्तृत ब्रिफिङ
मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन